• ५ माघ २०८१, शनिबार

‘असाधारण’ कविता सङ्ग्रह लोकार्पण, २५ जना सम्मानित

blog

काठमाडौँ, साउन ७ गते । सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विषेश योगदान पु-याउनुभएका तथा  सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएका २३ जना व्यक्तित्व र दुई संस्थालाई सम्मान गरेको छ । राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा ‘अक्षलोक साहित्यिक पत्रिका’ को ६५ औ अङ्क तथा डा.सावित्री श्रेष्ठ ‘शिसा’र स्वर्णिमा श्रेष्ठको संयुक्त कविता सङ्ग्रह ‘असाधारण’ को विमोचन पनि गरिएको थियो । वरिष्ठ साहित्यकार मोतीलक्ष्मी शाक्यको प्रमुख आतिथ्य र सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र काठमाडौँ महानगरपालिकाको उपमेयर सुनीता डङ्गोल विशिष्ठ अतिथिको रूपमा उपस्थित रहनुभएको थियो ।

सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रले नगद रू. १०,००० सहितको “सिद्धिश्वोरमान सूर्य तुलसी आजीवन साहित्य साधना पुरस्कार” बाल साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरेको छ । त्यसै गरि, नगद रू. १०,००० सहितको “सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार” प्रा.डा.शिवराज अधिकारीलाई प्रदान गरेको छ । नगद रू. १०,००० सहितको “सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार” अमेरिकामा रहि नेपाली समाज र साहित्य सेवाको कदर गर्दै सरला श्रेष्ठलाई प्रदान गरिएको छ । साथै युवा उद्यमी सैलाजा कसजुलाई नगद रू. ११,१११ सहितको “सिद्धिश्वरमान विष्णु कुमार अग्रवाल उत्कृष्ट सानाउद्यमी पुरस्कार”केन्द्रद्वारा प्रदान गरिएको छ । 

यसको साथै केन्द्रले नेपालभाषा साहित्यको आधार स्तम्भमूथा सम्मानबाट स्व. मोतिलक्ष्मी उपासिका र नेपालको साहित्य क्षेत्रलाई सम्पन्न बनाउन सहयोग गर्नुभएका चार विशिष्ट महिला साहित्यकारहरू प्रकाश प्रधानाङ्ग, सत्यभामा माथेमा, नारायणदेवी श्रेष्ठ र सुवर्णकेशरी चित्रकारलाई नेपाल भाषाको आमाखम्बा – मां थांको रूपमा सम्मान गरिएको छ । त्यस्तै नेपाल भाषामा नै विषेश योगदानको लागि नेपाल भाषाको आँखीझ्याल – तिकीझ्याको रूपमा प्रतिसरा सायमी, सुलोचना मानन्धर, भूषणप्रसाद श्रेष्ठ तथा शशिकला मानन्धरलाई पनि सम्मान गरिएको छ । केन्द्रले यीबाहेक विभिन्न क्षेत्रमा उत्प्रेरणामूलक व्यक्तित्वहरूलाई पनि सम्मान गर्ने जमर्को गरेको छ । भद्रकुमारी घले, शेरचन, घनश्याम राजकर्णिकार, प्रा. डा. निराकार मानश्रेष्ठ, डा. अम्भु भवानी कार्की, राजाराम शैजु, स्व. पुस्करलाल श्रेष्ठ, अनिल महर्जन, कुमार रंजित र प्रा. डा. सुन्दर कृष्ण जोशीलाई साहित्य, सञ्चार तथा शिक्षाको छेत्रमा विशिष्ट योगदानका लागि सम्मान गरिएको हो ।