• १३ जेठ २०८१, आइतबार

बजार गएकी महिला मृत फेला

blog

राजकुमार भट्टराई

खोटाङ, साउन ७ गते । खोटाङको ऐसेलुखर्क गाउँपालिका –३ स्थित ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला पर्नुभएको छ । साप्ताहिक हाट भर्न घरबाट हिडेकि महिला ऐसेलुखर्क गाउँपालिका –४ जलेश्वरीकि करिब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा फेला पर्नुभएको हो ।   

बजारबाट अपराह्न ५ बजेसम्म घर नफर्किएपछि परिवार र आफन्तले उहाँको खोजी गरेका थिए । बाटोमा खोजतलासी गर्दैजाँदा उहाँ मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय ऐसेलुखर्कलाई जानकारी गराएपछि गएर हेर्दा डुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । 

बाटोभन्दा करिब ५ सय मिटर तल कटुञ्जे खोलाभित्र डुङ्गामा अड्किएको अवस्थामा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृत अवस्थामा भेटिनुभएकी तामाङ बाटोमा हिँड्दै गर्दा चिप्लिएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक तामाङको आजै पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी बेनुकुमार कार्कीले बताउनुभयो ।