• ९ मंसिर २०८१, आइतबार

प्रतिबन्धित पात्रहरू (नाटक)

blog

मञ्‍च पूरै अन्धकार छ । 

दर्शक कक्षतिर थोरै प्रकाश मधुरो । दर्शकको आगमन प्रारम्भ हुन्छ । आआफ्नो सिटमा बस्दा हरेक दर्शकले सुन्‍न सक्छन्– मञ्‍चतिरबाट आएका आवाज मधुरो छ, अस्पष्‍ट छ । आवाजमा केही पीडा मिसिएको छ ।

विस्तारै दर्शक कक्ष पनि अँध्यारिन्छ । मञ्‍चको अँध्यारो क्षेत्रबाट आएको आवाज पूरै बन्द भइसकेको छ ।

मञ्‍च विस्तारै प्रकाशिन्छ । मधुरो प्रकाशमा देखिन्छ, मञ्‍चभरी फैलिएका छन् गर्भावस्थाका अनेक पात्रहरू ।

प्रकाश केही तीव्र ।

मञ्‍चको बिच भागमा नाटककार पीडाले छटपटिएको देखिन्छ ।

अन्य गर्भावस्थाका पात्रहरू छटपटिएका छन् । नाटककार डोरीले बाँधिएको छ ।

क्रमशः उसले आफूमा बाँधिएको डोरी फाल्छ । तर उसलाई पीडा छ । अनुहारमा त्यो स्पष्‍ट देखिन्छ ।

प्रत्येक पात्रहरूलाई हेर्छ ।

हरेक पात्र मानौँ कुनै गर्भवतीको पेटभित्र छन् । बाहिर निस्कन आतुर छन् ।

–मञ्‍चको प्रकाश मधुरो । नाटककारमा केन्द्रित । 

–पात्र १ मा प्रकाशको वृत्त । ऊ गर्भमै छ । लामो लामो सास । ऊ बाहिरिने प्रयत्‍नमा । 

–पात्र २ मा प्रकाश वृत्त । ऊ पनि बाहिरिने प्रयत्‍नमा ।

–अनि व्रmमशः ३, ४, ५ मा पनि प्रकाश । सबै बाहिरिने प्रयासमा छन् ।

–मानौँ ती सबै गर्भभित्र छन् । अँध्यारो कोठामा छन् र बाहिरको संसारमा आउन आतुर छन् । भाव– भङ्गिमा । 

(प्रकाश पुनः नाटककारमा केन्द्रित)

–नाटककार सबैलाई हेर्छ । भुइँमा फालिएको डोरी हेर्छ ।

नाटककार : वर्षौं भयो मेरो कलम कतै बन्धक छ । 

न लेख्‍न सक्छु । न मेरा पात्रहरूसँग संवाद गर्न सक्छु । 

(कविताका भावमा)

परतन्त्रको डोरीले 

बाँधिएको छु,

दुःखहरू देख्छु

र रोपिन्छन् बिज

कतै,

सपनाहरू देख्छु

र उदाउँछन् बिजहरू 

कतै

म अहोरात्र सपना बुन्‍ने 

एउटा

निरिह कवि

एउटा 

निरिह नाटककार !

मभित्र

बिजारोपण भएका छन्

हजारौँ सपनाहरू 

तर 

प्रतिबन्धित छन् 

मेरा सिर्जनाहरू 

कुँजिएको छु

कुँजिएको छु

आफैँ सिमानाहरूमा 

लाग्दैछ

कुनै काँडेतारले 

बेरिएको निर्मम वर्तमानमा ।

प्रकाशको वृत्त क्रमशः सबै चरित्रहरूमा छरिन्छ । पात्रहरूका आवाज सुनिन थाल्छन् । 

:  म तिम्रो गर्भमा छु 

:  गर्भमा ...

:  तिम्रो गर्भमा 

:  गर्भमा 

:  तिम्रो गर्भमा

सबै गर्भबाट निस्कने प्रयत्‍न गर्दैछन्

:  तिम्रो गर्भमा छु नाटककार !

:  तिम्रो गर्भमा

:  वर्षौंदेखि 

: वर्षौंदेखि 

:  वर्षौंदेखि 

:  निकाल मलाई ! यो अँध्यारो कोठामा म निस्सासिसकेँ ! ए नाटककार !

:  हामी तिम्रा पात्रहरू 

:  तिमीले रोपेका बिजहरू 

:  गर्भाधान

:  यो गर्भभित्र कतिन्‍जेल राख्छौ नाटककार ?

:  वर्षौंदेखि हामी प्रतीक्षा गर्दैछौँ । 

:  कस्तो होला त्‍यो बाहिरको उज्‍यालो भूमि ?

:  उज्‍यालो आकाश ?

:  हामी पात्रहरू वर्षौंदेखि तिम्रो गर्भमा छौँ ।

:  छटपटिएका छौँ ।

:  पीडाले 

:  क्राेधले 

:  उकुस मुकुस !

:  तिमी बुझ्दैनौ हाम्रो पीडा 

सबै एक साथ बोल्छन् पीडा !

