• ११ असोज २०८१, शुक्रबार

हिरासतमै थुनुवा महिलाद्वारा आत्महत्या

blog

फाइल तस्बिर

जनार्जन खत्री

सर्लाही, साउन ५ गते । सर्लाहीमा एक थुनुवा महिलाले जिल्ला प्रहरी कार्यालयको हिरासतमै आत्महत्या गर्नुभएको छ । प्रहरीले स्रोत नखुलेको रकम र अवैध चाँदीसहित पक्राउ गरेको चक्रघट्टा गाउँपालिका –८, बस्ने ४० वर्षीया हजरत खातुनले प्रहरी हिरासतको शौचालयमा सलको पासो लगाएर आत्महत्या गर्नुभएको हो । 

साउन १ गते सदरमुकाम मलङ्गवाको झिलमिलियामाई मन्दिर नजिक स्रोत नखुलेको पाँच लाख चार हजार नेपाली रुपियाँ र ५७७ ग्राम अवैध चाँदीसहित प्रहरी गस्ती टोलीले खातुन र चक्रघट्टा गाउँपालिका –८, कै रामकेवल रायलाई पक्राउ गरेको थियो । 

चार दिनदेखि प्रहरी हिरासतमा रहनुभएकी खातुनले बिहीबार मध्यराति प्रहरी हिरासत (महिला थुनुवा कक्ष) को शौचालयमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ । राति लामो समयसम्म शौचालयको ढोका नखोलेपछि ढोका फोडेर हेर्दा खातुनलाई झुण्डिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।  

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक महिलाका परिवार र माइती पक्ष सम्पर्कमा आइसकेका छन् । खातुनसँगै अवैध रकम र चाँदीसहित पक्राउ परेका रामकेवल राय भने प्रहरी हिरासतमै रहेको प्रहरीले जनाएको छ ।