‘शारीरिक, मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु’ भनेर विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यको परिभाषा गरेको छ। शारीरिक स्वास्थ्यबारे जताततै कुरा गरिए पनि मानसिक स्वास्थ्यको बारेमा त्यति साह्रो चर्चा हुने गरेको पाइँदैन। त्यसमा पनि ज्येष्ठ नागरिकको मनोविज्ञानको कुरा त धेरै परको विषयको रूपमा हेर्ने गरिन्छ। मनोविज्ञानका विभिन्न शाखामध्ये ज्येष्ठ नागरिक मनोविज्ञान अर्थात् ‘जेरो साइकोलोजी’ पनि मनोविज्ञानको एक शाखा हो, जसले वृद्धवृद्धा तथा वयस्कको मानसिक अवस्था तथा समस्या (चिन्ता, उदासीनता, डर, अनिद्रा आदि) को मनोवैज्ञानिक पद्धतिद्वारा समाधान गर्न मद्दत गर्छ।
मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको चासो र सरोकार हुनु अति आवश्यक हुँदाहुँदै पनि यो क्षेत्रमा न त आवश्यक जनशक्ति छ न त आवश्यक जनचेतना नै। त्यसैले देशका कतिपय भू–भागमा मानसिक स्वास्थ्य समस्यालाई देवी देवताको श्राप, पूर्वजन्मको पापको संज्ञा दिने, झारफुक गर्ने, रोगीलाई बाँधेर वा थुनेर राख्ने चलन अझै पनि विद्यमान रूपमा रहिरहेका छन्। यो विषयमा पर्याप्त मात्रामा अध्ययन, अनुसन्धान भएका छैनन्, जसले गर्दा वास्तविक तथ्यगत कुरा लुकेर रहेका छन्।
मानसिक स्वास्थ्य समस्यालाई सुरुवाती अवस्थामै पहिचान गर्न सकियो र आवश्यक उपचार गर्न सकियो भने धेरै मानसिक समस्यालाई पूर्ण रूपमा निको पार्न सकिन्छ। तर रोग लुकाउने, समयमा उपचार नगरेको अवस्थामा भने सामान्य समस्या पनि जटिल बन्दै जाँदा घातक परिणाम देखा पर्न सक्छन्। कतिपय मानसिक स्वास्थ्य समस्या त मनोपरामर्श र मनोवैज्ञानिक उपचार पद्धतिबाट समेत निको पार्न सकिन्छ। जब हामीलाई साधारण रुघा वा ज्वरो आउँछ तब हामी सजिलोसँग अस्पताल जान्छौँ, औषधी खान्छाँै। यसमा कसैलाई केही अफ्ठेरो हुँदैन वा लाज लाग्दैन तर हामीलाई एक्लोपन, चिन्ता या उदासीनता आदि जस्ता मनोवैज्ञानिक समस्या हुदाँ हामी उपचार गर्न वा खुलेर समस्याका कुरा गर्न किन हिचकिचाउँछौँ ? किन लाज मान्छौँ ? जब कि उपचार पनि छ, औषधी पनि छ। मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेरकालाई र जो कोहीलाई पनि हुन सक्दछ। उमेर अनुसार रोगको प्रकृति र लक्षण फरक फरक होलान् तर समस्या सबै उमेर समूहमा हुन सक्दछ।
नेपालको संविधान २०७२ ले ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ। मानसिक स्वास्थ्य समस्याका बारेमा कुरा गर्दा यो एउटा जोखिमको उमेर हो। विश्व स्वास्थ्य सङ्गठनले ६० वर्ष वा सोभन्दा माथिका लगभग १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक विकारबाट पीडित छन् भन्ने तथ्य प्रस्तुत गरेको छ। ज्येष्ठ नागरिकमा देखापर्ने मानसिक समस्यामा उदासीनता, चिन्ता, तनाव, आघात, समायोजन, लागु पदार्थ दुरुपयोग आदि पर्दछन्। सामान्यतया यो अवस्थामा मानसिक स्वास्थ्यमा समस्या बढ्नुका केही कारणमा शारीरिक परिवर्तन, एक्लोपन, परनिर्भरता, अवकाश पछिको योजना नहुनु साथै शारीरिक रोगहरू र अनिद्रा आदि पर्दछन्। त्यस्तै अहिलेको समयानुकूल नयाँ प्रविधिबारे जानकार नहुँदा र बढी चिन्ता लिने बानीले गर्दा पनि ज्येष्ठ नागरिकमा मानसिक समस्याले सताउने गरेको पाइएको छ। यसै गरी ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहार (शारीरिक, मानसिक, आर्थिक, यौन र हेला) पनि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या वृद्धिका कारक तत्वमा पर्दछन्। साथै समय समयमा देखा पर्ने महामारी, प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनका असरले पनि ज्येष्ठ नागरिकमा मानसिक समस्या बढ्ने गरेको पाइन्छ। यीबाहेक ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या वृद्धि हुने अन्य कारणमा वंशानुगत, पोषण, व्यायाम तथा योगको कमी आदि पनि पर्दछन्।
