• १६ मंसिर २०८०, शनिबार
blog

हरेक यात्राका आ–आफ्नै उद्देश्य र बेग्ला–बेग्लै अनुभूति हुने गर्छन् । तस्बिरमा देखेका तर प्रत्यक्ष नपुगेका स्थानमा पुग्नु, त्यस स्थानको परिवेशसँग प्रत्यक्ष साक्षात्कार गर्नु र फरक भूगोलसँग चिनारी हुनु जीवनको सबैभन्दा महत्वपूर्ण तथा अविस्मरणीय क्षण बन्दो रहेछ । त्यही अविस्मरणीय यात्रामध्ये एक थियो हामी तीन जना पत्रकार महिलाले गरेको ‘महाकाली–मेची’ साइकल यात्रा । 

हामी तीन जना साइकल यात्री (सङ्गीता नेपाली, इन्दिरा विश्वकर्मा र म) पेसाले रेडियोकर्मी । आफ्नो जीवनकालमा साइकलको प्रयोग नगरेका र साइकल चलाउने सिप पनि खासै नभएका । त्यसैले पनि साइकल चढेर पूरै नेपालको फन्को मार्न खोज्नु हाम्रो मूर्खता पनि थियो तर आँट गर्नु नै सबैभन्दा प्रमुख विषय रहेछ । हामीले आँट ग-यौँ र साइकल लिएर निस्कियौँ ‘महाकाली–मेची’ यात्रामा । 

यात्राको मुख्य उद्देश्य

सूर्य पनि अस्ताउन मात्र आउँछ हाम्रो पश्चिममा 

बाटो हिँडी सक्दा सक्दै रात परिसक्छ हाम्रो पश्चिममा... । 

गीतकार राजेन्द्र थापाकको यो गीत आफैँमा मर्मस्पर्शी छ । उहाँले भन्नुभए झैँ सुदूरपश्चिम वास्तवमै पछाडि रहेछ । पूर्व र पश्चिमका बिचमा भौगोलिक दूरी मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक तथा भाषिक भिन्नता प्रशस्तै भेट्यौँ हामीले । सुदूरपश्चिम बेरोजगारी, छाउपडी प्रथा, जातीय विभेद र गरिबीबाट अझै माथि उठ्न सकेको रहेनछ । त्यसैले पनि गीतकार थापाले यो गीत रचना गर्नु भयो होला । 

त्यसो त, सुदूरपश्चिममा मात्रै होइन, जातीय विभेद र छुवाछुतको अवस्था भने देशैभरि कहाली लाग्दो छ । विभेदविरुद्ध कानुन बनेका छन् । विभिन्न राजनीतिक दलका आ–आफ्नै दलित भ्रातृसङ्गठन निर्माण गरिएका छन् । जातीय मुक्तिका लागि भनेर विभिन्न सरकारी तथा गैरसरकारी संस्था पनि क्रियाशील छन् । तर जातीय विभेद र छुवाछुतको अवस्था भने जस्ताको तस्तै छ । 

संविधान बने यता देशैभरि दलित भएकै कारण यो या त्यो बहानामा करिब ५० भन्दा बढी दलितको हत्या भएको छ । बलात्कार, छुवाछुत, बोक्सीको आरोप, कुटपिट, अपमान, तिरस्कार र समाजबाट विस्तापित हुनु परेका घटनाको त कुनै लेखाजोखा छैन । 

आखिर, हामी कुन समाजमा बाँचिरहेका छौँ ? लोकतान्त्रिक र शिक्षित भनिने समाजमा मान्छे भएर बाँच्न नपाउनु र दलित भएकै कारण मान्छे मारिने अवस्था कसरी सिर्जना भयो ? यही गम्भिर सवाललाई हामीले मिडियामार्फत उठाइरहेका थियौँ । वर्षौंदेखि विभेदका घटनाको बारेमा समाचार मात्र लेखेनौँ , विभेदविरुद्ध आवाजसमेत बुलन्द गरिरह्यौँ । सञ्चारकर्मी हुनुको नाताले सभ्य र समतामूलक समाज निर्माणको जिम्मेवारी पूरा गर्नु हाम्रो दायित्व पनि हो । त्यसका लागि हामीले समाज बुझ्न जरुरी ठान्यौँ । ‘भुइँ मान्छे’ भनिनेहरूको पछिल्लो अवस्था नियाल्नु थियो । दूर बस्तीको वास्तविक अवस्था बुझ्नु पनि थियो । त्यससँगै दलित समुदायले भोगेको जातीय विभेद र बदलिँदो समयमा भेदभावको नयाँ शैलीबारे गहन रूपमा समीक्षासहित सरकारको ध्यानार्कषण गराउने उद्देश्यले हामी दलित समुदायबाट प्रतिनिधित्व गर्ने महिला सञ्चारकर्मीले नेपाल यात्रा गर्ने योजना बनाएका थियौँ । 

