अमृतप्रसाद पौडेल
म्याग्दी, साउन ४ गते । गण्डकी प्रदेशकै लाइफलाइनको रुपमा रहेको बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत निकै सास्ती हुने रुप्सेमा निर्माण भएको बेलिब्रिज बिहीबारबाट सञ्चालनमा आएको छ । कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्सेमा बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।
उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका गराउनका खातिर बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेलिब्रिज बिहीबारदेखि पूर्णरुपमा सञ्चालन भएको हो । वि.स २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले तत्कालीन अवस्थामा रहेको पुलमा क्षति पुगेको थियो । त्यसपछि बेलिब्रिज निर्माणका साथै सडक निर्माण र पहिरो पनि पन्छाउने काम सुरू गरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका फिल्ड सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो।
बेलिब्रिजको सम्पूर्ण निर्माण सकेर सवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको छ भने बर्खाको समयमा यात्रुलाई सहज भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो । वर्षात्को समयमा रुप्सेमा सधैँजसो अवरोध हुने गरेकोमा बेलिब्रिज निर्माणपछि सास्ती हट्ने अपेक्ष गरिएको प्रजिअ केसीले बताउनुभयो ।
पुलमाथि गाडी गुडाएर परीक्षणपछि एकपटकमा १८ टनभन्दा माथिका मालवाहक सवारीलाई भने आउजाउमा रोक लगाइएको बेनी-जोमसोम-कोरला कालिगण्डकी करिडोर सडक योजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । बेनी-जोमसोम सडक खण्ड अन्तर्गतकै तिप्ल्याङस्थित कालिगण्डकी नदीमाथि बनेको बेलिब्रिज त्यहाँ अर्को पक्की पुल बनेपछि प्रयोगविहीन भएकोमा त्यहाँबाट ल्याएर रुप्सेम हालिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, पुलको भारवहन क्षमताले थेग्न सक्ने सवारी मात्रै आवतजावत गर्न मिल्ने भएकाले तोकिएको क्षमताभन्दा बढीको सवारीसाधन गुडाएमा कारबाही गरिनेछ ।