• १२ वैशाख २०८२, शुक्रबार

रानाथारू सामनको डोला कतै सञ्चालन, कतै अन्योल

blog

धनगढी समाचारदाता

धनगढी, साउन ६ गते । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा परम्परागत सामनको डोला (पिङ) सञ्चालन गर्ने सन्दर्भमा यस वर्ष अन्योलता सिर्जना भएको छ। मलमासका कारण साउन महिनाभरि सञ्चालन गर्ने सामनको डोलाबारे अन्योलता सिर्जना भएको हो। रानाथारू समुदायले साउन महिनामै मनाउने तीज यस पटक भदौ २ गते सारिएको छ। तीजसँगै जोडेर यो समुदायका मानिसले साउन महिनामा सामनको डोला सञ्चालन गरी त्यसमा रमाउने गर्छन्। तर, यो वर्ष सामनको डोला सञ्चालन गर्ने सन्दर्भमा रानाथारू समुदायबिचमै विभाजन देखिएको छ। 

यो समुदायका व्यक्तिका अनुसार कैलाली, कञ्चनपुरका कतिपय गाउँवासीले परम्परा अनुसार नै चल्ने जिकिरसहित साउन महिना सुरु भएसँगै गाउँमा सामनको डोला सञ्चालन गरिसकेका छन्। तर, धेरैजसो गाउँमा मलमासका कारण अन्योलता सिर्जना भएको छ। लालझाँडी गाउँपालिकामा भदौ २ गते तीज मनाउनका लागि उर्दी जारी गरिएको छ। त्योबाहेक अन्य समयमा तीज मनाए कारबाही गर्ने चेतावनी दिइएको बताइएको छ। 

साउनमा मलमास परेपछि नेपाल रानाथारू समाजले भदौ २ गते तीज मनाउन भनेर विज्ञप्ति जारी गरेको थियो। तीज भदौमा परेपछि धेरैजसो गाउँमा सामनको डोला सञ्चालन हुन नसकेको कञ्चनपुरस्थित नयाँ गाउँ होमस्टेका चेतराम रानाले बताउनुभयो। उहाँले भन्नुभयो, “कतै कतै सामनको डोला उद्घाटन भई सञ्चालनमा आइसकेको छ तर धेरैजसो गाउँमा रोकिएको छ। उद्घाटननै भएको छैन।” सामनको डोलाको सम्बन्ध रानाथारू समुदायको तीजसँग जोडिएको छ। तीज आउनुभन्दा १८ दिनअघि नै सामनको डोला सञ्चालन गरेर रमाइलो गर्ने यो समुदायको परम्परागत मान्यता रहेको छ। यस वर्ष भदौमा तीज परेपछि धेरैजसो गाउँमा साउन १७ गते सामनको डोला सञ्चालन हुने रानाले बताउनुभयो। 

नेपाल रानाथारू समाजले असार २८ गते विज्ञप्ति निकालेर भदौ २ गते तीज मनाउन सो समुदायका मानिसका लागि सार्वजनिक सूचना जारी गरेपछि त्यसप्रति राना कला संस्कृति तथा विकास मञ्चले भने आपत्ति जनाएको थियो। सो संस्थाका अध्यक्ष नारायण रानाले समाजले पूरै समुदायको परम्परा र मौलिकतामा दीर्घकालीन ठेस पुग्ने गरी बिनाकुनै अध्ययन हचुवाको भरमा निर्णय गरेर विज्ञप्ति निकालेको जिकिर गर्नुभयो। उहाँले परम्परागत मान्यता अनुसार लौध बाँड्नु उचित, अनुचित जे भए पनि यस वर्ष तीज जस्तो मौलिक पर्वको मितिमा अन्योलता सिर्जना ल्याई समुदायलाई नै पङ्गु बनाउनुका साथै परम्परामाथि ठाडो हस्तक्षेप गर्ने कार्य भएको ठहर गर्नुभयो। 

तीजमा आफ्ना भाइभतिजाको दीर्घायुको कामनाका लागि व्रत बस्ने महिला दिदीबहिनीले सामनको डोलामा रमाउने चलन रहेको छ। उनीहरू साउन महिनाको लगभग १८ दिनसम्म मौलिक गीत गाउँदै सामूहिक रूपमा डोलामा रमाउने गरेको जनाइएको छ। तीजमा व्रतालु महिलाले सामनको डोला अर्थात् पिङमा प्रयोग गरिएको डोरी काटी त्यसको गाँठो (मुरिया) बनाएर नदीमा सेलाएपछि सामनको डोलाको विधिवत् रूपमा समापन हुने गरेको पूर्वप्रदेश सभा सदस्य मालामती रानाले बताउनुभयो। उहाँले भन्नुभयो, “तर रमाइलो गर्न कतै–कतै थप एक हप्तासम्म पनि सामनको डोला सञ्चालन गर्छन्।”