काठमाडौं, साउन ८ गते । नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २०औँ विश्व एक्वाटिक (पौडी) च्याम्पियनसिपमा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
सोमबार भएको २०० मिटर फ्रिस्टायलमा नासिरले एक मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । यसअघि नासिरको नाममा एक मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।
नासिरले उक्त कीर्तिमान ११औँ एनएसए कप च्याम्पियनसिपमा बनाउनुभएको थियो । नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि चार मिनेट ८.२३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो ।
यसैगरी च्याम्पियनसिपमा सोमबार महिलातर्फ गौरीका सिंहले पनि राष्ट्रिय कीर्तिमान बनाउनुभयो । दक्षिण एसियाली खेलकुद (साग) की चार स्वर्ण विजेता गौरीकाले १०० मिटर ब्याक स्ट्रोकमा एक मिनट ६.८० सेकेन्डमा दूरी पार गर्नुभयो ।
यसअघि उहाँले भारतका भएको १२औँ सागमा एक मिनेट ७.३१ सेकेन्डको कीर्तिमान बनाउनुभएको थियो । मङ्गलबार डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने नेपाल पौडी सङ्घले जनाएको छ ।