• १७ असार २०८१, सोमबार

बर्खा लाग्यो, खोला बढ्यो रोकिए गाडी

blog

पिलुचौर बड्डीगाड खोलामा पानीको बहाव बढेपछि रोकिएका गाडी । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, साउन ७ गते । मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नहुँदा बर्खा लागेसँगै खोलामा बाढी बढेपछि स्थानीयलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सकस हुन हुन थालेको छ ।

मार्तडी–कोल्टी सडकको दानसाँगु र कर्णाली कोरिडोर सडकखण्ड अन्तर्गत पर्ने बड्डीगाड, पिलुचौर, कवाडीलगायतका खोलामा पुल छैन । सडक भए पनि खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको हो । 

पिलुचौर बड्डीगाड खोलामा बर्खा लागेसँगै पानीको बहाव बढ्दै गएपछि वारपार गर्न समस्या भएको जगनाथ गाउँपालिका–१ का स्थानीय व्यापारी मीनबहादुर कार्कीले बताउनुभयो ।

खोलामा पानीको बहाव बढेसँगै गाडी खोलाबाट तार्न समस्या छ । खोलामा बाढी बढेपछि भरिया लगाएर सामान ढुवानी गर्नु परेको उहाँले बताउनुभयो । केही वर्ष पहिला भेडा र च्याङ्ग्राको भरमा सामान ढुवानी गर्दै आएका स्थानीयले पछिल्लो समय गाडीबाट सामान ढुवानी गर्दै आएका छन् । 

तर बर्खा लागेपछि खोलामा बाढी र सडकमा पहिरो खस्ने भएकाले यातायातका साधन नियमित सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामग्री ढुवानीमा पनि समस्या हुने गरेको गुनासो उहाँको छ । 

सडक भए पनि बर्खाको समय खोलामा पुल नहुँदा त्यसमा चल्ने गाडी बिच बाटोमा नै रोकिने गर्छ । गाउँबाट भरिया खोजेर सामान ढुवानी गर्नु परेको व्यापारी भण्डारी बताउनुहुन्छ ।

बर्खाको समय मार्तडी–कोल्टी सडकखण्डमा पर्ने सुक्खा खहरे खोला पनि बाढी उर्लेर आउने भएकाले गाडी बिच सडकमै रोक्नु परेको चालक रमेश थापाले बताउनुभयो । खोलाले सडक समेत भत्काउने भएकाले पुनः मर्मत नगरेसम्म गाडी चलाउन सक्ने अवस्था हुँदैन उहाँले भन्नुभयो, “कतिबेला सडक मर्मत होला भनेर कुरेर बस्नुपर्ने अवस्था छ ।” उहाँले मार्तडीबाट कोल्टी–जगनाथसम्म जान पानी परेको छ वा छैन दिन हेरेर मात्र जाने गरेको बताउनुभयो । खोलामा पुल नहुँदा बर्खा त के हिउँदमा समेत खोला तर्न समस्या हुने गरेको छ ।

जगनाथको खुलालुदेखि हुम्लाको हिल्सा कर्णाली कोरिडोर सडकको बिचमा रहेका उक्त खोलामा पुल निर्माण हुन सकेको छैन । कर्णाली कोरिडोर अन्तर्गत पर्ने बुढीनन्दा र जगनाथको सिमाना तथा पिलिचौरको बड्डीगाड खोलामा पुल नहुँदा सवारीसाधन रोकिँदै आएका छन् ।

खोला तर्नका लागि मानिसलाई झोलुङ्गे पुल सहज बने पनि यातायातका साधनका लागि भने पक्की पुल नहुँदा समस्या हुने गरेको चालक थापाले बताउनुभयो । स्थानीय सरकारको बजेटले मात्र विभिन्न खोलामा पुल निर्माण गर्न नसकिने भएकाले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्दै आएको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।

मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउली खोलामा पुल निर्माणका लागि करिब एक करोड रुपियाँ रकम विनियोजन भएर काम सुरु भइरहेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । 

साँफे–मार्तडी तथा मार्तडी–कोल्टी 

सडक अन्तर्गत पर्ने खोलामा पुल निर्माणको 

पहल भइरहेको सडक डिभिजन कार्यालय 

प्रमुख दिवस बस्नेतले बताउनुभयो । 

उहाँका अनुसार, “बुढीगङ्गा नगरपालिका–१ 

को रिन्टे खोला, ताँप्रिसेरा, बाउली खोलामा 

पुल निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन भएको छ ।”