• १४ वैशाख २०८१, शुक्रबार

कागती खेतीमा स्थानीय

blog

प्रनिश गिरी

कुस्मा (पर्वत), साउन ३ गते । बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने बा.न.पा १२ मा एउटा सहेला गाउँका स्थानीय व्यावसायिक कागती खेतीमा जुटेका छन्। गाउँका ५५ जना सर्वसाधारण मिलेर करिब साढे दुई सय रोपनी भिरालो जग्गामा खेती सुरु गरेका हुन्।

यहाँ चार हजार दुई सय कागतीका बेर्ना रोपिएका छन्। कागती खेतीबाट वार्षिक एक करोडसम्म कमाउने लक्ष्य राखिएको छ । रोपिएका बेर्नामध्ये एक हजार कलमी बिरुवा छन् भने बाँकी बिजु बिरुवा हुन्। रोपेको तीन वर्षमा कागतीका बोटमा यतिखेर फूल लाग्दै गरेको देखिन्छ। कागती खेती गर्नु पहिले उक्त क्षेत्रको अधिकांश जग्गामा धान खेती गर्ने गरिएको  थियो। युवाको विदेश पलायनले जग्गा बाँझो रहन थालेको थियो। 

गाउँका सबै कृषक मिलेर ‘चासो कृषि समूह’ गठन गरी कागती खेती गर्न थालिएको हो। अगुवा कृषक केशव सुवेदी भन्नुहुन्छ, “हामीलाई प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाले चक्लाबन्दी खेती प्रणालीको महत्व बुझाएपछि कागती खेती गर्न जाँगर चलेको हो। पहिले सुन्तला खेती गर्न मन थियो तर प्राविधिक तवरबाट कागती उपयुक्त हुने भनेपछि यसतिर लागियो। हामीलाई कृषि अनुदान र प्राविधिक सहयोग पनि मिलेको छ।” 

कृषि समूहले सुन प्रजातिको कागतीको व्यावसायिक खेती करिब ९० लाख रुपियाँको लगानीमा सुरु गरेको हो। लगानीमध्ये आधा रकम कृषि समूहलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङलगायतको अनुदान सहयोग छ। कृषि समूहमा ५५ जना सेयर सदस्य छन्। सेयर सदस्यले आफ्नो आर्थिक क्षमता अनुसार लगानी गरेका छन्। कृषि समूहका सदस्य रहेका शोभाराम सुवदीले खेती गरेको तीन वर्ष पुगिसक्दा एक बोटका लागि कम्तीमा पनि २० हजार लगानी भएको र एक बोटले अनुमानित एक सिजनमा २५ देखि ४० केजीसम्म कागती उत्पादन गर्न सक्ने आकलन गरिएको बताउनुभयो। सबै बोटबाट कम्तीमा पनि एक सय मेट्रिक टन कागती उत्पादन गर्दा वर्षमा एक करोड आम्दानी गर्न सजिलै सकिने उहाँको भनाइ छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख सुजित पौडेलले सबै कृषक सामूहिक रूपमा मिलेर चक्लाबन्दी खेती प्रणालीमा लाग्नुले बाँझो जग्गाको सदुपयोग हुने बताउनुभयो। व्यवस्थापकीय पक्षको लागत कम हुने र ठूलो परिमाणमा उत्पादन गरिँदा पछि बजारीकरणमा पनि सहज हुने बताउनुभयो।