• ४ पुस २०८१, बिहिबार

मधेश प्रदेशवासीको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छ : मन्त्री शर्मा

blog

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

जनकपुर, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ । 

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले गणतन्त्र, सङ्घीयता र समावेशिताको अर्थ नै विभेदको अन्त्य गर्नु भएको पनि स्पष्ट पार्नुभयो । राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको मधेश प्रदेशमा सामाजिक परिवर्तन आवश्यक रहेको औल्याउँदै उहाँले त्यसका लागि योजनाबद्ध काम अघि बढाएको बताउनुभयो । 


आमा बाबु नागरिक तर छोराछोरी गैरनागरिक बन्ने अवस्थाको अन्त्य गर्न सरकार सफल भएको उल्लेख गर्दै मन्त्री शर्माले मधेश प्रदेशका धेरै जनताले यसबाट न्याय पाएको पाएको बताउनुभयो । नयाँ प्रावधान अनुसार नागरिकता वितरणमा जनशक्ति अभाव भए अतिरिक्त जनशक्ति थप गरेरै भए पनि शीघ्र काम अघि बढाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको पनि उहाँले जानकारी दिनुभयो । 

मधेश प्रदेशका बासिन्दाले भोग्दै आएको अर्को ठुलो समस्या मिटरब्याजको समस्या पनि सरकारले समाधान गरेको उल्लेख गर्दै उहाँले सामन्तवादका अवशेषका रुपमा रहेका अन्य विभेदजन्य प्रथाको अन्त्य गर्न पनि सरकार गम्भीर भएर लागेको बताउनुभयो । सुशासन, समृद्धि र सामाजिक न्याय नै वर्तमान सरकारको अभिष्ट भएको स्पष्ट गर्दै मन्त्री शर्माले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनकाण्डलगायतका ठुलाठुला अनियमितताका घटनामा छानबिन अघि बढाइएको बताउनुभयो । 


नेपालमा गलतरुपमा स्थापित भइरहेको ठुलालाई चैन र सानालाई ऐन भन्ने तथ्यलाई गलत सावित गर्दै गल्ती गर्ने जोकोही पनि सजायको भागीदार हुनुपर्छ भन्ने तथ्य स्थापित गर्न सरकार सफल भएको भन्दै उहाँले यसले जनतालाई आशावादी र बलियो बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

यी केही सुरुवात भएको उल्लेख गर्दै उहाँले सरकार यस्ता सुधारका कार्यक्रम तीव्र रुपमा विस्तार गर्ने सोचमा रहेको बताउनुभयो । सुशासन, समृद्धि र सामाजिक न्यायका लागि सरकारले थालेको अभियानमा जनताको ठूलो समर्थन प्राप्त भइहेको उल्लेख गर्दै मन्त्री शर्माले जनता र सरकार अझै दरिलो सम्बन्धमा जोडिन आवश्यक रहेको बताउनुभयो । सरकारलाई अझ राम्रो कामका लागि जनताको साथ समर्थन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।