नाटककार :  मैले जति कसले बुझेको होला त्‍यो पीडा ! त्‍यो तिमीहरूले होइन, म भोग्दैछु । म दुख्दैछु । हर पल म त्‍यो पीडा पिइरहेको छु । 

जसरी गर्भ बोक्छे एउटी महिला ! ठिक त्यसरी नै म लेखक । एउटा नाटककार अनेक पात्रहरू मेरो गर्भमा छन् । वर्षौंदेखि गर्भमा । अनेकौँ पात्रहरू । तिमी पात्रहरू मेरो गर्भमा छौ । त्‍यो पीडा म भोग्दैछु । 

:  तिमी होइन हामी भोग्दैछौँ । निकाल मलाई निकाल म निस्सासिसकेँ ।

नाटककार :  विवश छु म !

:  विवश भए किन गर्भाधान ग¥यौ ? तिम्रो गर्भमा, यो अँध्यारो गुफामा कतिन्‍जेल कति वर्ष, कति युग यसरी निस्सासिएर बस्ने ? 

नाटककार :  मलाई थाहा छ, तिमी पात्रहरू मेरो गर्भमा वर्षौंदेखि निस्सासिएर बसेका छौ । त्‍यो निस्सासिने तिमी होइनौ म स्वयम् नै हुँ । तिमीहरूको हर स्वासमा म छु । तिमीहरूको भोकमा म छु, तिमीहरूको पीडामा म छु । तिमीहरू भोकले छटपटिन्छौ त्यो तिमीहरू हैन म छटपटिएको हुँ । तिमीहरू पीडाले छटपटिन्छौ, त्यो छटपटाइ पनि मेरै छटपटाइ हो ।

:  त्यसो भए हामी पनि पीडाले दुखिरहेका छौँ ।

:  हामीले भोगिरहेको पीडामा तिमी छटपटिरहेका छौ भने हामीलाई किन जन्माउँदैनौ ? किन अझ थप पीडामा पिल्साइ राख्छौ ?

नाटककार :  विवश छु ।

:  तिम्रो विवशता के हो ? विवश छौ भने किन त गर्भमा राख्यौ हामीलाई ?

: हामी पात्र तिम्रा ! हामी पात्र बनाएर यो गर्भको गुफामा किन थन्क्यायौ ? 

:  म पीडाले छटपटिएँ ! निस्सासिएँ ।

नाटककार :   थाहा छ ! सबै थाहा छ मलाई ! म नाटककार ! मैले अनेक कथाहरू देखेँ, भोगेँ... ती कथाहरूका पात्रहरू सिर्जना गर्न गर्भाधान गरेँ, ती पात्रका बिजहरू ... 

जब मैले देखेँ ...

प्रकाश, जेलको दृश्य – मञ्‍चको अर्को छेउमा । जेलभित्र केही युवाहरूलाई व्रmुरतापूर्वक प्रहरीहरू पिट्दै छन् ।

(नाटककार त्यही पृष्‍ठभूमिमा)

ती युवाहरू आफ्ना अधिकार मागिरहेका थिए । तर बन्देजको पर्खालले तिनीहरूका आवाज बन्द थिए ।

ओठहरूमा ताला थियो ।

आँखामा पट्टी थियो ।

किनभने त्यहाँ कानुनले बन्देज गरिएका धारा उपधारामा प्रहरीका लाठी वर्षिरहेका थिए । मैले ठानेँ अब यी पात्र मेरा नाटकमा संवादहरू बोल्ने छन् । ती पात्रलाई मेरो सिर्जनाले टपक्‍क टिपे । जब ती पात्रलाई मेरा नाटकमा जन्माउन खोजेँ म आफैँ पनि थुनिएँ त्यो कालकोठरीमा ।

(प्रकाश मधुरो । केही क्षणमा नाटककार आफैँ जेलभित्र छटपटिएको देखिन्छ ।)

(अन्धकार !)

(केही क्षणमा प्रकाश । अर्को छेउमा नाटककार उभिएको छ ।)

पटक पटक थुनिएँ म ! कारण एउटै थियो, मैले तिमीहरूलाई जन्म दिएको आरोप ! म अहिले पनि तिमीहरूलाई जन्माउन आतुर छु तर थाहा छ, जन्माएकै क्षणमा मैले अर्को कारावास भोग्नुपर्छ । म जन्माउन कहाँ सक्छु र ... 

:  जन्माउन सक्तैनौ भने किन राख्यौ गर्भमा ? 

नाटककार :  कतै भोक, कतै गरिबी, कतै ओठहरूमा ताला, कतै बाध्यता, कतै रोग, कतै अशिक्षा । कि मैले हेर्दै नहेर्नु प¥यो । कि त आँखामा पट्टी बाँध्नु प¥यो । जब देख्छु चारैतिर बिसङ्गतिका ताँतीहरू अनि पात्रहरू सिर्जित हुन मेरो गर्भमा पस्छन् । म के गरूँ ? मैले चाहेर होइन । मैले जन्माउन नचाहेर गर्भाधारण गरेका पात्रहरू होइनौ तिमीहरू । म के गरूँ ? जब देख्छु यो देशका अभागी नागरिकहरू भोकले छटपटिएको । रोगले छटपटिएको । म नाटककार यो देशका अभागी नागरिकहरू भोकले छटपटिएको । रोगले छटपटिएको । म नाटककार ! मेरो कलमले टिप्न खोज्छ । मस्तिष्कले मनको कुनै किनारामा राख्‍न खोज्छ त म के गरूँ ?

