• ११ मंसिर २०८१, मङ्गलबार

चोभार सुक्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रलाई दिने तयारी

blog

काठमाडौँ, साउन १० गते ।  सरकारले चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट) प्रभावकारी रूपमा चलाउन नसकेपछि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको छ । 

नेपाल इन्टरमोडल यातायात विकास समितिले टेन्डर आह्वान गरेर पाँच वर्षका लागि बन्दरगाह सञ्चालनमा दिइने जानकारी दिएको हो । समितिले एक सूचना प्रकाशित गर्दै समितिले बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइन लागेको बताएको छ । पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरि टेन्डर आह्वान गरेको हो । 

हालसम्म समिति आफैँले नियमन र व्यवस्थापनको काम गर्दै आएको थियो । अन्य स्थानका बन्दरगाह निजी क्षेत्रले सञ्चालन गरिरहेका छन् । समितिका अनुसार आगामी ४५ दिनभित्र इच्छुक कम्पनीले बोलपत्रका लागि आवेदन दिन सक्ने छन् । भदौ २२ गतेसम्म बोलपत्र भर्न सकिने छ । 

आवेदन दिने कम्पनीका लागि बन्दरगाह व्यवस्थापन तथा टर्मिनल व्यवस्थापन, वेयर हाउस, यातायात, क्लियरिङ एन्ड फरवार्डिङलगायतका काममा कम्तीमा पाँच वर्षदेखि संलग्न भएको र विगत तीन वर्षको औसत कारोबार कम्तीमा ६० लाख भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । 

२२० रोपनीमा फैलिएको चोभार बन्दरगाह विश्व बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको थियो । बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन ।