• २७ जेठ २०८२, मङ्गलबार

म र मेरो विद्यालय

blog

विद्यालय जीवनको महत्वपूर्ण अङ्ग हो । यो हाम्रो जीवनको आधार हो । विद्यालयमा मैले शिक्षा प्राप्त गर्दै र जीवनका महत्वपूर्ण पाठ सिक्छु । विद्यालय मेरा लागि शिक्षाको केन्द्र मात्र होइन, दोस्रो घर पनि हो । यहाँ मैले जीवनका धेरै अनमोल पाठ सिकेको छु ।

विद्यालयमा शिक्षकले हामीलाई पुस्तकहरू पढाउने मात्र नभई इमानदारी, कर्तव्यनिष्ठ र मित्रताको महत्व  पनि सिकाउनुहुन्छ । उहाँहरूले हाम्रा कमजोरीलाई बुझेर त्यसलाई सुधार्नका लागि सबै प्रोत्साहित गर्नुहुन्छ । शिक्षकबिना हामी जीवनमा सही र गलतको फरक पनि बुझ्न सक्दैनौँ । शिक्षकले हामीलाई अज्ञानताको अँध्यारोबाट उज्यालोतिर लैजानुहुन्छ । उहाँहरूको ज्ञान र शिक्षाबिना हामी जीवनमा सफल हुन सक्दैनौँ ।

मेरो विद्यालयमा विभिन्न उत्सव र कार्यक्रमको आयोजना गरिन्छ । यी कार्यक्रमले हाम्रो क्षमता र नेतृत्व सिपलाई उजागर गर्न मद्दत पुर्‍याउँछ । विद्यालयमा हामीलाई समूहमा काम गर्न र नेतृत्वको महत्व सिकाइन्छ, जसले मेरो व्यक्तित्वलाई अझ सशक्त र पूर्ण बनाएको छ । मेरो विद्यालयले मलाई जीवनका विभिन्न क्षेत्रको महत्व बुझाएको छ । विद्यालयको वातावरणले हामीलाई एकअर्काको साथ मिलेर बस्न र काम गर्न सिकाउँछ ।

विद्यालय मलाई घर जस्तै लाग्छ । यहाँको वातावरण र शिक्षकको मायाले मलाई निरन्तर उन्नति र प्रगतिको बाटोमा हिँड्न प्रेरित गर्छ । मेरो विद्यालय मेरो जीवनको अमूल्य सम्पत्ति हो र यसलाई म सधैँ माया गर्छु । मेरो विद्यालय जहाँ मैले ज्ञान प्राप्त गर्छु, नयाँ साथी बनाउँछु र जीवनका विभिन्न पाठ सिक्छु । विद्यालयको मित्रवत् व्यवहारले मेरो दैनिक जीवनलाई रमाइलो बनाउँछ ।

विद्यालयमा मैले समय व्यवस्थापन, अनुशासन र जिम्मेवारी जस्ता महत्वपूर्ण कुरा सिकेकी छु । यसले मेरो व्यक्तिगत विकासमा मद्दत पुर्‍याएको छ र भविष्यमा सफल हुन सहयोग पुग्दछ । विद्यालयमा मैले ज्ञान र संस्कार प्राप्त गरेको छु, जुन मेरो जीवनभर उपयोगी हुने छ ।   

  मुना