(प्रकाशको वृत्त मञ्‍चको एक कुनामा पर्छ । एउटी महिला देखिन्छे ।)

महिला :  वर्षौंदेखि खोजिरहेकी छु । छोरालाई ! छोरा ! तिमीलाई मध्यरातमा कुनै अज्ञात काला सर्पहरूले लगेका थिए । त्यो रातदेखि म यहीँ यसरी नै तिमीलाई पर्खिरहेकी छु । कहाँ कसले किन लग्यो तिमीलाई ? भन्थ्यौ– जीवनभरि म वृद्ध आमालाई हेर्छु, आमा ! तिमीलाई दुःख दिन्‍न भन्थ्यौ । खै कहाँ बेपत्ता भयौ ? कसले चुँडेर लग्यो मेरो छोरालाई ? म काल पर्खेर बसेकी यो वृद्धालाई लगे हुन्थ्यो । मेरो छोरालाई किन चुँडेर लग्यौ ?

(अन्धकार)

(अर्को कुनामा प्रकाशको वृत्त । पुलिस र युवा)

पुलिस :  (युवालाई पिट्दै) स्वतन्त्रता चाहियो तँलाई ? तँ जस्तो देशद्रोहीलाई यही हो सजाय । भन् तेरा पछाडि को को छन् ? भन् तँ कसबाट सञ्‍चालित छस् ? 

युवा ः म तैँबाट सञ्‍चालित छु ।

पुलिस :  (पिट्दै) फैरि बोल् । तेरो जिब्रो थुतिदिन्छु । तेरो आँखा फोरिदिन्छु ... विद्रोही !

युवा :  तेरो यही प्रवृत्तिले म विद्रोही बन्‍न बाध्य भएँ ।

पुलिस :  अब मर्न बाध्य हुने छस् ।

(बुटले हान्छ ।)

तँ जस्ता देशद्रोहीले नै हो देशलाई खोव्रmो बनाएको । भन् को–को संलग्न छन् ? भन्...

युवा :  तँ र म । हामी दुई जना संलग्न छौँ । 

पुलिस :  ए अझै तँ मसँग जोरी खोज्दै छस् ? तैँले हामीलाई चिनेकै छैनस् । तँ जस्ता द्रोहीले गर्दा हामी व्रmुर हुन पुगेका हौँ । अब तँलाई स्वर्गमा नपु¥याई बक्ने भइनस् होइन ? ल बक, अन्तिम पटक चान्स दिँदैछु । भन्... भन् ! 

युवा :  के भन्‍ने ? भन्‍नु पर्ने सबै भनिसकेको छु । स्वतन्त्रतालाई पर्खालभित्र बन्द गरेर मसँग के प्रश्‍न गर्छस् ? 

(पुलिस पिट्छ । अन्धकार)

(अर्को वृत्तमा महिला)

महिला :  कहाँ छ मेरो छोरा ? कहाँ छ ?

(अन्धकार !)

(प्रकाश ! मञ्‍चमा गर्भावस्थाका पात्रहरू र नाटककार मात्रै)

नाटककार :  तिमीहरू त्यही पात्र हौ, जो अहिले मेरो गर्भमा थुनिएका छौ । भन म कसरी जन्माऊँ तिमीहरूलाई ?

: निकाल... अब म यहाँ बस्न सक्तिनँ । झन्–झन् पीडा भयो । म फुत्किएर बाहिर आटउन चाहन्छु ।

:  हतार भइसक्यो । निकाल, मलाई निकाल ।

:  गर्भमा रहेको पीडा तिमी बुझ्दैनौ ।

:  हामीलाई थाहा छ, हामी तिम्रै पात्रहरू हौँ । तर यहाँ निस्सासिसक्यौँ । हामी मञ्‍चभरि छरिन चाहन्छौँ । 

:  चाँडै जन्माऊ नाटककार ! हामीलाई आआफ्नो भूमिकामा जन्माऊ ।

:  पीडाबाट मुक्ति देऊ ।

:  कहिलेसम्म बाँधिएर बस्नु यो अँध्यारो कोठामा ? 

:  म ज्युँदो छु कि मरिसकेँ ? बेहोसी कि अर्ध बेहोसी यो अँध्यारो कुनामा राख्यौ वर्षौंदेखि, जन्माउन सक्तैनौ भने किन राख्यौ गर्भमा ?

(सबै मौन । अन्धकार ! केही क्षणमा मञ्‍चको अर्को वृत्तमा प्रकाश ।)

नाटककार :  म के गरूँ ? के आफ्नो आँखा फोरूँ ? नत्र के गरूँ ?

(अर्को कुनामा अर्को प्रकाशको वृत्त । कठ्घरामा पुरुष उभिएको छ । वकिल छेउमा छ ।)

पुरुष :  मैले गर्दै नगरेको आपराध कसरी स्वीकार्नु ? अब के नै बाँकी छ र ? देऊ के–के दण्ड दिन्छौ देऊ । गर्दै नगरेको अपराध ! न म बलात्कारी हुँ, न हत्यारा हुँ ? मलाई किन बारम्बार, बारम्बार सोधिरहन्छौ एउटै प्रश्‍न ? 

