• १२ वैशाख २०८२, शुक्रबार

वन फँडानीमा संलग्नलाई छाडिन्न : मन्त्री धामी

blog

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी सामुदायिक वनको निरीक्षणमा । तस्बिर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), साउन ५ गते । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले वन फँडानी गर्ने जोसुकै भए पनि नछोडिने बताउनुभएको छ । 

कैलालीको गोदावरी नगरपालिका –१२, रातोपानी सामुदायिक वनको निरीक्षणलगत्तै शुक्रबार पत्रकारसँगको भेटघाटमा मन्त्री धामीले सो कुरा बताउनुभएको हो । वन क्षेत्रमा व्यापक रुपमा रुख कटान गरी काठ तस्करी भइरहेको उपभोक्ताले गुनासो गरेपछि मन्त्रालयका सचिव वेकुमार ढकालसहितको टोली लिएर मन्त्री धामी रातोपानी सामुदायिक वनको निरीक्षण तथा अनुगमनमा जानुभएको थियो । 

मन्त्री धामीले छानबिन गरेर वन फडानीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘वन फँडानी भएको देखिएको छ, फँडानी गर्ने जोसुकै भए पनि कारवाहीको दायरामा ल्याइनेछ, मन्त्रालयले यसको छानबिन गर्छ । संलग्नलाई कारवाही हुन्छ ।’ 

मन्त्रीसहितको टोलीले सामुदायिक वनभित्र रुख कटान गरिएको केही क्षेत्रको निरीक्षण गरेको मन्त्री धामीका स्वकीय सचिव रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको स्थानीय उपभोक्ताले बताउनुभएको छ । सामुदायिक वनका पदाधिकारीको संलग्नतामा वन फँडानी भएको उपभोक्ताको आरोप छ । 

रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य पक्राउ परेका छन् । उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर बिकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सव वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ । 

वन फडानी भएको खबरपछि केही दिनअघि निरीक्षणमा गएको टोलीले दुई जनालाई पक्राउ गर्नुकासाथै दुईसय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सव वन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिनुभयो । उहाँले वन फँडानीमा सामुदायिक वनका पदाधिकारीको संलग्नता रहेको बताउनुभयो ।