• ३० वैशाख २०८२, मङ्गलबार

जन्मोत्सव मनाउने खर्चले अक्षयकोष स्थापना

blog

जन्मोत्सवको अवसरमा विद्यालयलाई अक्षयकोष स्थापना गर्न सहयोग गर्नेलाई सम्मान गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, साउन १० गते । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सिद्धबाबा माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१ नयाँबजार निवासी यस क्षेत्रकै वरिष्ठ समाजसेवी तुलाराम पाण्डेले आफ्नो ८५ औं जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । 

विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमबीच पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापालाई ५५ हजार ५५५ रुपियाँ प्रदान गर्नुभएको थियो । ज्येष्ठ नागरिकसमेत रहनुभएका वरिष्ठ समाजसेवी पाण्डेले विद्यालयप्रति आफ्नो अगाध लगाव र स्नेह रहेको भन्दै विद्यालयमा रहेका जेहेन्दार विद्यार्थीका लागि आफूहरुले स्थापना गरेको अक्षयकोषले पठनपाठनका लागि प्रोत्साहन गर्ने बताउनुभयो । 

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व जनप्रतिनिधिसमेत रहनुभएकी सीता आचार्यले पनि आफ्नो जन्मोत्सवको अवसरमा २५ हजार ५५५ रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । 

वडाध्यक्ष निरञ्जन काउछाले विद्यालयप्रति दुवै जना समाजसेवीले अक्षयकोष स्थापना गरी सामाजिक कार्यमा इँटा थप्नुभएको भन्दै प्रशंसा गर्नुभयो । फजुल खर्च गरेर जन्मदिन मनाउने पश्चिमा संस्कृति निम्तिरहेको अवस्थामा विद्यालयमा अक्षयकोषको स्थापना गरी सकारात्मक सन्देश  प्रवाह गरेको भन्दै उहाँहरुलाई शुभकामना दिनुभयो । 

विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले उहाँहरुले विद्यालयप्रति गरेको रचनात्मक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयले थप साथ र सहयोगको महसुस गरेको बताउनुभयो । विद्यार्थीको रोजाइको पहिलो विद्यालयका रुपमा आफूलाई उभ्याउन सफल यस विद्यालयमा १५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक श्रीसले जानकारी दिनुभयो । 

उहाँहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य यमबहादुर विश्वकर्मासहित शिक्षक, विद्यार्थी, अभिभावकले उहाँहरुलाई विद्यालयमा स्वागत अभिनन्दन गर्नुभयो । समाजसेवीहरुद्वारा यहाँ २५ हजारदेखि ५ लाखसम्मका ४९ भन्दा बढी अक्षयकोष स्थापना गरिएको छ ।