वकिल :  सारा प्रमाणहरू हामीसँग छ । अब तिमीले चाहे स्वीकार वा अस्वीकार गर तिमीले दण्ड भोग्नै पर्छ । 

पुरुष :  कस्तो न्याय तिमीहरूको ? म जस्तो निरपराधी पुरुषलाई दण्ड दियौ ठिक छ, देऊ के चाहिँ दिन्छौ ? देऊ । हदसेहद आजीवन कारावास हैन ? कि दिन्छौ मृत्युदण्ड, दिन्छौ ?

मैले हजार चोटि भनिसकेँ, म निरपराधी हुँ । तर सारा नक्‍कली कागजहरू तयार पारेर म एउटा सोझो पुरुषलाई फसायौ । ठिक छ । तिम्रो कानुनले मलाई सजाय दियो । मैले तिम्रो यो कृत्रिम कानुन स्वीकार्नै पर्छ, स्वीकार्छु । तर याद राख तिम्रो यो कानुनभन्दा माथि अर्को पनि कानुन छ– देवताको कानुन । त्‍यो कानुन तिम्रो जस्तो घुस खाएर भ्रष्‍टाचार गरेर बनाएको कानुन होइन । त्‍यो कानुनले न्‍याय गर्ने छ । याद राख त्‍यो कानुनले वर्षाउने छ तिमीहरू जस्तो पाखण्डीलाई...

हे परमात्मा । मलाई यिनीहरूको कानुनले दण्ड दियो । के तिम्रो कानुनको पनि आँखा पट्टीले बाँधिएको छ त ?

(अन्धकार । प्रकाश ।)

नाटककार :  तिमी पनि मेरो सिर्जनाको कल्पनामा कैद छौ ।

:  हो म कैद छु । म तिम्रो गर्भमा यहाँ अहिले छटपटिरहेको छु ।

:  निकाल कहिले निकाल्छौ तिम्रो सिर्जनामा ?

:  कहिलेसम्म बाँधिराख्छौ नाटककार हामीलाई तिम्रो गर्भमा ।

:  न नाम दियौ न अस्तित्व । म तिम्रो गर्भको एक कुनामा नामहीन, अस्तित्‍वहीन भएर बसिरहेको छु । मलाई मेरो परिचय थाहा छैन । अस्तित्व थाहा छैन । म को हुँ नाटककार ? को हुँ ?

:  चाँडै जन्माऊ ।

:  फुत्किएर निस्कने मन छ । 

:  निकाल, 

सबै : निकाल ... 

:  किन जन्माउन सक्दनौ ?

:  किन ?

:  किन ?

:  किन ?

:  किन ?

:  किन ?

नाटककार :  किनभने तिमीहरू बर्जित छौ ।

:  त्‍यसो भए किन कल्पनामा मात्र बाँधिरह्यौ त ?

नाटककार :  हो, तिमीहरूलाई गर्भमा राखेको धेरै भयो । मैले भने नि तिमीहरूको पीडा म बुझ्‍न सक्छु । म स्वयं‍ले भोगिरहेको छु तिमीहरूको पीडा ।

नाटककार दर्शकको नजिक आउँछ । दर्शकतिर हेर्छ ।

मभित्र यति धेरै पात्रहरू छन् । ती सबै यही दर्शक दीर्घाबाट थाहा छैन, कैयौँ वर्षदेखि टिपेर राखेको छु । मैले मेरो कल्पनाको गर्भमा कैद गरेको पनि वर्षौं भइसक्यो । 

नाटककार गर्भका पात्रहरूतिर जान्छ । ती सबै गर्भका पात्रहरू गोलाकार । नाटककार मध्य भागमा

म ककसलाई जन्माऊँ ? ककसको अस्तित्वलाई चिनाउँ ? ककसको परिचय दिऊँ ? कालकोठरीमा बुटका लातहरू खाएका रगताम्मे पात्र छन् मेरा कल्पनाका गर्भमा । ककसलाई जन्म दिऊँ ?

(सबै गर्भको आकारमा देखिन्छन् ।)

(नाटककार ती गर्भका पात्रहरूको बिचमा)

सबै : (लामो लामो सास लिन्छन् ।)

नाटककार : मभरि, मेरो शरीरको नशा नशामा रगत रगतभरि । मेरा साराका सारा कल्पनामा, सपनामा, विपनामा, सम्झनामा, बिर्सनामा, सोचमा, विचारमा, ‍औँला औँलामा, आँखाका नानीहरूमा चारैतिर केवल केवल तिमी पात्रहरूको आर्तनाद सुनिरहेको छु । सुनिरहेको छु व्रmन्दन ।

हुलका हुल आमाहरू । बाबुहरू, बच्चाहरू । साराका सारा पात्रहरू मभित्र छन् । रोइरहेका, चिच्याइरहेका, असङ्ख्य पात्रहरू मेरो गर्भमा छटपटिरहेका छन् । एकपछि अर्को छटपटिरहेका । सबैको रोदन, व्रmन्दन म सुनिरहेको छु । सबैका पीडाहरू एक एक गरी पिउँदैछु म । तिमीहरूलाई घोच्दा घोचिन्छु म । तिमीहरूको बगिरहेको पीपमा म बगिरहेको छु । तिमीहरूको दुःखमा म दुख्छु । मलाई दुख्छ । म झन् झन् घोचिँदै छु । दुख्दै छु । पोल्छ मेरो मन भत्पत्ती ।

