अविनाश चौधरी
धनगढी, साउन ५ गते । बङ्गुरमा व्यापक रुपमा देखिएको अफ्रिकन स्वाइन फिभर रोग जंगली बँदेलमा पनि फैलिन थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार लुम्बिनी प्रदेशस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा पनि जंगली बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ ।
यसअघि फागुन १९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा फेला परेको बँदेलमा नेपालमै पहिलो पटक अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा मृत भेटिएका बँदेलको नमूना जाँचगर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार गत साता बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा बँदेल फेला परेपछि निकुञ्जका पशु चिकित्सक डा. प्रेमिशा श्रेष्ठको टोलीले पोष्टमार्टम गरेर परीक्षणका लागि नमूना प्रयोगशालामा पठाएको थियो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आरटी पीसीआर विधिबाट परीक्षण गरेर अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको डा. जोशीले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय आसपासमा एउटा माउ र बच्चा बँदेल मरेको फेला परेको थियो । त्यसपछि शङ्का लागेर जाँचका लागि नमूना धनगढी प्रयोगशालामार्फत केन्द्रीय प्रयोगशालामा पठाएको निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार निकुञ्ज हेडक्र्वाटर आसपास थप केही बँदेल पनि झोक्रिएको देखिएका थिए । तर, मरेको फेला परेका छैनन् । निकुञ्जभित्रका बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि भित्र निगरानी गर्नेे र बाहिर बस्तीमा सचेत पार्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
“बँदेलमा भएको रोग घरपालुवा बंगुरमा नपुगोस् भनेर हामीले बस्तीमा सचेत रहन र बँदेलको नजिक बंगुर जानबाट जोगाउन आग्रह गरेका छौं” उहाँले भन्नुभयो । निकुञ्जको सुर्खेतमध्ये क्षेत्रतिर धेरै बँदेल रहेको जनाइएको छ । हेडक्वार्टर क्षेत्रको बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि निकुञ्जले त्यतातिर पनि सचेत पारेको छ ।
“हेडक्वार्टर आसपासमै बस्ने बँदेलमा मात्रै देखिएको हो भने त निगरानी गर्न र आइसोलेसनमा राख्न सकिन्छ” उहाँले थप्नुभयो, “तर, निकुञ्जको अन्य क्षेत्रका बँदेलमा पनि यो रोग पुगेको छ भने ठुलो नोक्सान हुन सक्छ ।”
उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि ठाकुरबाबा नगरपालिकासँग समन्वय गरेर सचेतना फैलाउने कार्य गरिरहेको बताउनुभयो । यसअघि, सो क्षेत्रमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको जनाइएको छ । बङ्गुरबाटै बँदेलमा रोग पुगेको हो कि भन्ने निकुञ्जको आशंका छ ।
अफ्रिकन स्वाइन फिभर बङ्गुर र बँदेलबाहेक अन्य जीवजन्तुमा नलाग्ने जनाइएको छ । यो रोग लागेमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्रीसम्म) आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, धर्मराउने, गर्भ तुहिनेजस्ता लक्षण देखापर्ने गरेको जनाइएको छ ।