कुनै पनि अभियान भनौँ या यात्रा, पूर्वबाट सुरु भई पश्चिममा अन्त्य हुने गरेका थुप्रै उदाहरण छन् तर हामीले ‘मेची–महाकाली’को भाष्यलाई चिरेर ‘महाकाली–मेची’को नयाँ भाष्य निर्माण गर्न चाहन्थ्यौँ । त्यसैले पनि हामीले महाकालीबाट यात्रा सुरु गरेर मेचीमा पुगेर सम्पन्न गर्ने तयारीका साथ वैशाख ६ गते बिहान करिब १० बजे सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरस्थित गड्डाचौकीबाट यात्रा सुरु ग-यौँ । 

पहिलो दिनमै घाइते

फरक भौगोलिक परिवेश, वैशाख महिनाको चर्को घाम, तातेको सडक, हावाहुरीसँगै छिनमै पानी परिहाल्ने प्रतिकूल मौसम । वास्तवमा हामीले सबै प्रकारका प्रतिकूलताबिच यात्रा सुरु गरेका थियौँ । यात्रा आफँैमा कठिन थियो । हरेक कठिनाइलाई चिर्दै अगाडि बढ्नु पर्ने चुनौती पनि । 

पहिलो दिन महेन्द्रनगरबाट कैलालीसम्म पुग्नु थियो । सुरुवाती दिन भएर पनि होला, आधा बाटो नपुग्दै हामी गलिसकेका थियौँ । साइकलको पाइडल घुमाउँदा खुट्टा फतक्क गलेको अनुभूति हुन्थ्यो । साँझको ५ बजेसम्म अत्तरिया पुग्नु थियो तर हामीले सोचेजति गति बढाउन भने सकेनौँ । त्यसमाथि टन्टलापुर घामले हामीलाई सिधै चुनौती दिइरहेको थियो । ठाउँ–ठाउँमा छहारीमा विश्राम लिँदै, पानी पिउँदै हामी बिस्तारै अघि बढ्यौँ । 

शुक्लाफाँटा वन्यजन्तु आरक्षणको बिचमै झमक्क साँझ प-यो । आरक्षण नकट्दै रात परिहाल्यो । हामीसँग स–साना टर्चलाइट थिए । साइकलमा टर्च राखेर बाल्यौँ र अँध्यारोमा बत्तीको सहारा लिएर अघि बढ्यौँ । घडीले ७ बजाइसकेको थियो । आरक्षण कटेपछि केही दूरी अगाडि सडकको दायाँपट्टि किनारमा ‘अत्तरिया १२ किमी’ लेखेको सङ्केत देखियो । अत्तरिया पुग्न अझै १२ किलोमिटर दूरी बाँकी रहेछ । हामीले साइकलको गति बढायौँ । सङ्गीता सबैभन्दा अगाडि थिइन् । म बिचमा र इन्दिरा पछाडि । अचानक मेरो कानमा किरा पस्यो । मैले अत्तालिएर ‘झ्याप्प’ ब्रेक लगाएछु । म रोकिएपछि मेरो पछाडि आइरहेकी इन्दिरा ममाथि ठोक्किएर सडकमा बजारिइन् । साइकल उनीमाथि लड््यो । पछाडिबाट कार हुत्तिएर आइरहेको थियो । मैले आफ्नो साइकल छोडेर उनलाई सम्हाल्न पुगे । कारले आफ्नो गति कम गरेको थिएन । मैले इन्दिरालाई तानेर सडक छेउ लिएर आएँ । कार हाम्रो छेउबाट हुइँकिएर अघि बढ्यो । इन्दिराको ज्यान जोगियो । हेलमेट लगाएको हुँदा उनको टाउको भने सुरक्षित थियो । कुइनामा अलिकति चोट लागेको रहेछ । 