गर्भमै लुकेका मेरा भावहरू, त्यहाँ तिमी पात्रहरू– रोइरहेका छौ । म नाटककार पीडाहरू, पीपहरू, पापहरू, कर्महरू मेरा नाटकभित्र कति छटपटिरहेका छन् । मैले केही अपराध गरेको छैन । ए पात्रहरू ! तिमीहरूलाई मैले नै राखेको हुँ मेरो गर्भमा । हो तर मैले चाहेर पनि जन्माउन सकिरहेको छैन । न मार्न सक्छु, भ्रूण हत्या ? अहँ सक्तिनँ । न जन्माउनै सक्छु । मैले मेरा कलमबाट तिमीहरूलाई आकार दिन सकिनँ । अस्तित्व दिन सकिनँ । नाम दिन सकिनँ । रूप दिन सकिनँ । परिचय दिन सकिनँ । मेरो गर्भभित्र तिमीहरूलाई राखेर म पाप रचिरहेको त छैन ? के यो पाप हो ? म के गरूँ ।

(गर्भका पात्रहरू मौन छन् ।)

के भाँचिदिऊँ कलम ? ए मेरो मन ! 

म त साक्षी छु मेरो कल्पनाको । हर यथार्थको हे मेरो मन मेरा यी पात्रहरूलाई वर्षौंदेखि मेरो गर्भमा राखिरहेँ । किन जन्माउन सकिनँ ? 

(चिच्याउँदै आकाशतिर हेर्छ ।)

के भाचिदिऊँ मेरो कलम ? खोई कहाँ गए मेरा अभिव्यक्तिहरू ? कसले खोस्यो मेरो अभिव्यक्ति ?

(प्रकाश मधुरो । नाटककार अर्को प्रकाशको वृत्तमा जान्छ । नाटककारबाट छुट्टिएर अर्को मन केही पर जान्छ र नाटककारलाई हेर्छ ।)

मन १ :  ए नाटककार !

नाटककार :  को हौ तिमी ?

मन १ :  तिम्रै मन त हो । 

नाटककार :  हँ के तिमी म नै हौ त ?

मन १ :  हो ।

नाटककार :  त्यसो भए भन खोइ त मेरो अभिव्यक्ति ?

मन १ :  तिम्रा अभिव्यक्ति छरपष्‍ट छन्– कागजहरूमा । पुस्तकहरूमा । पुस्तकालयका खिया परेका दराजहरूमा । व्यर्थका ती अभिव्यक्तिहरूले कति जन्मायौ पात्रहरू ।

वर्षौंदेखि तिम्रा कलमले कैयौँ पात्रहरू जन्माए । भोकमरीले छटपटाएका पात्रहरू जन्मायौ । अभावले पिल्सिएका अनगिन्ती पात्रहरू जन्मायौ । सज्जन पात्रहरू । दुर्जन पात्रहरू । वृद्ध, अशक्त, असाहाय, सिन्दुर पुछिएका विधवाहरू । जन्मायौ अनेकौँ पात्रहरू । चेतनाका ज्वालाहरू जन्मायौ । परिवर्तनका रेखाहरू को¥यौ । तिमीले आफूलाई बिर्सेर पात्रहरू जन्मायौ । वर्षौंदेखि आफूलाई नै बिर्सियौ । आफैँ आगोमा जलेर, आफैँ पिल्सिएर पात्रहरू जन्माउनुबाहेक अरू के नै ग¥यौ ?

केवल पात्रहरू जन्मायौ ।

नाटककार :  केवल पात्रहरू जन्माएँ । त्यसो भए अब पात्रहरू जन्माउन छोडिदिऊँ ? छोडिदिऊँ लेख्‍न नाटकहरू ? भन अब के गरूँ ? लेखूँ ? नलेखूँ ?

(मधुरो प्रकाश । मन १ हराउँछ । नाटककारको शरीरबाट मन २ प्रकट हुन्छ ।

मन २ : किन लेख्छस् अब ? किन जन्माउँछस् पात्रहरू ? किन बोल्छस् सत्यहरू ? किन ओकल्छस् यथार्थहरू ? किन जन्माउँछस् आगो जस्तो पोल्ने पात्रहरू ? जहाँ दुर्जनहरूको नङ्‍ग्राहरूले निर्धाहरू चिथोरिएका छन् । जहाँ दुर्जन पात्रहरूको नङ्‍ग्राले तँ आफैँ चिथोरिएको छस् । कति जन्माउँछस् पापका पात्रहरू । तिनले हर क्षण डसिरहेको समेत थाहा पाउँदैनस् । बदलामा यातना भोगेर तँ आफैँ थुनिएको छस् कालकोठरीमा । सत्य ओकलेको बदलामा तेरा हातहरू भाँचिदैछन् । किन लेख्छस् अझै । किन ? भाँचिदे औँलाहरू ? भ्रूणमै हत्या गरिदे पात्रहरू । 

मन १ :  (प्रकट हुँदै) होइन, यो पापको कुकर्ममा नडुब लेख्‍नुपर्छ तैँले, यो तेरो कर्तव्य हो ।

मन २ :  कर्तव्य ?

