• १० मंसिर २०८१, सोमबार

नयाँ अनलाइनका प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता

blog

प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षा ।

काठमाडौँ, साउन ९ गते । नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरूले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिबद्धता जनाएका छन् ।

प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरूले मङ्गलवार त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमित अभिमुखीकरण सञ्चालन गरी अनुगमन समेत गर्दै आएको छ । त्यसक्रममा मङ्गलवार विषयगत विज्ञद्वारा देशका विभिन्न भागबाट सञ्चालनमा आउन लागेका सञ्चार माध्यमलाई आचारसंहिताका विभिन्न पक्ष र पछिल्ला समस्याहरूबारे प्रष्ट पारिएको थियो । 

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले डिजिटल पत्रकारितालाई विश्वसनीय र प्रभावकारी बनाउन मिडिया साक्षरताको खाँचो पर्ने भएकाले यस्ता कार्यक्रमलाई बढुवा दिनुपर्ने धारणा राख्नुभयो ।

‘‘पत्रकारिताप्रति समाजले निकै ठुलो अपेक्षा राखेको हुन्छ । गलत कामलाई गलत र सहीलाई सहीरुपमा बाहिर ल्याउनुपर्छ । बस्नेतले भन्नुभयो, ‘‘डिजिटल पत्रकारितालाई तथ्यपूर्ण र विश्वसनीय बनाउन सकेन भने ठुलो समस्या निम्त्याउनेछ ।’’

अध्यक्ष बस्नेतले छापा माध्यममा अहिले देखिएको सङ्कट र डिजिटल बहावको पानीढलोमा अब सञ्चारकर्मीले आफ्नो पेसागत शुद्धताका लागि विशेष ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । 

‘‘प्रेस काउन्सिलले गर्ने अनुगमन, दिने सुझाव त छँदैछ, तर सञ्चार माध्यम स्वयम्ले स्वअनुगमन र आत्मसमीक्षा गरेर अघि नबढ्ने हो भने समाजले राखेको अपेक्षा पूरा हुन सक्दैन । त्यसको सबैभन्दा ठुलो घाटा सञ्चार जगत्लाई नै हुन्छ,’; उहाँले भन्नुभयो ।

कार्यक्रमका विज्ञका रूपमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल र डा.महेन्द्र विष्टले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरूमा केन्द्रित रहेर छलफल चलाउनुभएको थियो । 

त्यस्तै, महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विभिन्न सङ्कट, अवसर र अबको दायित्वबारे सुझावहरू राख्नभुएको थियो । अध्यक्ष पोख्रेलले सञ्चार क्षेत्र श्रम शोषणमुक्त क्षेत्रका रूपमा स्थापित हुनुपर्ने र त्यसका लागि व्यवस्थापकहरू तयार हुनुपर्ने सुझाव राख्नुभयो । 

‘‘पत्रकारले स्वतन्त्र र निष्पक्ष साथै निर्बाध ढङ्गले समाचार सम्प्रेषण गर्न पाउनुपर्छ । सेवा, सुविधाका कुनै अल्झन हुनुहुँदैन । व्यवस्थापकले यी पक्ष बुझ्नैपर्छ । न्यायमैत्री ढङ्गले काम गर्ने हो भने व्यवस्थापकका अहिले देखिएका समस्यासमेत कम हुँदै जान्छन्,’’ अध्यक्ष पोख्रेलले भन्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष दाहालले डिजिटल पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन काउन्सिलले देखाएको सक्रियताले आशा थपेको बताउनुभयो । उहाँले पत्रकार आचारसंहिता पत्रकारकै भलाइको लागि निर्माण भएकाले काउन्सिलले हेर्ने मिडियाका सामग्रीको कन्टेन्ट पत्रकारकै हितमा हुने गरेको स्पष्ट पार्नुभयो । 

अर्का पूर्वअध्यक्ष डा.विष्टले सम्पादकले सम्पादन गरेका समाचार बन्न योग्यसामग्री मात्रै समाचार हुने अन्यथा सूचना मात्रै हुने गरेको बताउनुभयो । उहाँले बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७६, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकामा उल्लेखित गर्न नहुने विषयबारे प्रशिक्षित गराउनुभयो ।