• ११ मंसिर २०८१, मङ्गलबार

निर्माता बन्दै ‘बले’

blog

काठमाडौँ , साउन ५ गते । सागर लम्साल (बले) सानो पर्दाको सफल अभिनेता मानिनुहुन्छ । ‘बले’ को सानो पर्दाको यात्रा २०७० सालबाट  टेलिचलचित्र ‘भद्रगोल’ मार्फत सुरु भएको हो । भद्रगोलमा उहाँले छ वर्षसम्म लगातार अभिनेताका रूपमा काम गर्नुभयो । त्यसपछि भद्रगोलको टिमले अर्को टेलिचलचित्र ‘सक्किगोनी’ निर्माण सुरु ग-यो । ती टेलिचलचित्रमा सागर (बले) पात्रका रूपमा दर्शकमाझ सर्वाधिक लोकप्रिय हुनुहुन्छ । 

सानो पर्दादेखि केही ठुलो पर्दामा पनि अभिनयमा सफलता हासिल गरेपछि उहाँ चलचित्र निर्माणमा लाग्नुभएको छ । आफ्नो नयाँ चलचित्रका कलाकारका बारेमा उहाँले भन्नुहुन्छ, “हाम्रो टिम त यसमा हुन्छ नै । अहिलेका केही कलाकार पनि जोडिनु हुने छ । चलचित्र हास्य विधाको नै हुने छ । चलचित्रको स्क्रिप्ट  लेखन भइरहेको छ ।” 

एक दशकअघि अभिनेता लम्सालले चलचित्र ‘लोफर’ मा दुई अभिनेता आर्यन सिग्देल र दयाहाङ राईसँग अभिनय गर्नुभएको थियो । यहीँबाट सागरको ठुलो पर्दाको चलचित्रको यात्रा सुरु भयो । एकपछि अर्को चलचित्रमा उहाँको अभिनय दर्शकले हेर्न पाए । ‘लोफर’ पछि लगत्तै अर्को चलचित्र ‘लज्जा‘ मा अभिनय गर्नुभयो । नवल नेपाल निर्देशित चलचित्रमा पनि उहाँको अभिनयले दर्शकबाट राम्रो प्रशंसा बटुल्यो । त्यसपछि उहाँले विश्वकै कान्छा उमेरका निर्देशक सौगात विष्ट निर्देशित चलचित्र ‘हैरान’ मा मुख्य नायककै रूपमा अभिनय गर्नुभयो । 

अब भने उहाँ मोडलिङ र अभिनयसँगै चलचित्र निर्माणको तयारीमा पनि हुनुहुन्छ । यद्यपि चलचित्र निर्माण उहाँका लागि नयाँ अध्याय हो । बले इन्टरटेन्मेन्टमार्फत आफू चलचित्र निर्माणको तयारीमा जुटेको उहाँ बताउनुहुन्छ । उहाँ सर्वाधिक महँगो मोडलको सूचीमा पर्नुहुन्छ ।