यो फोस्रो आदर्शको बर्को ओढेर भ्रमको भविष्यमा तँ बिस्तारै खस्दैछस् । मानौँ एउटा गहिरो खाडलमा तँ ।

मन १ :  यो पापतिर धकेल्न नखोज नाटककारलाई ।

नाटककार : त्यसो भए भाँचिदिऊँ कलम ? 

मन १ :  होइन, पीडाहरू देख्दा देख्दै कसरी मूकदर्शक बन्‍न सक्छस् ? 

मन २ :  यो दुर्जनहरूको आगोमा किन होमिन खोज्छस् ?

मन १ : एउटा अर्को योद्धा जन्माउनुपर्छ तैँले ।

मन २ :  एउटा अर्को कंशले विनाश गर्नेछ तँलाई । अब कुनै कृष्णको आगमन कल्पना नगर ।

मन १ :  होइन, तँ आफैँ कृष्ण बन्‍नुपर्छ अब ! लेख्नुपर्छ । असङ्ख्य पात्रहरू जन्माउनुपर्छ । आगोमा जलेर होस् । काँडामा बिझेर होस् । तैँले जन्माइनस् भने ती पात्रहरू जलेर खरानी हुनेछन् । ती पात्रहरूले नै नयाँ युगको सिर्जना गर्ने छन् । तैँले तिनलाई जन्माइनस् भने सत्यका ढोकाहरू सदाका लागि बन्द हुने छन् ।

असत्यहरू अझै मडारिनेछन् । यो आकाशमा । निर्धाहरू अझै थिचिने छन् । तेरा पात्रहरू आगोका ज्वालाहरू हुन् । विद्रोहका प्रतीक हुन् । परिवर्तनका वाहक हुन् । नभाग ए नाटककार । निर्धाहरू तेरै प्रतीक्षामा छन् । तँ पनि थाकिस् भने सधैँका लागि बन्द हुने छन् ती सुनका सपनामा ढोकाहरू ! 

मन २ :  बन्द गर तेरा आदर्शहरू !

मन १ :  निर्धाहरू तेरो प्रतीक्षामा छन् ।

मन २ :  तेरो पनि जीवन छ । नष्‍ट नगर जीवन । 

मन १ :  निराश न हो नाटककार । उठ्नु पर्छ ।

(दुवैका आवाज अस्पष्‍ट हुँदै जान्छ । प्रकाश मधुरो दुवै अलप हुन्छन् । नाटककार चारैतिर हेर्छ ।)

नाटककार :  म के गरूँ ? लाग्दैछ म यहाँ छु कि छैन ? के जीवित छु ? या मृत ? मानौँ म लास हुँ । यी सारा पात्रहरू पनि लास हुन् । कोही ज्यूँदा छैनन् । लाग्दैछ म पनि छैन । म पनि मरिसकेँ । मरिसक्यो मेरो कलम । चारैतिर केवल– लास देख्दैछु... लास...

(एकाएक नाटककारको शरीरबाट ती मनहरू निस्कन्छन् । प्रकट हुन्छन् । मञ्‍चको अर्को कुनामा जान्छन् । प्रकाशको वृत्त त्यहीँ । ती मनहरू विभिन्‍न मुद्रामा नृत्य गर्छन् । ताण्डव नृत्य । केही खन्छन् । केही उघिन्छन् । फाल्छन् । चिच्याउँछन् ।)

मन २ :  वर्षौंदेखि यहाँ लास छरिएका छन्, कसका लास हुन् ? 

(चिच्याउँदै)

ए देशवासी हो ! ककसका छोराछोरीहरू हराएका छन् ? ककसका बाबुआमा विलाएका छन् ? ककसका कोख रित्तिएका छन् ? ककसका लोग्नेहरू, भाइहरू, दिदीहरू, भाउजू, काका, काकी, बहिनी... ककसका लास हुन् ? गन्हाइरहेछ डुङ्डुङ्‍ती । आऊ सनाखत गर !

(पात्रहरू व्रmमशः त्यही वृत्तमा जान्छन् । घुम्दै हेर्छन् ।)

: मेरो लास हो त्यो । म हुँ त्यो । म लान्छु मेरो लास । 

:  हैन, त्यो तिमी हैनौ, म हुँ मेरो लास हो त्यो ।

:  कैयौँ वर्षदेखि खोज्दै थिएँ, बल्ल भेटेँ । म त मरिसकेको रहेछु ।

:  कसले राख्यो यो बिच बाटोमा मेरो लास ? कसले राख्यो ?

:  मेरा आफन्त खोज्दैछन् मलाई । म सायद मरिसकेको हुनुपर्छ । मेरो लास यतै कतै हुनुपर्छ । 

:  चाँडो लेऊ मेरो लास । यो म नै हुँ ।

:  कसरी तिमी हुन सक्छौ । म हुँ त्यो । म हुँ...

:  म मरिसकेँ त ? ओहो !

: मेरो लास ...

