• ५ जेठ २०८१, शनिबार

पुल जोगाउन तटबन्धमा स्थानीयको श्रमदान (फोटो फिचर)

blog

श्रम गरेर जैविक तटबन्ध बनाइँदै ।

अविनाश चौधरी

धनगढी, साउन ७ गते । कैलालीको भजनी नगरपालिकामा स्थानीय श्रमदानमा तटबन्ध निर्माण गरिदैछ । जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त सहभागितामा श्रम गर्ने काम भइरहेको हो । 

धरानमा मेयर हर्क साङपाङको नेतृत्वमा श्रम गरेर पानी ल्याएजस्तै यहाँका जनप्रतिनिधि र स्थानीय श्रम गरेर नदी कटान नियन्त्रण गर्ने कार्यमा जुटेका छन् । भजनी नगरपालिका –४ र ९ जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेपछि श्रम गरेर कान्द्रा नदीमा जैविक तटबन्ध निर्माण गर्न थालिएको छ । 

तटबन्ध निर्माण कार्यमा मेयर केवल चौधरी, वडा अध्यक्षहरूसहित दुवै वडास्थित अम्मारी, गञ्जहुवा, खैलाड गाउँका स्थानीय स्वतःस्फूर्त रूपमा तटबन्ध निर्माण कार्यमा जुटेका छन् । नदीले जमिन कटान गर्न थालेपछि पुल जोगाउन जैविक तटबन्ध बनाउने कार्य भइरहेको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा ३ का वडा अध्यक्ष विक्रम चौधरीले बताउनुभयो । 

“तटबन्ध बनाइएन भने पुल जोगिदैंन” उहाँले भन्नुभयो, “कटान नियन्त्रण गर्नका लागि हामी सबैको सहभागितामा जैविक तटबन्ध निर्माणको काम भइरहेको छ ।” उहाँले करिब ४०० मिटर लामो जैविक तटबन्ध बनाउन एक हप्तासम्म समय लाग्ने बताउनुभयो । प्रवक्ता चौधरीका अनुसार निःशुल्क रूपमा तटबन्ध निर्माणको काम भइरहेको छ । जैविक तटबन्धमा खामा, स्याउला, बोरामा बालुवा भरेर राखिनेगरेको छ ।  

कान्द्रा नदीमा सङ्घीय सरकारको लगानीमा गत वर्षमात्रै झोलुङ्गे पुल बनाइएको थियो । करिब दुई सय मिटर लामो सो झोलुङ्गे पुललाई एकतिरबाट नदीले कटान गर्ने जोखिम बढेको छ । नदीले त्यहाँ दक्षिणतर्फ जमिन कटान गरिरहेको छ । 

जनप्रतिनिधि समेतको सहभागितामा जैविक तटबन्ध निर्माणको काम अघि बढाएपछि स्थानीयमा पनि उत्साह बढेको छ । यस प्रकारको श्रम संस्कृतिको विकासमा सबै जना जुट्न आवश्यक रहेको भजनी नगरपालिका –४ खैलाडका लक्ष्मीप्रसाद जोशीको भनाइ छ । उहाँले यस्तो कामको सुरुवात पहिल्यै हुनुपर्ने तर ढिलै भए पनि श्रम संस्कृतिको विकास गर्न थालिएकोमा खुसी व्यक्त गर्नुभयो । 

यहाँको थारु समुदायमा श्रम संस्कृतिको अभ्यास पहिल्यैदेखि हुँदैआएको छ । भलमन्साको निर्देशनमा उनीहरू विभिन्न किसिमको सार्वजनिक कार्य गर्दैआएका छन् । जनप्रतिनिधिहरू समेतको सहभागितामा श्रमको थालनी भजनजीमा भर्खर मात्रै सुरु गरिएको उहाँहरूको भनाइ छ ।