• १५ मंसिर २०८१, शनिबार

‘अर्थतन्त्रका चुनौती सामना गर्नेगरी मौद्रिक नीति आउनुपर्छ’

blog

पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ४ गते । पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पौडेलले सो सुझाव दिनुभएको हो । आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको उहाँको भनाइ छ । 

कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई कि त्रिशूल भनेजस्तो छान्न सकिने विषय नभएको उहाँले बताउनुभयो । उहाँले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैङ्कले ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरूले दिएको उहाँले बताउनुभयो । 

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने उहाँको भनाइ छ । 

दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउन चुनौती सिर्जना गर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच अन्तर्विरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गर्नुभयो ।