(लास खोसाखोस गरेको भावभङ्गिमा । साङ्केतिक रूपमा तानातान गर्छन् । मन २ केही खोजे जस्तै गर्छ ।)

मन २ :  चुप लाग ! लास छैन यहाँ । लास अचानक हरायो । खोई कसले लग्यो ? यहीँ थियो । अहिलेसम्म यहीँ थियो । 

(ताण्डव नृत्य ।)

सबै चुप ! लास छैन ।

(पात्रहरू खोई त लास भन्दै प्रस्थान गर्छन् । मन २ कोदालोको साङ्केतिक भावले खन्‍न थाल्छ । खन्दै माटो फालेको भाव । केही खोज्दैछ । पसिना पुस्छ । खाल्डो धेरै गहिरो भइसकेको भाव । पात्रहरू मञ्‍चको अर्को छेऊमा ।)

मन २ :  हात ?

(हात भेटेको भाव । हात फाल्छ ।)

खुट्टा ?

(खुट्टा भेटेको भाव । खुट्टा फाल्छ ।)

आँखा ?

(आँखा भेटेको भाव । आँखा फाल्छ ।)

खोइ त शरीर ?

(टुव्रmा– टुक्रा अङ्गहरू भेट्दै, फालेको भाव । एउटा टुक्रा अङ्ग फाल्दा १ ले परबाट च्याप्प समाएको भाव देखिन्छ । मन १ त्यो अङ्ग नियालेर हेर्छ ।)

:  (अङ्ग हेर्दै) हात ? कसको हात ? यो त मेरो बुबाको हात जस्तो छ । (आवेश) मेरो बुबाले के नै खोजेका थिए र ? अलिकति आकाश खोजेका थिए । त्यत्ति त हो । हात काटिदिए ।

(मन अर्को अङ्ग निकाल्छ र फाल्छ । पात्र २ ले त्यो च्याप्प समाएको भाव । हेरेको भाव ।)

:  आँखा ? कसको आँखा हो ? यो... यो त मेरी आमाको आँखा हो । अलिकति उज्यालो खोजेकी थिई । उज्यालो हेर्न खोजेकी निकालिदिए आँखा । आमाको आँखा । 

(मन अर्को अर्को अङ्ग निकाल्दै फाल्दै गर्छ । अन्य पात्रहरू समात्दै बोल्छ ।)

: जिब्रो ? मेरो छोरोको जिब्रो । अलिकति बोल्न खोजेको थियो, थुतियो जिब्रो ।

: खुट्टा ? मेरो हजुरबाको खुट्टा । अलिकति हिँड्न खोजेका थिए काटिए खुट्टा । हजुरबाको खुट्टा ।

: कान ? मेरी बहिनीको कान ? अलिकति सुन्‍न चाहेकी थिइनँ । काटियो कान ।

:  खै मेरो बुबा ?

:  खै मेरी आमा ? 

:  मेरो छोरा ? 

:  खोइ हजुरबा ?

:  बहिनी खोइ मेरो ?

(प्रकाश मधुरो हुँदै जान्छ । मञ्‍चको एउटा कुनामा प्रकाशको वृत्त । आमा देखिन्छे ।)

आमा :  (कथा भन्दै ।) मेरो छोरी जागिर भेटेँ भनेर खुशी हुँदै सहर पसेको थियो । अब तिमीलाई पाल्छु भन्थ्यो । अब दुःखका दिन सकिए भन्थ्यो । तर घरबाट गएपछि कहिल्यै फर्केन मेरो छोरो । कहाँ हरायो । मेरो छोरालाई कसले कहाँ लग्यो ? त्यसो बाबु मुग्लान पसेको वर्षौं भयो म¥यो बाँच्यो केही थाहा छैन । भएको एउटा छोरा पनि हरायो । दुई वर्ष भइसक्यो । म कुरिरहेकी छु ।

हैन ! मरेको छैन । आउँछ, मेरो छोरो आउँछ । फर्कन्छ । आमा सुख दिन्छु भनेर गएको छ । आउँछ, आउँछ त्यो । (विक्षिप्‍त भाव ।)

फर्कंदैन । अब कहिल्यै फर्कंदैन । फर्कने भए आइहाल्थ्यो नि !

(मौन)

ए ! नाटककार ! कहाँ छौ तिमी ? म त तिम्रो पात्र मात्र हुँ । आफैँ बोल्न थालेछु । हेर त तिमीले नजन्माउँदा म यहीँ गर्भको कोठामा पिल्सिएर बस्नुपरेको छ । न तिमी मलाई जन्माएर यो विशाल धर्तीमा परिचय गराउन नै सक्छौ, न म आफैँ जन्मिएर बाहिर निस्कन सक्छु ।

(अरू पात्रहरू पनि चलबलाउन थाल्छन् ।)

अन्य पात्रहरू :  नाटककार ! कहाँ छौ तिमी ?

(सबै नाटककारलाई खोज्छन् । मञ्‍चमा कतै छैन । एकाएक हरायो नाटककार । सबै खोज्छन् चारैतिर ।)

सबै :  कहाँ हरायो नाटककार ?

(चिच्याउँदै)

:  नाटककार !

:  नाटककार !

सबै :  नाटककार !

(प्रकाश मधुरो हुँदै पूर्ण अन्धकार ।)


दृश्य परिवर्तन

(मञ्‍चको उच्च भागमा कठघरा छ । कठघरामा नाटककार उभिएको छ । मञ्‍चको मध्य भागमा न्यायाधीश उभिएको छ ।)

नाटककार : कहाँ छु म ?

न्यायाधीश :  कठघरामा ।

नाटककार :  कसले उभ्यायो मलाई यो कठघरामा ?

