• ९ साउन २०८१, बुधबार

विदेशको कमाइ व्यावसायिक बाख्रापालनमा

blog

लीलाधर वली 

घोराही, साउन १० गते ।  वैदेशिक रोजगारीका क्रममा लामो समय खाडी मुलकमा बसेका मामाभान्जा मिलेर दाङमा व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । साउदी अरबमा २५ वर्ष बसेका मामा मनबहादुर बुढा र भान्जा जनक बुढाले विदेशमा भन्दा स्वदेशमै केही उद्देश्यले दुई वर्षअघि १४ लाख रुपियाँ खर्च गरेर व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् । 

सुरुमा सामान्य खोर निर्माण गरेर आठ वटा बोयर जातका बाख्रा किनेर सुरु गरेको व्यवसायमा दुई वर्षको अवधिमा ४५ लाख लगानी पुगेको छ । अहिले व्यवस्थित खोर निर्माणसँगै उन्नत जातका बाख्रा थप गरेपछि आठ वटा बाख्राबाट सुरु भएको फार्ममा अहिले ६० भन्दा बढी बोयर र स्थानीय जातका खसी तथा बाख्रा रहेका सञ्चालक जनक बुढा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशमा बसिरहनुभन्दा स्वदेशमै केही गरौँ भन्ने मामाभान्जाको सल्लाहमा संयुक्त रूपमा बाख्रापालन सुरु गरेका हौँ, अहिले राम्रै भइरहेको छ ।”

घोराही उपमहानगरपालिका–१२, हापुर रमनामा करिब डेढ बिघा जमिन भाडामा लिएर बुद्ध बाख्रापालन फार्म सञ्चालन गर्दै आएका बुढा सबैभन्दा समस्या घाँसको भएको बताउनुहुन्छ । उहाँले बाख्रालाई खुवाउनका लागि हरियो घाँस भए पनि सुक्खा साइलेस गरेको घाँस नहुँदा ठुलो सङ्ख्यामा बाख्रापालन गर्न समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अझैसम्म हामीसँग थोरै बाख्रा भएकाले खासै समस्या भएको छैन तर यसलाई बढाउँदै जाँदा घाँसको समस्या हुने देखिन्छ । हरियो घाँस खुवाएर मात्रै हुँदैन, घाँसलाई साइलेस गर्ने मेसिन जिल्लामा छैन ।” 

रोल्पा परिवर्तन गाउँपालिका–१, कुरेली निवासी बुढा (हाल घोराही उपमहानगरपालिका–१५, भरतपुर) बाख्रापालन पुख्र्याैली पेसा भएकाले पनि सहज भएको बताउनुहुन्छ । फार्ममा करिब दुई सयदेखि अढाई सयसम्म बाख्रा पु-याउने उद्देश्य रहेको बताउनुभयो । सञ्चालक बुढाले भन्नुभयो, “व्यावसायिक बाख्रापालनका माध्यमबाट मासुका लागि सँगै पाठपाठी पनि बेच्नु उद्देश्य रहेको छ । त्यही अनुसार अहिले ८० वटा पुगे पनि २० वटा खसी तथा पाठापाठी बिक्री गरेका छौँ । बिस्तारै बाख्रालाई बढाउँदै दुई सयभन्दा बढी पु-याउने सोचमा छौँ ।” 

बाख्रापालनका लागि करिब १५ कट्ठा जग्गामा नेपिएर, किमु, बर्सिम, मकैलगायतका घाँस खेती गर्दै आएको उहाँ बताउनुहुन्छ ।

बोयर जातसँगै स्थानीय जातका बाख्रा पाल्दै आएका बुढाले भन्नुभयो, “मेहनत गर्नेका लागि बाख्रापालन राम्रो व्यवसाय हो, यहाँ घाँसको समस्या देखिन्छ तर व्यावसायिक रूपमा पालन गर्ने किसानले घाँस खेतीमा पनि ध्यान दिनु पर्छ ।” उहाँ जिल्लामा बाख्राका लागि उन्नत तथा पौष्टिक दाना पाउनसमेत समस्या रहेको बताउनुहुन्छ । 

उहाँका अनुसार तत्काल नाफा खोज्नेका लागि बाख्रापालन उपयुक्त पेसा नभए पनि दीर्घकालीन रूपमा व्यवसाय गर्नेका लागि बाख्रापालन राम्रो व्यवसाय भएको तर जिल्लामा राज्यले दिने अनुदान वास्तविक किसानले पाउन सकेका छैनन् । उहाँले भन्नुभयो, “राज्यको अनुदान पाउन किसानलाई समस्या छ । बरु यहाँ झोलामा फाराम बोकेर सरकारी कार्यालय धाउनेले अनुदान प्राप्त गर्छन् तर किसानले पाउन सक्दैनन् ।” 

अहिलेसम्म धेरै खसीबाख्रा नभएकाले पनि होला बिक्रीका लागि कुनै पनि समस्या नभएको बुढा बताउनुहुन्छ । उत्पादन भएका बोयरका पाठापाठीको माग आइरहेको हुन्छ, ठुला बोका पनि बिक्री भइरहेका छन्, अहिलेसम्म हामीलाई बिक्रीका लागि समस्या भएको छैन ।”