• १३ पुस २०८१, शनिबार

कांग्रेस बैठक: ‘घर–घर जाऔं, सदस्य बनाऔं’ बारे छलफल

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति । फाइल तस्बिर

काठमाडौं, साउन ४ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔँ, सदस्य बनाऔँ’ भन्ने अभियानबारे छलफल भएको छ । 

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा साउन २ गतेदेखि सुरु भएको बैठकमा नेताले धारणा राख्ने क्रममा केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेस पुरानै शैली र परिपार्टीबाट चल्न नहुने बताउनुभयो । 

आचार्यले भन्नुभयो, “महामन्त्रीमार्फत जुन दश एजेण्डा छन्, १४औँ महाधिवेशनको एजेण्डा एकता, उत्साह र रूपान्तरण थियो । केन्द्रीय समितिको बैठक पनि बसेको अवस्था थिएन, कुनै पनि अभियान नभएपछि हामी सातै प्रदेशमा जाऔँ र छलफल गर्‍यौँ । समाधानका लागि के गर्दा हुन्छ भनेर टिपोट गर्‍यौँ र बुझाएका पनि छौँ । धेरै गहन सुझाव आएको छ । यसलाई मनन गर्न अनुरोध गर्दछु ।”

उहाँले कांग्रेस रूपान्तरणका लागि एजेण्डासहितको कांग्रेस (एसी), आधारसहितको बेस कांग्रेस (बीसी), भ्रष्टाचारमुक्त र सुशासनयुक्त क्लियर कांग्रेस (सीसी) र डिजिटल कांग्रेस (डिसी) बनाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “एजेण्डा कांग्रेसमा जाऔँ । बेस कांग्रेस जगको कांग्रेसलाई विश्वास गरौँ । नेता, उम्मेदवार छान्दा जगको सदस्यको सुझावको आधारमा जाऔँ । सीसी क्लिन कांग्रेस बनाऔँ भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पर्यावरणमैत्री ।” 

उहाँले घर–घरमा गएर सदस्य बनाउने प्रस्तावलाई व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । 

केन्द्रीय सदस्य उदय शमशेर राणाले समस्या पर्दा पार्टीभित्रै खुच्चिङ गर्ने समस्या रहेको औँल्याउनुभयो । राणाले भन्नुभयो, “हाम्रो पार्टीभित्र समस्या पर्दा आफैँले खुच्चिङ भन्ने, अरू केन्द्रीय समितिका साथीहरूले । नेपाली कांग्रेसको स्थापना दिवस माघ १२ गते भनिएको छ । त्यो नेपाली राष्ट्रिय कांग्रेस एउटा बीपी कोइरालाले नेतृत्व गरे नेपाल प्रजातान्त्रिक कांग्रेस । त्यसैले हामीले इतिहास मेटाउन हुँदैन । हिस्टोरिकल फ्याक्टमा खेलबाड गर्न हुँदैन ।”

केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले सात लाख क्रियाशील सदस्य थप्ने कुरा उठ्दा पुराना क्रियाशील सदस्यको अवस्थाबारे पनि ध्यान दिनुपर्ने बताउनुभयो । शेर्पाले भन्नुभयो, “क्रियाशील सदस्य सात लाख थप्ने, पुराना क्रियाशील सदस्यको अवस्था के छ ? किन सक्रिय हुन सक्नुभएको छैन । कार्यकर्ता ३० प्रतिशतभन्दा बढी निष्क्रिय छ । हिजो विभिन्न वडामा, जिम्मेवारीमा भएका साथी निष्क्रिय भए किनभने पार्टीमा असन्तुष्टि छ । नियोजित वितरण हुन सकेको छैन ।”

उहाँले कांग्रेसको सुरुदेखि अहिलेसम्म योगदान पुर्‍याएका नेताहरूको अभिलेखीकरण गर्नुपर्ने बताउनुभयो । देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको छ ।

बैठकमा पार्टी सभापतिले धारणा राख्नुहुने सदस्यको नाम बोलाउने र वक्ताको लागि सीमित समयमा घण्टी बज्ने व्यवस्था मिलाइएको छ ।