• १३ पुस २०८१, शनिबार

प्रत्यक्ष प्रसारणले देखाएको हार्दिकता

blog

काठमाडौँ, साउन ५ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा तेस्रो दिनको सुरुवातमै केन्द्रीय सदस्यले पदाधिकारीका कामकारबाहीको आलोचना गरे । बिहीबारको बैठकमा बोल्ने ३५ जना केन्द्रीय सदस्यले नेतृत्वको आलोचना र सचेत गराउँदै बैठकलाई तताइरहेका थिए । 

बैठक उत्तरार्धतर्फ चल्दै थियो । एकाएक माहोल खुसियालीमा बदलियो । पार्टीका महामन्त्री गगन थापाको जन्मदिनका अवसरमा सभापति शेरबहादुर देउवाले बैठकका रूप नै फेरिदिनुभयो । इतिहासमा बिरलै देखिने यस्तो दृश्य केन्द्रीय सदस्यले मात्रै नभएर नेपाली कांग्रेसको फेसबुक पेजमार्फत विश्वका कुनाकाप्चाबाट पनि लाखौँले हेर्न पाए । 

सदैव आफूलाई संसदीय दलमा चुनौती दिएका महामन्त्री थापाको जन्मदिनमा सभापति देउवा निकै हँसिलो मुद्रामा देखिनुहुन्थ्यो । उहाँले खादा ओढाएर थापालाई सम्मान गर्नुभयो र शुभकामना दिनुभयो । त्यसपछि पालैपालो केन्द्रीय नेताले थापालाई जन्मदिनको शुभकामना दिए । 

सभापति देउवाले महामन्त्री थापाको जन्मदिन थाहा पाएर सरप्राइज दिन पहिला नै ‘बर्थ डे’ केकको अर्डर दिइसक्नुभएको रहेछ । केक आएपछि माहोल एकाएक रोमाञ्चित बन्यो । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकलाई देशविदेशबाट प्रत्यक्ष प्रसारण हेरिरहेकाले थापाको जन्मदिनमा देउवाको सरप्राइज सेलिबे्रसनलाई राम्रोसँग हेर्न पाए ।  महामन्त्री थापाले केक काटेपछि देउवाले उहाँलाई केक खुवाएरर एक टुक्रा आफूले पनि खानुभयो । त्यसपछि माहोल झनै उल्लासमय बन्यो । महामन्त्री थापाले कृतज्ञतासहित सभापति देउवालाई धन्यवाद दिनुभयो । 

राजनीतिमा आत्मीयताको यस्तो दृश्य नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पेस भयो । त्यो हेर्न मौका पाएका सर्वसाधारण भने प्रत्यक्ष प्रसारणले सभापति देउवा र महामन्त्री थापाको हार्दिकताप्रति रमाए । 

एक वर्षपछि भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चर्चामा आउनुको एउटा कारण नेपाली कांग्रेसकै फेसबुक पेजमार्फत गरिएको प्रत्यक्ष प्रसारण पनि थियो । एक वर्षपछि भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको चर्काे आलोचना गर्नु स्वाभाविक पनि थियो । आलोचना हुनेमा महामन्त्री थापा पनि हुनुहुन्थ्यो । 

प्रत्यक्ष प्रसारण पार्टीका आन्तरिक बैठकमा कुन नेता कसरी प्रस्तुत हुन्छन् भनेर आमजनताले मूल्याङ्कन गर्ने अवसर पनि बन्यो । प्रत्यक्ष प्रसारणमार्फत नेता तथा कार्यकर्ताले स्वमूल्याङ्कनको मौका पनि पाएका छन् । 

यसअघि केन्द्रीय प्रवक्ताले बैठकमा हुने छलफल तथा एजेन्डाको जानकारी गराउने गरे पनि नेपाली कांग्रेसले इतिहासमै पहिलो पटक बैठकको प्रत्यक्ष प्रसारण गरेपछि त्यसका सकारात्मक चर्चा भएका छन् । बैठकको तेस्रो दिन ३५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । बैठक शुक्रबार पुनः बस्ने छ ।