होमराज रानाभाट
गैंडाकोट (नवलपरासी), साउन ९ गते । एक हप्तादेखि सञ्चालनमा आएको कालीगण्डकी कोरिडोरको पूर्वी नवलपरासी खण्ड सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।
जिल्लाको गैँडाकोटबाट पहाडी बुलिगंटार र बौदकिाली गाउँपालिका हुँदै पाल्पा रामपुर राम्दी, स्याङ्जा चल्ने कालीगण्डकी कोरिडोर र दलदले द्यौवादी सडक आज (मङ्गलबार) बिहानदेखि अवरुद्ध भएको गैँडाकोटका जनक श्रेष्ठले बताउनुभयो ।
आज बिहानदेखि पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुनु पुगेपछि यात्रुहरूलाई सास्ती हुनुको साथै त्यस क्षेत्रमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको ढुवानी समेत बन्द भएको बुलिगंटारका–१ का गोपाल दर्लामी मगरले बताउनुभयो ।
गैँडाकोट हुँदै बुलिगंटारको कोटथर, डाडाँझेरी, बुलिगंटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचागं, नरम, जौबारी, द्यौवादी हुँदै पाल्पा, राम्दीसम्म चल्ने दुई वटा सडक पहिरोले अवरुद्ध बनेपछि बाटो सुचारु हुनु समय लाग्ने बुलिगटार गाउँपालिकाका राम्जी श्रेष्ठले बताउनुभयो ।
दलदले द्यौवादी सडक खण्डको कुमसोत पाङ्ग्रे खण्डमा गए रातिदेखि दर्जनौँ ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको पानी निरन्तर परिहेकाले बाटो मर्मतका लागि समय लाग्ने र पानी रोकिएपछि काम थाल्न सकिने देबचुली मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद मरासिनीले बताउनुभयो । वर्षा याममा पहाडी क्षेत्रका जनताले सधैँ दुःख खेप्नु परिरहेको दलदलेका धर्म बस्यालको गुनासो छ ।
उता गैँडाकोट कालीगण्डकी मोटरबाटोमा चार स्थानमा पहिरो गएको र तरङ्ग खोलामा पुल बन्न नसक्दा खोला तर्न नै नसकिने भएकाले यातायात बिहानदेखि बन्द भएको । पहाडी क्षेत्रलाई जोडने दुवै सडक अवरुद्ध भएपछि त्यस भेगमा खाद्यान्न, औषधिको अभाव हुन सक्ने बौदकिली गाउँपालिकाका समाजसेवी दुर्गा रानामगरले बताउनुभयो ।
दैनिक दुई सय बढीको सङ्ख्यामा सवारी साधन गुड्ने ती दुवै सडक बन्द हुँदा पहाडी क्षेत्रका जनताले कति दिनसम्म सास्ती ब्यहोर्नुपर्ने हो केही भन्न नसकिने बुलिगंटारका प्रेमबहादुर मगरले बताउनुभयो ।