न्यायाधीश : राज्यले । सरकारले । सत्ताले । व्यवस्थाले ।

नाटककार :  किन उभ्यायौ यो कठघरामा ? के अपराध छ मेरो ?

न्यायाधीश :  अनगन्ती छन् तेरा अपराधहरू ।

अपराध नं. १ – लेख्‍नु तेरो अपराध हो ।

अपराध नं. २ – सिर्जनाका नाममा कल्पनाको घेराभन्दा माथि उठ्नु तेरो अपराध हो ।

अब तेरा हातहरू बाँधिने छन् ।

नाटककार :  नबाँध ! नबाँध मेरा हातहरू । 

न्यायाधीश : भाँचिने छन् तिम्रा कलमहरू ।

नाटककार :  नभाँच, नभाँच मेरा कलमहरू । के अब तिमीहरू मेरो कल्पनाको घोडाहरू पनि बाँध्न चाहन्छौ ? मेरा पाइलाहरू पनि रोक्न चाहन्छौ ।

न्यायाधीश :  अब तिमी बन्धनमा बाँधिनेछौ ।

(आदेशको भाषामा) बाँध ! डोरीले बाँध यसका हातहरू !

(नाटककार आफ्नो हातमा कसैले डोरीले बाँधिदिएको झैँ भावमा हात एक डल्लो पार्छ ।)

नाटककार :  किन बाँध्छौ मेरो हात ? नबाँध ! फुकाऊ । मेरो हात फुकाऊ । 

न्यायाधीश :  अब बाँधिसकिसक्यो । फुकाल्न मिल्दैन यो बन्धन तिम्रै अपराधका कारणले हो । तिमी राज्यको कानुनले बाँधिसक्यौ ।

नाटककार : मैले त्यस्तो के अपराध गरेँ ।

न्यायाधीश :  अक्षरहरूको जुलुस निकालिस् । शब्दहरूको बम पड्काइस् । स्वतन्त्रताको आगोले डढेलो लगाइस् ।

(पात्रहरू चारैतिर देखा पर्छन् । सबै डोरीले बाँधिएका छन् । ती सबै डोरीबाट मुक्त हुन चाहन्छन् तर सक्तैनन् ।)

नाटककार :  छोड, मेरा पात्रहरूलाई छोड ।

न्यायाधीश :  तँ मात्रै होइन, तेरा पात्रहरू पनि अपराधका बन्धनमा बाँधिसकेका छन् ।

नाटककार :  अझै स्पष्‍ट गर, मेरा अपराधहरू ! म केवल एउटा सर्जक हुँ । नाटक लेख्छु । पात्रहरू जन्माउँछु, के त्यही हो मेरो अपराध ? स्पष्‍ट पार मेरो अपराध !

न्यायाधीश :  पात्रहरू त जन्माइस् जन्माइस् । पात्रहरूलाई उत्तेजित पारिस् । सुतेकाहरूलाई ब्युँझाइस् । बसेकालाई उठाइस् । थाकेकालाई हिँडाइस् । चुप लागेर बसेको पोखरीमा तरङ्ग ल्याइस् । नदीमा बाढी ल्याइस् । आकाशमा आँधी ल्याइस् । हावालाई बेग दिइस् । अझै सुन्छस् तेरा अपराधहरू ? भनूँ ? कति छन् तेरा अपराधहरू ? अपराध, अपराध र अपराधको ह्रासमा तँ चुर्लुम्म डुबेको छस् । तेरो मुक्ति अब सम्भव छैन । यो राज्यका लागि अपराध मात्र होइन राजद्रोहसमेत हो । तँ राजद्रोही होस् । कलमको अनुचित प्रयोग गरिस् । 

तेरो विचारलाई, तेरो सोचलाई, तेरो सिर्जनालाई, तेरो रचना र शब्दहरूलाई, अक्षर– अक्षरलाई यो अदालत मृत्युदण्डको फैसला सुनाउँछ । 

तेरो सहारा भनेको तिनै अक्षर र शब्द हैन ? अब तँ निहत्था हुनेछस् !

(नाटककार छटपटिन्छ । नाटककारलाई तीव्र प्रकाशले घेर्छ । नाटककार तनावमा देखिन्छ । नेपथ्यबाट काठमा डोरीले हालेर बनाइएको फाँसीको प्रतीक ल्याएर मञ्‍चको बिच भागमा राखिन्छ । प्रकाशको वृत्त चारैतिर फैलिन्छ । नाटककार डोरी फालेर कठघराबाट बाहिर निस्कन्छ ।)

नाटककार : (चिच्याउँदै) यो कहाँको न्याय हो ? सिर्जना गर्नु मेरो अपराध हो ? 

(अर्को कुनामा पात्रहरू डोरीले बाँधिएका छन्, छटपटिन्छन् ।)

:  नाटककार हामीलाई बचाऊ ...

:  नाटककार हामीलाई जन्माऊ ...

:  नाटककार जन्माऊ !

सबै :  बचाऊ ! 

सबै :  जन्माऊ ! 

नाटककार : (चिच्याउँदै) म जन्माउँछु । अवश्य जन्माउँछु तिमीहरूलाई ... ।

(अन्धकार) कालो ।   

Author

अशेष मल्ल