• २३ असार २०८२, सोमबार

उपप्रधानमन्त्री खड्कासँग कोरियाका राजदूत योङको भेटवार्ता

blog

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गर्नुहुँदै गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङ । तस्बिर : रक्षा मन्त्रालय

काठमाडौं, साउन ४ गते ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री खड्कालाई भेट्न राजदूत योङ बिहीबार दिउँसो रक्षा मन्त्रालय सिंहदरबारमा पुग्नुभएको हो । 

भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउन कोरिया सरकारले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले गणतन्त्र कोरियाका राजदूतको कार्यकालको सफलताको लागि शुभकामना दिनुभएको रक्षा मन्त्रालयले भेटपछि सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । 

नेपाल र कोरियाका जनताबीच सद्‍भाव, स्नेह र एकता रहेको उहाँको भनाइ थियो । भेटमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्काले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पुगेको अवसरमा दुई देशको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन दुई देशले काठमाडौं र सियोलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो। 

साथै, मित्रराष्ट्र कोरिया लामो समयदेखिको भरपर्दो विकास साझेदार भएको कुरा स्मरण गर्दै ऊर्जा, शिक्षा, स्वास्थ्य, मानव संसाधन र ग्रामीण विकासमा कोरिया सरकारले गरेको सहयोग नेपालको आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण भएको धारणा समेत व्यक्त गर्नुभयो। मन्त्री खड्काले नेपाली युवालाई ठुलो सङ्ख्यामा रोजगारी उपलब्ध गराएकोमा कोरिया सरकारलाई धन्यवाद दिनुभएको छ । दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सोही अवसरमा राजदूतले समय उपलब्ध गराउनु भएकोमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलाई धन्यवाद व्यक्त गर्नुभयो। रक्षामन्त्री खड्काले कोरियाली पर्यटकका लागि नेपाल प्राथमिकतामा रहेकोले आफ्नो कार्यकालमा कोरियाली पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने विचार व्यक्त गर्नुभयो। सो अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीका साथै कोरियन दूतावासका प्रतिनिधिको उपस्थिति रहेकाे रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।