• १२ मंसिर २०८१, बुधबार

छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन ७ गते । गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ । घोषणा सभाको आयोजना गरी गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नुभएको हो । 

गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको प्रमाण पत्र हस्तान्तरण गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले पूर्वाधार विकासलाई मात्र विकास ठान्ने प्रवृत्तिबाट माथी उठ्दै सामाजिक विकासमा  जोड दिनुपर्ने बताउनुभयो । 

सामाजिक क्षेत्रको विकास हुनु नै वास्तविक विकास हुनु भन्दै उहाँले राज्यले लगानी गरेको हरेक क्षेत्रमा परिणाम आउनुपर्ने बताउनुभयो । स्वास्थ्यको क्षेत्र वृहत् भएको भन्दै आगमाी दिनमा पनि पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका कायम राख्न सबै लाग्नुपर्ने बताउनुभयो । स्थानीय तहमा भएका राम्रा कामको प्रचारप्रसारमा लाग्न सुझाव दिनुहुँदै उहाँले नागरिकलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त कार्यक्रमलाई निरन्तर राख्न सबै एकजुट भएर लाग्ने बताउनुभयो । गाउँपालिका नागरिकको स्वास्थ्यप्रति निकै गम्भीर भएको भन्दै मानवीय र सामाजिक विकासमा आफूहरु लागिपरेको उल्लेख गर्नुभयो । 

स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले पोषणसम्बन्धी सूचाङ्क पूरा भए कि भएनन् भनेर आफूहरुले अनुगमन गरेको बताउँदै निश्चित समय राखेर पोषणमैत्री पालिका बनाउन लाग्नुपर्ने बताउनुभयो । छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने नेपालमै तेस्रो पालिका बनेको भन्दै यस जिल्लाकै गुल्मीदरबार गाउँपालिका पहिलो र धुर्कोट गाउँपालिका दोस्राे बनेको बताउनुभयो । यहाँको कुनै पनि ठाउँबाट ल्याक्टोजिन बेचबिखन गर्न नपाइनेसमेत उहाँले बताउनुभयो । 

स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिको खटाइको कारणले गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न सकिएको उहाँले बताउनुभयो ।