भाइबहिनीहरू, तपाईंले कहिलेकाहीँ पसलमा सामान किन्न जाँदा केही महिनाअघि २० रुपियाँमा किनेको सामान अहिले २५ रुपियाँ पुगेको थाहा पाएको हुनु पर्छ । अथवा अभिभावकले कुनै पनि सामान किन्दा अघिल्लो पटकभन्दा अहिले धेरै रकम खर्च गर्नु परेको गुनासो सुन्नुभएको हुन सक्छ । यसलाई हामी बोलीचालीको भाषामा महँगी बढेको भन्छौँ । महँगी बढ्दा तपाईं हामीले किन्ने सामानको तौल जतिको त्यति नै हुन्छ तर त्यो सामान किन्न बढी रकम खर्च गर्नुपर्ने हुन्छ ।
महँगीले सामान मात्र पहिलेको मूल्यमा नपाउने हुँदैन । तपाईं हाम्रो विद्यालयको शुल्क, कपाल काट्दा तिर्नुपर्ने शुल्क, गाडीको भाडा जस्ता कुरालाई पनि धेरै रकम तिर्नुपर्ने हुन्छ । यसलाई सेवा क्षेत्रमा मूल्य बढेको भनिन्छ । सरल भाषामा भन्नु पर्दा तपाईं हामीले किन्ने सामान र सेवालाई कुनै समयपछि बढी रकम तिर्नुपर्ने भयो भने त्यो महँगो भयो भने बुझ्नु पर्छ ।
यसरी सामान महँगो हुनुका थुप्रै कारण हुन्छन् । सबैभन्दा पहिलो कारण हो, सामान नै कम हुनु र मानिसलाई त्यही सामान बढी चाहिनु । जस्तै ठुलो वर्षाका कारण बाटोघाटो बिग्रियो भने पसलेले बाहिरबाट सामान ल्याउन सक्दैनन् तर मानिसलाई त्यही सामान चाहिने भएपछि त्यसको मोल बढ्छ । अथवा विभिन्न मौसममा किसानले फलाउने तरकारी, फलफूल कम फल्छ तर मानिसलाई तरकारी र फलफूल चाहिने अवस्थामा त्यसको मोल केही महिनाअघि तिरेको भन्दा बढी तिर्नु पर्छ ।
अर्को कारण हो, तपाईं हामीले चलाउने सामान फ्याक्ट्रीमा बनाउन अथवा किसानले खानेकुरा, तरकारी, फलफूल आदि फलाउनका लागि आफूले नै बढी पैसा खर्च गर्नुपर्ने भयो भने हामीले किन्ने बेलासम्म त्यसको मोल पनि बढी तिर्नुपर्ने हुन्छ । यसलाई उत्पादनको लागत बढेको भनिन्छ । उत्पादनको लागत भनेको कुनै पनि सामान बनाउन वा कुनै वस्तु उत्पादन गर्दा लाग्ने सबै खर्चलाई भनिन्छ । उदाहरणका लागि तपाईंहरूले खाने बिस्कुट बनाउन चाहिने गहुँको पिठो, चिनी, स्वाद बढाउन हालिने विभिन्न थप चिजलाई बिस्कुट फ्याक्ट्रीले आफूले नै पहिले बढी पैसा तिर्नु प¥यो, सँगसँगै बिस्कुट बनाउने, त्यसलाई प्याकेट र कार्टुनमा हालेर तयार पार्ने, ओसारपसार गर्ने मानिसलाई पनि पहिलेभन्दा धेरै रकम तिर्नु प¥यो । यो बिस्कुट फ्याक्ट्रीको उत्पादनको लागत बढेको भयो । अब बिस्कुट हामीले किन्नु पर्दा फ्याक्ट्रीले बढी खर्च गरेको पैसासमेत जोडेर नयाँ मोल राख्छ । यसरी हिजो बिस्कुट किन्दा मानिलिउँ तपाईंले २० रुपियाँ तिर्नु हुन्थ्यो भने अब २५ रुपियाँ तिर्नुपर्ने हुन सक्छ । यो मूल्य बढेको वा महँगी बढेको हो ।
महँगीका बारेमा थाहा पाइसकेपछि अब मुद्रास्फीति भनेको के हो भनेर पनि बुझौँ । मुद्रा भनेको पैसा हो भने स्फीति भनेको बढ्नु हो तर मुद्रास्फीति भनेको चाहिँ महँगी धेरै बढेपछि पैसाको मूल्य कम हुनु हो । मुद्रास्फीति भनेको समयसँगै चिज बिजको मूल्य लगातार बढिरहनु हो । अर्थात् पहिले जति पैसाले जति चिज किन्न सकिन्थ्यो, अहिले त्यत्तिकै पैसाले त्योभन्दा कम किन्न सकिने अवस्था हो ।