• १ जेठ २०८२, बिहिबार

रिङरोडको बजेट वर्षेनी फ्रिज

blog

रिङ रोडमा काम गर्दै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, साउन १० गते ।
सदरमुकाम सिमकोटको रिङरोड निर्माणका लागि विनियोजित बजेट वर्षेनी फ्रिज जाने गरेको पाइएको छ । सिमकोट गाउँपालिका– ५ का स्थानीय जग्गा धनी उपभोक्ताहरुले समयमै काम सुरु नगर्नु र असार अन्तिममा काम गर्ने प्रवृत्तिका कारण सो बजेट फ्रिर्ता जाने गरेको हो ।

सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया भामले लगातार तीन वर्षसम्म सिमकोट रिङरोडको बजेट फ्रिज भइरहेको बताउनुभयो ।

आर्थिक वर्ष ०७९।८० का लागि सो योजनाका लागि ५० लाख बजेट विनियोजित भएकोमा सात लाख बजेट फिर्ता भएको छ । गतवर्ष ५० लाखमा २३ लाख बजेट फिर्ता गएको थियो । त्योभन्दा अघिल्लो वर्ष २५ लाख बजेट फिर्ता गएको थियो ।

यसैगरी, २०७३ सालबाट तत्कालीन जिल्ला विकास समितिको आन्तरिक स्रोत र संविधान सभा सदस्य जीवनबहादुर शाहीको संसद विकास कोषको बजेटबाट यो काम सुरु भएको थियो । उहाँले साउनमै आएको बजेट स्थानीय जग्गा धनी उपभोक्ताहरुले समयमै काम सुरु नगर्नु र जेठ असार महिना लागेपछि मात्रै काम गर्ने प्रवृत्तिका कारण वर्षेनी आएको बजेट फ्रिज जाने गरेको बताउनुभयो ।

यसले गर्दा रिङरोडको काम बाँकी रहने र आएको बजेट फ्रिज जाने गरेको छ । उहाँले रिङ रोडको काम अगाडि बढाउनका लागि भदौबाटै उपभोक्ता गठन गरेर काम सुरु गर्न निक्कै सहजीकरण गर्दा नमानेको कारण बजेट फ्रिज गएको बताउनुभयो ।

सुरुमा उपभोक्ता समिति गठनमै विवाद हुने गरेको छ भने समिति गठन भई सकेपछि काममा ढिलाइ गरेको कारण पनि बजेट फिर्ता जाने गरेको हो । रिङरोडको काम हालसम्म मानसरोवर नमुना माध्यमिक विद्यालयदेखि भदालेसम्म निर्माण कार्य भएको छ । भदालेमा पनि काम अधुरै छ भने बजेट फिर्ता गएको हो ।