गुणबहादुर रोका
सुलीकोट, साउन ६ गते । भूकम्पको केन्द्रबिन्दु बारपाक सुलीकोट गाउँपालिकाको बारपाकमा भ्युटावर निर्माण गरिएको छ । गोरखाको ऐतिहासिक ठाउँ बारपाकमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्युटावर निर्माण गरिएको हो ।
बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बारपाक घुम्न आउने पर्यटकलाई एकै ठाउँबाट सिङ्गो बारपाक गाउँ र बारपाक वरपरको मनोरम दृश्यको अवलोकन गर्न सक्ने गरी बारपाकमा भ्युटावर निर्माण गरिएको जानकारी दिनुभयो ।
२०७२ साल वैशाख १२ गते मुख्य केन्द्र बनाई ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस ठाउँलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना गाउँपालिकाको रहेको भट्टले बताउनुभयो । पर्यटक बारपाक आउँदा बारपाक गाउँको सौन्दर्यलाई राम्रोसँग नियाल्न सकून् भन्ने उद्देश्यले टावर निर्माण गरिएको हो ।
बारपाक सुलीकोट गाउँपालिका–२, कोटडाँडामा निर्माण भएको भ्युटावर करिब ५४ लाख १३ हजार ३०७ रुपियाँ लागतमा भ्युटावर निर्माण गरिएको बारपाक सुलीकोट गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले जानकारी दिनुभयो । टावरमा फलामको रेलिङ हाल्ने काम पनि सकिएको छ । उहाँले भन्नुभयो, “अब रङरोगनको काम बाँकी छ ।”
टावरको जिम्मा सिराइचुली निर्माण सेवाले ठेक्का पाएको थियो । ठेकदारले काम सम्पन्न गरिसकेको उहाँको भनाइ छ । अहिले भ्युटावरमा रेलिङ राख्ने काम पनि सम्पन्न भइसकेको इन्जिनियर गौतमको भनाइ छ । २०७६ साल माघ २७ गते सम्झौता भएर काम थालेको उक्त टावर झन्डै साँढे तीन वर्षमा काम सकिएको हो । टावरमा जान खुला गरेसँगै बारपाक र वरपरका दृश्यका साथै मनासलु, बौद्ध र गणेश हिमालको अवलोकन गर्न सकिने छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बारपाक गाउँमा करिब एक हजार तीन सय घरधुरी एकै ठाउँमा झुरुप्प बसोबास छ । बारपाकमा अहिले गोरखा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा भूकम्प स्मृति उद्यानसमेत निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।