यात्राको पहिलो दिनको गन्तव्य नपुग्दै उनी लड्दा म निकै डराए । ‘कतै उनलाई कारले ठक्कर दिएको भए ? उनको हात खुट्टा र टाउकोमा चोट लागेको भए ?’ यस्तै यस्तै कुराले मनमा भयङ्कर डर पैदा भयो । मेरो निधारमा चिट–चिट पसिना आयो । धेरै बेरसम्म वातावरणमा सन्नाटा छाइरह्यो । यता, इन्दिरा भने चोट लागेकोे आफ्नो हात छाम्दै टोलाइरहेकी थिइन् । म पनि केही बोल्न सकिनँ । निकै बेरपछि इन्दिराले लामो श्वास फेर्दै भनिन्, ‘म ठिक छु दिदी, नआत्तिनु ।’ उनले यसो भनेपछि बल्ल मेरो मन हल्का भयो । 

मैले उनको हातका औँला तानिदिएँ । कुइनामा लागेको सामान्य चोटबाहेक अन्त कतै चोट थिएन । उनी बिस्तारै उठिन् । शरीर तन्काइन् । सबै ठिकै थियो । हामी एउटा भयङ्कर सम्भावित दुर्घटनाबाट बचेका थियौँ । त्यसैले पनि हामी खुसी भयौँ । त्यसपछि हामी तिनै जना हाँस्न थाल्यौँ । वास्तवमा हामी गहिरो पीडाका बिचबाट पनि हाँस्न सक्ने भएका थियौँ । 

रित्तो हात फर्किएँ

तेस्रो दिन हामीले कर्णाली पुलबाट लुम्बिनी प्रदेशको यात्रा प्रारम्भ गरेका थियौँ । चिसापानीबाट निस्कँदा सिमसिम पानी परिरहेको थियो । हावा उस्तै तेज । पानीसँगै वेगले चलेको हावामा कर्णाली पुलमाथि दुई पटक साइकल लड्यो । पुल पार गर्न हामीलाई हम्मे–हम्मे भयो । निकै सम्हालिएर साइकल डो-याउँदै अगाडि बढ्दै थियौँ । पुलको बिचमा नपुग्दै मेरो साइकलमा फहराइरहेको झन्डा हावाले उडाइदियो । झन्डा पुलमुनि बगरमा पुगेछ । म भने झन्डा उडाएको दृश्य पुलमाथि उभिएर हेरिरहेँ, तर समाउन सकिनँ । 

तलतिर आफ्नै गतिमा बगिरहेको शान्त कर्णाली । पुलमाथि भने हावाको विध्वंश । मान्छे नै उडाउला जस्तो । बढो मुस्किलका साथ पुलपारि पुगेर साइकल रोकेँ । पुलमा उभिएर तल हेर्दा झन्डा बगरको बालुवामा भए जस्तो लाग्यो । म झन्डा लिन बगरतिर झरेँ । बगरमा पनि हावाको गति कम थिएन । हावाले उडाएको बालुवा सिधै आँखामा प-यो । झन्डा पनि भेटिएन । बगरमा धेरै समय टिक्न नसकेपछि म रित्तो हात फर्किएँ । 

बाँके राष्ट्रिय निकुञ्जमा अर्को दुर्घटना

चौथो दिन बिहान हामीले कोहलपुरबाट यात्रा सुरु ग¥यो । कुसुम पुगुन्जेल एकाध बस्तीबाहेक पूरै जङ्गलको बाटो यात्रा गर्नु प¥यो । अघैयादेखि शमशेरजङ्गसम्मको २० किलोमिटर जङ्गल क्षेत्र पार गरेर हामी साँझपख सिख्टा पुगेका थियौँ । सिख्टा पुग्नासाथ उकालो बाटो आयो । उकालोमा साइकल गुडाउन गाह्रो भएपछि हामीले साइकल हातमा डो-याउनु प-यो । 

हाइवे सडकमा सवारी साधनको चाप बाक्लो हुने नै भयो । त्योबाहेक साँझ परेपछि नाइट बस र ट्रकले सडकमा एकछत्र राज जमाउँदा रहेछन् । बस र ट्रकका कारण साँझमा यात्रा गर्न निकै असहज हुन्थ्यो । विपरीत दिशाबाट बत्तिँदै बेपर्बाह आफ्नो रुट छोडेर कुद्ने बस–ट्रकहरूबाट बच्न हम्मेहम्मे पथ्र्यो । बस–ट्रकका कारण कैयौँ पटक सडक किनारामा हुत्तियौँ । तिनीहरूले बालेका फोकस लाइटले हाम्रा आँखा तिरिमिरी हुन्थे । केही घुमाउरो र साँघरो सडक भएकाले पनि त्यस क्षेत्रमा दुर्घटना हुने सम्भावना पनि उत्तिकै थियो । 

