विष्णुप्रसाद देवकोटा
डोल्पा, साउन १० गते । पछिल्लो समय डोल्पामा सवारी दुर्घटना न्यूनीकरण हुँदै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयले विभिन्न समयमा सञ्चालन गर्दै आएको सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षणका साथै सवारी चेक जाँचलाई कडाइ गरेपछि सवारी दुर्घटनामा कमी आएको हो ।
जिल्लामा ०७५ माघ २८ मा जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी अस्थायी ट्राफिक कार्यालय स्थापना भएकोमा ०७८ साउन १ गतेबाट स्थायी ट्राफिक कार्यालय स्थापना भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय डोल्पाका अनुसार १० जनाको दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा हाल १ जना असई १ जना वरिष्ठ हवलदार १ जना सहायक हवलदारसहित ५ जना प्रहरी जवान गरेर ८ जना कार्यरत छन् ।
जिल्ला ट्राफिक कार्यालयका निमित्त इन्चार्ज वरिष्ठ प्रहरी हवलदार विमान तामाङ्गका अनुसार आर्थिक वर्ष ०७९/०८० मा सवारी कारवाहीबाट मात्र ११ लाख ३१ हजार ५०० रुपियाँ राजस्व उठेको छ । आर्थिक वर्ष ०७५।०७६ मा २ सय १९ वटा ०७६।०७७ मा ७ सय २४ वटा ०७७।७८ मा ९ सय ६९ वटा ०७८।०७९ १ हजार ४६९ वटा र आर्थिक वर्ष ०७९।०८० मा एक हजार तीन सय ८३ वटा सवारीलाई कारवाही गरिएको निमित्त इन्चार्ज वरिष्ठ हवलदार तामाङ्ले बताउनुभयो ।
यसैगरी, ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्म जिल्लामा ८ वटा सवारी दुर्घटना भएका छन् । विभिन्न समयमा भएका दुर्घटनामा परेर ८ पुरुष १ महिला र १ बालक गरेर १० जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा २८ पुरुष ५ महिला घाइते भएको ट्राफिक कार्यालयको रेकर्डमा उल्लेख छ । डोल्पा र रुकुम जिल्लाको सिमा क्षेत्र साङ्लेदेखि सदरमुकाम दुनैसम्मको आन्तरिक सडक खण्डमध्ये भेत्तीमा पर्ने बतासे डाँडा, जुफाल डाँगीवाडाको घुम्ती, साङ्लेभीर र सिउँडेनी घुम्तीमा बढी दुर्घटना हुने गरेको छ ।
पछिल्लो समय ट्राफिकले चेकजाँच र प्रशिक्षणलगायत जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेपछि सवारी दुर्घटनामा कमि आई आव ०७९ ।०८० एउटा दुर्घटना मात्र भएको ट्राफिकले जनाएको छ ।
अझै पनि सवारी दुर्घटनालाई न्यूनमा झार्न उच्च दुर्घटना स्थल मानिएका क्षेत्रमा सडक विभागले जोखिम सडक खण्ड पहिचान गरि सडक जोखिम सूचना टाँस गर्नुपर्ने ट्राफिक कार्यालयको भनाइ छ । ट्राफिक अभियान अन्तर्गत त्रिपुराकोट दुनै जुफाल र खदाङमा गरी ४ वटा स्थानमा ट्राफिक सङ्केत चिन्ह तथा सूचना पार्टी राखिएको समेत कार्यालयले जनाएको छ ।
सडक सवारी दुर्घटना न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रम स्कुल कार्यक्रम चालक सहचालक र पैदलयात्रीहरुलाई समेत ट्राफिक नियम सम्बन्धि प्रशिक्षण लगायतका ९२ ओटा विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको ट्राफिकले जनाएको छ ।
ट्राफिक स्थापना नहुँसम्म गाडीभाडामा यात्रु र सवारी चालकबीच किचलो हुने गरेकोमा ट्राफिकले जीप भाडादर कायम गरेपछि भाडाकै लागि हुने गरेको झगडा अन्त्य भएको छ। नेपाली सेनाले ०७५ मङ्सिर ४ मा जाजरकोट डोल्पा सडकलाई निर्माणकार्य सम्पन्न गरेर ०७६ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । नेपाली सेनाले सडक हस्तान्तरण गरेसँगै जीप सञ्चालनमा आएका थिए ।