• ६ जेठ २०८१, आइतबार

प्रादेशिक अस्पताललाई पीसीआर ल्याब हस्तान्तरण

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, साउन ७ गते । देश कोरोना कहरमा भएको बेला नागरिकस्तरबाट सङ्कलित रकमबाट स्थापना गरिएको झापाको कनकाई-४ कोटीहोममा रहेको पीसीआर ल्याबका  सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।

झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्षअघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एकका लागि एक अभियान’को पहलमा पीसीआर ल्याब सञ्चालनमा आएको थियो ।

हाल कोरोना सङ्क्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित पीसीआर ल्याब प्रयोगविहीन हुन थालेपछि त्यहाँ रहेका बहुमूल्य सामग्री प्रादेशिक अस्पतालमा हस्तान्तरण गरिएको ‘एकका लागि एक अभियान’ का संयोजक महेन्द्रकुमार गिरीले बताउनुभयो । ‘एकका लागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालकाबीच भएको सहमति बमोजिम प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रूपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याएको थियो ।

हाल सङ्क्रमण नियन्त्रण भइसकेको अवस्थामा उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउनसक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित बहुमूल्य उपकरण अस्पताललाई नै हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताउनुभयो ।  

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा अभियानका संयोजक गिरी र प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झा सहितको हस्ताक्षरमा ल्याबका विभिन्न जिन्सी सामाग्रीको विवरण( लिस्ट) सहित अस्पताललाई हस्तान्तरण गरिएको हो । ल्याब सञ्चालनको लागि कर्मचारीको व्यवस्थापन भने कनकाई नगरपालिकाले गरेको थियो । सङ्क्रमणकालीन अवस्थामा कोटीहोमबाट पीसीआर ल्याब सञ्चालनमा आएसँगै तीन वर्षको अवधिमा ९ हजार ३ सय ४१ जनाको निःशुल्क नमुना परीक्षण भएको कनकाई नगरपालिकाले जनाएको छ । 

त्यस्तै, ३९ हजार ५ सय २५ जनाको सशुल्क गरी यस ३ वर्षको अवधिमा यस ल्याबबाट मात्रै ४८ हजार ८ सय ६६ नमुना परीक्षण भएको ल्याबका व्यवस्थापन तर्फका स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराईले बताउनुभयो । कोटीहोमस्थित पीसीआर ल्याबमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ साथै मोरङको केही भागबाट समेत सङ्कलित नमुना परीक्षण भएको भट्टराईले बताउनुभयो ।