हिँड्दा हिँड्दै बाटैमा झमक्क साँझ परिहाल्यो । बाँकेको गाभर पुग्दा बेलुकीको ७ बजिसकेको थियो । उज्यालोमै गन्तव्यमा पुग्ने योजना त्यो दिन पनि पूरा भएन । लगभग तीन किलोमिटर जति उकालो बाटो कटेपछि त्यति नै दूरीको ओरालो बाटो बाँकी थियो तर ओरालोमा भने त्यति समय लाग्दैनथ्यो । ओरालो आएपछि सङ्गीता निकै खुसी हुन्थिन् । 

उनी भन्थिन्, “ओरालो आयो, अब त स्वर्ग आयो ।” त्यसपछि उनी सबैभन्दा अगाडि फिलिली कुद्न थाल्थिन् । गाभरबाट कुसुम पुग्न सात किलोमिटर जति बाँकी हुँदो हो । सङ्गीताको साइकलको लाइट चार्ज सकिएर झ्याप्प निभ्यो । घनघोर जङ्गलका बिचमा अँध्यारो बाटो लाइटबिना सम्भव पनि थिएन । इन्दिराको लाइटको सहारामा सङ्गीता अन्दाजको भरमा अगाडि पछाडि गर्दै कुदिरहेकी थिइन् । म भने सबैभन्दा पछाडि थिएँ । 

विपरीत दिशातिरबाट बत्तिँदै आइरहेको बसले हामीलाई छोउँला जस्तै गरेर गयो । त्यति नै बेला पछाडिबाट अजङ्गको ट्रक आइरहेको थियो । ट्रकले सङ्गीताको छेउमा पुगेर धुँवाको मुस्लो छोड्यो । सङ्गीता र इन्दिरा धुँवाको मुुस्लोमा रुमल्लिए । मैले आफ्नो अगाडि धुँवाको कालो मुस्लोबाहेक अरू केही देखिन । त्यसै बखत सङ्गीता र इन्दिरा एक आपासमा ठोक्किएर लडेछन् । 


ऐया ! ऐया !! सङ्गीता साइकलले च्यापेको खुट्टा समाउँदै चिच्याइरहेकी थिइन् । म आफ्नो साइकल छेउ लगाएर हत्तपत्त उनीहरू भएतिर गएँ । दुइटै साइकलले सङ्गीतालाई थिचिरहेका थिए । उनी छटपटाइरहेकी थिइन् । मैले बिस्तारै साइकल उठाएर छेउ लगाएँ । सङ्गीताको दायाँपट्टीको घुँडाबाट भलभली रगत बगिरहेको थियो । चोट सामान्य देखिए पनि गहिरो थियो । खुट्टाको अरू भागमा पनि केही नीलडाम थिए । उनी थरथर काँपिरहेकी थिइन् । ‘तिमी ठिक छौ ? कहाँ–कहाँ दुखेको छ ?’ मैले सङ्गीतालाई सोधेँ ।

‘अँ ठिकै छु’, उनले रुन्चे स्वरमा भनिन् 

मैले उनको खुट्टा तन्काइदिएँ । उनी बिस्तारै उठिन् र हिँड्ने कोसिस गरिन् तर दुःखाइका कारण हिँड्न सकिनन् । ‘होसियार भएर साइकल चलाउनु पर्छ नि ! यस्तो जङ्गलमा केही भएको भए ?’ मैले उनलाई सम्झाउँदै भनेँ । ‘झन्डै बाँचियो’, इन्दिरा बोलिन् । 

त्यहाँ नजिकै कुनै अस्पताल पनि थिएन । साँझ पर्नुभन्दा पहिले नै कुसुम प्रहरी चौकीमा खबर गरिसकेकी थिएँ । रात परिसकेको हुँदा प्रहरी हाम्रो सुरक्षार्थ गाभर पुगिसकेका थिए । सङ्गीताको उद्धारका लागि प्रहरीले सहयोग गरे । प्रहरीकै सहयोगमा सङ्गीतालाई गाडीमा पठाएर इन्दिरा र म साइकल गुडाउँदै कुसुम पुग्यौँ । सङ्गीताको साइकल भने एक जना प्रहरी जवानले चलाएर गन्तव्यसम्म पु-याइदिए । त्यो दिन हामी बालबाल बाँचेका थियौँ । हामीमध्ये कुनै एक जनालाई मात्रै केही भइदिएको ? सम्झेर मन गह्रौँ भयो ।