ज्येष्ठ नागरिकमा देखिने मानसिक सामस्याका लक्षणमा टाउको दुख्ने, वस्तुको उपस्थिति बिना वस्तुको आभास हुने, आधार नभएको कुरामा अटुट रूपमा गलत विश्वास गर्ने लक्षणहरू पर्दछन्। यसै गरी हातगोडा झमझम हुने, टोलाउने, एकोहोरो हुने, अनिद्रा साथै निद्रामा बरबराउने र हिँड्ने, एउटै काम दोहो¥याइरहने आदि लक्षण देखिने गर्दछन्।
नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा २०७२ सालको भूकम्प र २०७६ सालको कोरोना महामारी पछि मानसिक स्वास्थ्यले बिस्तारै महत्व पाउन थालेको छ तर त्यो पर्याप्त भने छैन। नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घसंस्था एकदम कम छन्। तिनीहरूमा पनि प्रायः बालबालिका, किशोरकिशोरी तथा महिलामा मात्र सीमित छन्। परामर्श सेवा तथा तालिम कार्यक्रम पनि यिनै वर्ग लक्षित छन्। यसरी अहिलेसम्मको अवस्था हेर्दा ज्येष्ठ नागरिकलाई लक्षित गरेर मानसिक स्वास्थ्य विषयमा कुनै पनि परामर्श सेवा तथा तालिम कार्यक्रम सञ्चालन गरिएका छैनन्। यसका लागि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यका विषयमा पनि चासो राख्न जरुरी छ।
ज्येष्ठ नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्न परिवारका सदस्य तथा स्वयं ज्येष्ठ नागरिकको ठुलो भूमिका रहेको छ। परिवारका सदस्यले उनीहरूसँग सकेसम्म धेरै समय दिने, गफ गर्ने, उनीहरूका आवश्यकता र स्वास्थ्य स्थितिबारे जानकारी लिइरहनु पर्दछ। पारिवारिक छलफल र निर्णय गर्दा उनीहरूको राय सुझाव लिनु पर्दछ। उनीहरूलाई सक्रिय रहन प्रेरित गर्ने गर्नु पर्दछ। टीभीको रिमोर्ट चलाउन, फोन गर्न, विद्युतीय भाँडा तथा चुलो प्रयोग गर्ने जस्ता प्रविधि घरमै सिकाइदिनु पर्दछ। बहुअन्तर्राष्ट्रिय कम्पनी भोडाफोनले गरेको एक अध्ययन अनुसार मोबाइल प्रयोग गर्ने ज्येष्ठ नागरिकमा एक्लोपनाको समस्या कम रहेको पाइएको थियो।
शारीरिक रोग अनुसारको स्वास्थ्य जाँच र औषधीको व्यवस्था मिलाइदिनु पर्दछ। पारिवारिक जमघट, पिकनिक, सामाजिक क्रियाकलाप आदिमा सहभागी हुने वातावरण तयार पारिदिनु पर्दछ। अवकाशपछि पनि सक्रिय जीवनयापन गर्न सकिन्छ। पहिलाकै सिप र दक्षता अनुरूपका नयाँ कामहरू गर्न पनि सकिन्छ। ज्येष्ठ नागरिकले चाहेको खण्डमा अवकाशपछिको समय सक्रिय रहनका लागि परिवारका सदस्यले आवश्यक सहयोग गर्नु पर्दछ। सम्भव भएसम्म परिवारले नै हेरचाह गर्ने र सम्भव नभएको खण्डमा मात्र दक्ष स्याहारकर्ता राख्नु पर्छ। स्याहारकर्ता राख्नुपरेको अवस्थामा स्याहारकर्तालाई ज्येष्ठ नागरिकको शारीरिक, मानसिक स्थितिको बारेमा जानकारी दिनु पर्छ।
ज्येष्ठ नागरिकहरूले पनि आफू मानसिक रूपमा स्वस्थ रहनका लागि आफ्नो बुढ्यौली अवस्थालाई जीवनको सामान्य र सबैमा हुने प्रक्रियाको रूपमा लिनु पर्दछ। अर्को भनेको सक्रिय जीवनशैली अपनाउनु हो। आफूले गर्न सक्ने शारीरिक कामहरू गर्ने, अध्ययन गर्ने, सामाजिक काममा सहभागी हुने गर्नु पर्छ। कुनै पनि कामको योजना बनाउने, परिवार तथा छरछिमेकीसँग गफगाफ र छलफल गर्ने गर्नु पर्दछ। अनावश्यक रूपमा धेरै सोच्ने र चिन्ता लिने बानी बिस्तारै छोड्नु पर्दछ। बदलिँदो शारीरिक संरचना तथा घट्दो कार्यात्मक क्षमतालाई सामान्य रूपमा ग्रहण गर्नु पर्दछ। परिवर्तित व्यवस्था, रहनसहन र सामाजिक/आर्थिक परिवेशलाई सहज रूपमा आत्मसात् गर्नु पर्दछ। दैनिक व्यायाम अथवा योग गर्ने, शान्त र प्रफुल्ल रहने साथै आवश्यक मात्रामा सुत्नु पर्दछ। खानपानमा पनि विशेष ध्यान दिनु पर्दछ। सन्तुलित आहार तथा रोग अनुसारको शरीरले पचाउन सक्ने खाना र प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्दछ। धूमपान, मद्यपान तथा लागु पदार्थको सेवन गर्नु हुँदैन । सम्भव भएसम्म नियमित स्वास्थ्य जाँच गराउने पनि गर्नु पर्दछ। माथिका उपाय अवलम्बन गर्दा गर्दै पनि यदि कुनै ज्येष्ठ नागरिकलाई मानसिक समस्या देखिएको खण्डमा औषधी तथा मनोवैज्ञानिक उपचार पद्धतिको समायोजनबाट उपचार गर्न सकिन्छ। मानसिक रोगमा विशेष ज्ञान भएको उपचारकर्ताबाट मात्र मनोवैज्ञानिक उपचार गर्नु पर्दछ।
लेखक एजिङ नेपालमा कार्यरत हुनुहुन्छ।