जयमान बुढामगर
रुकुमपूर्व, साउन ९ गते । रुकुम पूर्वमा सोमबार जिल्ला स्तरीय अनुगमन टोलीले गरेको अनुगमनमा निजी मेडिकलहरू मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको छ । जिल्ला स्तरीय अनुगमन टोलीले निजी मेडिकलहरूमा गैरजिम्मेवार र मापदण्ड विपरीतको सेवा प्रभाव गर्ने गरेको भेटिएको हो ।
त्यस्ता मेडिकललाई हरेक पटकको अनुगमनमा सचेत गराए पनि कारबाही हुन नसक्दा सुधार हुन सकेको छैनन् । जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटस्थित विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलहरूको अनुगमन गर्दा मापदण्ड विपरीतका मेडिकल सञ्चालनमा रहेको पाइएको रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्रराज कोइरालाले बताउनुभयो ।
मेडिकल अनुगमन गर्ने क्रममा चार वटा मेडिकल, एउटा डेन्टल क्लिनिक र दुई वटा एग्रोभेटको अनुगमन गरिएको थियो । मेडिकलहरूमा मापदण्ड पुर्याइ सञ्चालन भइरहेको अवस्थाका भेटिएको मेसु कोइरालाले जानकारी दिनुभयो ।
ल्याब कक्ष व्यवस्थित नभएको, सरसफाइको अभाव, अनुमति नलिएर आयुर्वेदिक तथा फुड सप्लिमेट्री सामानहरू बेच्ने गरेको, फार्मेसीतर्फ दक्ष जनशक्ति नराखिएको पाइएको छ। यस्तै तापक्रम अनुपात नमिलाई खोप राखेको, मेडिकल नवीकरण नगरिएको, कस्मेटिक सामग्री विक्री, अव्यवस्थित रूपमा एक्स-रे सेवा सञ्चालनमा रहेको समेत पाइएको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने गाउँपालिका–५ चोकबजारमा मेडिकलको साइनबोर्ड पनि नराखिएको, टिनको छाप्रोमा मेडिकल सञ्चालन गर्दै आएको पाइएको छ ।
बिरामी राख्ने, चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने गाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ । अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकललाई सल्लाह सुझाव दिइएको छ। सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ ।
सिस्ने गाउँपालिका–६ छिप्रिदहमा रहेको प्रकाश मेडिकल, छिप्रीदहमै रहेको मनज्ञा सिटी हस्पिटल, डिग्रे साईँकुमारी मेडिको फर्मामा र सिस्ने गाउँपालिका–५ चोकबजारमा रहेको दुई नाम नराखिएको मेडिकल लगायत कृषि एग्रोभेट पनि अनुगमन गरिएको थियो ।