पैदल यात्रा र भोकसँगको लडाइँ

पाँचौँ  दिनको साँझ हामी कुसुमबाट लमही पुग्यौँ । कार्यतालिका अनुसार छैटौँ दिन चन्द्रौटा पुग्नु पथ्र्यो तर बिहानदेखि निरन्तर पानी परेपछि हामी ११ बजेसम्म लमहीमै रोकियौँ । यद्यपि १ बजेसम्म दिउँसोको खाना खान धानखोला पुग्ने लक्ष्य थियो । पानी रोकिएपछि हामीले यात्रा सुरु ग-यो । भालुवाङ कटेपछि अलिकति ओरालो र कालाकाटेदेखि धानखोलासम्म पूरै उकालो बाटो । उकालोमा साइकल तान्न हम्मे–हम्मे भयो । त्यसपछि हामी साइकल डो¥याउँदै हिँड्यौँ । 

उकालो आउनासाथ सङ्गीता भन्थिन्, ‘ए दिदी, उहाँ त फेरि आउनु भयो ।’ ‘को आउनु भो ?’ मैले नबुझेर सोधेँ । ‘उकालो !’ उनले सरल र सटिक उत्तर दिन्थिन् । उनको कुरा सुनेर इन्दिरा र म हाँस्थ्यौँ । उनी पनि हाम्रो हाँसोमा हाँसो मिलाउँथिन् । एवं प्रकारले उकालोमा हाम्रो हँसीमजाक चलिरहन्थ्यो । 

उकालोमै दिउँसोको ३ बज्यो । त्यतिन्जेलसम्म भोकले सीमा नाघिसकेको थियो । इन्दिराको ब्यागमा एउटा जुस रहेछ । हामी तीन जनाले एक–एक घुट्को जुस बाँढेर पियौँ र अघि बढ्यौँ । जङ्गलको यात्रालाई रमाइलो बनाउन जङ्गल घन्किने गरी गीत गाउँथ्यौँ, ‘सङ्घर्षको मैदानमा सारा झिल्का जुट्दैछ...., गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ....’ हाम्रो गीत सुनेर सडकको छेउमा काम गरिरहेका मजदुरहरू खुब हाँस्थे । हामी भने गीत गाउँदै नेटो काट्थ्यौँ । 

धानखोला पुग्दा साँझको ५ बजिसकेको थियो । पाँच बजेसम्म हामी भोकै थियौँ । भोक र थकाइले निकै गलेका पनि थियौँ । वास्तवमा, भोकसँगको लडाइँ अत्यन्तै पेचिलो हुँदोरहेछ । यात्राले हामीलाई भोक चिनाएको थियो ।

मृत्युसँग सामना 

बुटवल नारायणघाट अन्तर्गतको सडक पछिल्ला केही वर्षयताको सबैभन्दा कठिन सडकका रूपमा चिनिँदै आएको छ । कालोपत्रे भत्किएको धुलाम्ये सडक, ठाउँ ठाउँमा अव्यवस्थित ढङ्गले थुपारिएको माटो, गिट्टी र ढुङ्गा, सयभन्दा बढी डाइभर्सन, ठुल्ठुला ट्रक र बस ओहोर–दोहोर गरिरहने अति व्यस्त सडक, त्यसमा पनि दाउन्नेको नाक जस्तो उकालोमा साइकल गुडाएर यात्रा गर्न सम्भव नै थिएन । 

सडकको धुलो कम गर्न कतै–कतै पानी हालिएको हुन्थ्यो । पानी हालिएको ठाउँमा हिलो हुन्थ्यो । हिलोमा कैयौँ पटक हामी साइकलसँगै चिप्लिएर लड्यौँ । बुटवलबाट बर्दघाटसम्म करिब दर्जन पटक लडिएछ । सम्हालिएर हिँड्न खोज्दा पनि बाटोको अवस्थाले हामीलाई चुनौती थपिदिएको थियो । 

