• १३ मंसिर २०८१, बिहिबार

सामुदायिक वन उपभोक्ता समितिलाई उत्कृष्ट पुरस्कार

blog

डिभिजन वन कार्यालयबाट पुरस्कार प्राप्त सामुदायिक वनका पदाधिकारी सहित सहभागीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरूलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो । 

सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरूमा आधार मानेर तीन सय १४ सामुदायिक वन उपभोक्ता समितिमध्ये मूल्याङ्कनका आधारमा तीन वटा उपभोक्ता समितिलाई उत्कृष्ट  सामुदायिक वनका रूपमा पुरस्कृत गरिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । 

श्रीकृष्ण तालबन्दी सामुदायिक वन उपभोक्ता समिति रघुगङ्गा गाउँपालिका-८ लाई प्रथम, औल सामुदायिक वन उपभोक्ता समिति अन्नपूर्ण ७ लाई द्वितीय र छेरपातल सामुदायिक वन उपभोक्ता समिति धवलागिरि गाउँपालिका-३ लाई तृतीय पुरस्कारबाट सम्मान गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दशहजार, सात हजार र पाँच हजार नगद सहित प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । साथै पत्रकारिताको माध्यमबाट वन तथा वातावरण संरक्षणमा योगदान पुर्‍याएको भन्दै पत्रकार घनश्याम खड्का र वन कार्यालयका कर्मचारी दीपक शेरचनलाई प्रशंसापत्र सहित दोसल्लाले सम्मान गरिएको छ । 

कार्यक्रममा जिसस प्रमुख थापा र प्रजिअ पौडेलले वन संरक्षण अभियानमा उपभोक्ता समितिहरूको महत्त्वपूर्ण योगदान रहने बताउनुभयो । उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई पुरस्कारले सम्मान गर्ने कार्यले उपभोक्ता समितिलाई वन संरक्षण कार्यमा थप हौसला मिल्ने बताउनुभयो ।