गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित लाओस् राईद्वारा लिखित पुस्तक ‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
देशमा दण्डहीनताले सीमा नाघेको उहाँको भनाइ छ । राजनीतिक मुद्दा वा जुनसुकै मुद्दामा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताउनुभयो ।
देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको उहाँको भनाइ छ । लोकरिझाइँको राजनीतिले देशलाई बिगारिसकेको उहाँले बताउनुभयो ।
लोकरिझाइँको राजनीति भविष्यमा देशका लागि घातक हुने उहाँको बुझाइ छ । नेता कोइरालाले देशमा भ्रष्टाचार अन्त्य नहुन्जेल देशको विकास सम्भव नहुने चर्चा गर्नुभयो ।
“नेपालको राजनीतिक परिस्थिति नाजुक भइरहेको छ । आर्थिक क्षेत्र हेर्नुस्, शैक्षिक क्षेत्र हेर्नुस्, सामाजिक, सांस्कृतिक कुनै क्षेत्र पनि अछुतो छैन” नेता कोइरालाले थप्नुभयो, “यस्तो बेलामा हामी लोकतन्त्रवादीहरू जुनसुकै पार्टीका होऔँ, लोकतन्त्रमा विश्वास गर्नेहरूले भ्रष्टाचार अन्त्य गर्न लाग्नैपर्छ ।”
नेता कोइरालाले नेपालमा २०६२–६३ पछि नै दण्डहीनताका घटनाहरू बढ्दै गइरहेको चर्चा गर्नुभयो । नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणलाई निचोडमा नपुगाएसम्म देशको स्थिति सहज नबन्ने बताउनुभयो ।