करिब ४ बजेतिर बर्दघाटबाट दाउन्नेको उकालो सुरु भयो । अफरोड, त्यसमाथि उकालो । साइकल कुदाउन निकै सास्ती बेहोर्नु प¥यो । घुँडासम्म आउने धुलोका बिचबाट नाकजस्तो उकालो बाटोको यात्रा निकै चुनौतीपूर्ण थियो । धुलोमा साइकल गुडाउन नसकेर हामीले दाउन्नेसम्मको करिब ८ किलोमिटर दुरी हातमा साइकल डो-याउँदै हिँड्यौँ । हामीले बोकेकोे झोला उस्तै भारी थियो । अरू दिनको तुलनामा त्यो दिन यात्रा गर्न निकै कठिन भयो । 

नारायणगढ पुग्दासम्म हाम्रा खुट्टामा कैयौँ चोट थिए । इन्दिराको टर्च फुटेको थियो । हाम्रो जुत्ता माटोले भरिएको थियो । झोला र कपडा धुलाम्ये थिए । हामी एकले अर्कोलाई नचिन्ने अवस्थामा थियौँ । बुटवलदेखि नारायणगढसम्मको यात्रामा हामीले उठाएको जोखिम वास्तवमा मृत्यु पत्रमा हस्ताक्षरित यात्रामध्येको एक थियो । 

नानीको थर के प-यो होला ? 

घाम, पानी, हुरी बताससँगै सयौँ उकालो–ओरालो पार गरेर हामी १४ औँ दिनमा मधेश प्रदेश पुगेका थियौँ । मधेश प्रदेशको यात्रा अन्य दिनको भन्दा अलि सहज थियो । मधेशका मानिसले हामीप्रति देखाएको सद्भाव, हाम्रो यात्रालाई गरेको समर्थन र माया साँच्चिकै अतुलनीय रह्यो । कोशी तरेपछि भने ठाउँ ठाउँमा हाम्रो जात सोध्न थालिएको थियो । इटहरी पुग्न करिब १५ किलोमिटर जति बाँकी हुँदो हो । गर्मीले ब्याकुल भएर हामी केहीबेर चौतारीमा पुगेर रोकियौँ । चौैतारीमा तीन जना पाका व्यक्तिहरू गफिँदै थिए । हामी पुग्नासाथ उनीहरूकोे ध्यान हामीतिर मोडियो । हामी साइकल रोकेर अलि वरै बस्यौँ । ती व्यक्तिहरू हामी भएतिर आए र सोधे, “नानीको थर के प¥यो होला ?” मलाई अनौठो लाग्थ्यो, ‘नाम नसोधी किन थर सोधेको होला ?’ यद्यपि हाम्रो यात्रा जात व्यवस्थाविरुद्धको एउटा कदम थियो ।

पश्चिममा भने हाम्रो जात सोधिएको थिएन । “कहाँ पुग्ने हो ? कहाँबाट आउनु भयो ? पानी प्यास लागेको होला ? भोक लागेको होला ? एकछिन आराम गरेर जानुस्, पानी पिएर जानुस्, खाना खाएर जानुस्...” यस्तै यस्तै सोधिन्थ्यो पश्चिममा । 

यात्रा सम्पन्न गर्दाको खुसी

वैशाख २६ गते साँझ मेची पुलमा पुगेर यात्रा सम्पन्न गर्दा हाम्रो खुसीको सीमा रहेन । हजार बाधा र कठिनाइका बिचबबाट हामीले यात्रा सम्पन्न गरेका थियौँ । त्यससँगै थुप्रै अभाव र चुनौती झेल्दै गन्तव्यमा पुग्नु हाम्रा लागि निकै खुसीको क्षण थियो । मेची पुल हाम्रो अन्तिम गन्तव्य थियो । पुलनेर पुगेपछि म निकै भावुक भएँ । यात्रा सम्पन्न गरेको खुसीमा मेरो आँखामा आँसु भरिएर आयो । सङ्गीता र इन्दिराको आँखामा पनि आँसु छचल्किरहेका थिए । यात्रा सुरु गर्नुपूर्व हामीसँग आर्थिक र भौतिक अभाव दुवै थिए । त्यससँगै साइकलमैत्री सडकको अभाव, महिलामैत्री शौचालय नहुनु, महिनावारीको समस्या, मौसमको प्रतिकूलता जस्ता थुप्रै बाधा र व्यवधान सहेर हामीले यात्रा सम्पन्न गरेका थियौँ ।   

लेखक बाट थप