• १४ मंसिर २०८१, शुक्रबार

हटाइयो सबै प्रधानाध्यापक

blog

राजकुमार भट्टराई

खोटाङ, साउन ९ गते ।  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हटाएको छ। नगर कार्यपालिकाको बैठकले सबै तहका विद्यालयका प्रधानाध्यापकलाई हटाएर विज्ञापन गरी प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको हो।    

सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यपालिकाले गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो। कार्यपालिकाको निर्णय अनुसार हाल कार्यरत रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको आइतबारबाट म्याद समाप्त भएको छ। विज्ञापन गरेर पुनः प्रधानाध्यापक नियुक्त नभएसम्म हालका प्रधानाध्यापकलाई निमित्त दिएर कामकाज गर्ने निर्णयमा उल्लेख गरिएको छ। 

कतिपय ठाउँमा प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद आइरहँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शिक्षा ऐन अनुसार कार्यविधि निर्माण गरेर खुला प्रतिस्पर्धा अनुसार प्रधानाध्यापक नियुक्त गर्न लागेको हो। नगर प्रमुख तीर्थराज भट्टराईले प्रधानाध्यापक नियुक्तिसम्बन्धी नगरपालिकाले कार्यविधि निर्माण गरेको बताउनुभयो। सोही कार्यविधि अनुसार विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “आइतबार बसेको कार्यपालिकाको निर्णय अनुसार हालका प्रधानाध्यापक हटिसक्नु भएको छ। अब सोही अनुसार उहाँहरूलाई नगरपालिकाले पत्र पठाउने छ। त्यसपछि उहाँहरूले निमित्त भएर कामकाज गर्नुहुने छ। सङ्घीय शिक्षा ऐन, हाम्रो नगरपालिकाको शिक्षा ऐनले नै पाँच/पाँच वर्षमा परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने उल्लेख गरेको छ। हामीले यससम्बन्धी कार्यपालिकाको बैठकले कार्यविधि नै पास गरिसकेका छौँ।” 

साउन १५ गतेसम्मका लागि सबै विद्यालय बन्द छन्। विद्यालय सञ्चालन भएपश्चात् नगरपालिकाले प्रधानाध्यापक हुन इच्छुकका लागि विज्ञापन गर्ने छ। विज्ञापन अनुसार योग्यता पुगेका शिक्षकलाई खुला प्रतिस्पर्धाबाट कार्यविधि र दुवै शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्त गरिने नगर प्रमुख भट्टराईले बताउनुभयो। 

प्रतिस्पर्धाबाट भक्तपुरको सुर्यविनायक नगरपालिकाले प्रधानाध्यापक नियुक्त गरेको छ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि सूचना निकालेको छ। हालसम्म कोशी प्रदेशका कुनै पनि स्थानीय तहले यसरी शिक्षा ऐनलाई टेकेर कार्यविधि निर्माण गरेर प्रधानाध्यापक नियुक्ति गरेका छैनन्। 

सामाजिक विकास शाखा प्रमुख दानबहादुर राईले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शिक्षा ऐनमा टेकेर अगाडि बढेको बताउनुभयो। प्रमुख राईले भन्नुभयो, “अहिलेसम्म शिक्षामा गुणस्तर ल्याउने भन्ने गफ मात्र भयो सबैको, काम कोहीबाट पनि भएन। विभिन्न ऐन नियम बन्छन् तर कार्यान्वयनमा आउँदैनन्। त्यसैले बनेको ऐनलाई टेकेर योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापक बनाउँदा शिक्षामा गुणस्तर आउने विश्वासले हामीले यो प्रव्रिmया अगाडि बढाएका हौँ।” 

नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य शिवहरि ढकालले दिक्तेल रूपाकोट मझुवागढीले योग्यता पुगेका शिक्षकलाई कार्यविधि निर्माण गरेर प्रधानाध्यापक बनाउन लागेको विषय सकारात्मक रहेको बताउनुभयो।