• २० असोज २०८१, आइतबार

पहिरो प्रभावित परिवारका लागि बन्ने अस्थायी टहराको ‘डिजाइन’ तयार

blog

अस्थायी टहरा निर्माणकाका लागि गाउँपालिकाले तयार पारेको ड्रइङ डिजाइन।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २ गते। मैवाखोला गाउँपालिकाले पहिरो प्रभावित परिवारलाई राख्नका लागि निर्माण गर्न लागिएको अस्थायी टहराको ‘ड्रइङ डिजाइन’ तयार पारेको छ। पहिरोको जोखिममा रहेको ओदक बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि निर्माण गर्न लागिएको अस्थायी टहरा (आवास घर) ड्रइङ डिजाइन तयार पारिएको हो। 

गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढी पहिरोका कारण मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्ती जोखिममा रहेको छ। केही दिनअघि मैवाखोला गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित सर्वपक्षीय बैठकले उक्त जोखिममा परेको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने भनी निर्णय गरेको थियो। 

सर्वपक्षीय बैठकमार्फत निर्णय भएसँगै ओदकका ६४ परिवारलाई सुरक्षित स्थानमा अस्थायी टहरा निर्माण गरेर स्थानान्तरण गर्नेगरी टहराको ड्रइङ डिजाइन तयार पारिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। 

अध्यक्ष वनेमकाअनुसार पहिरोको जोखिममा रहेका ओदकका बासिन्दालाई तत्कालका लागि वडा ३ साँघुस्थित मदन भण्डारी रङ्गशालाको जग्गामा अस्थायी टहरा निर्माण गरेर स्थानान्तरण गरिने भएको हो।

उक्त रङ्गशालाको जग्गामा सानो–ठुलो गरी ६४ वटा अस्थायी टहरा निर्माण गर्नेगरी ड्रइङ डिजाइन तयार पारिएको अध्यक्ष वनेमले बताउनुभयो। उहाँकाअनुसार पाँच जनासम्म बस्न मिल्ने ३५ वटा, आठ जनासम्म बस्न मिल्ने २३ र ११ जनासम्म बस्न मिल्ने खालको छ वटा अस्थायी टहरा निर्माण गरिने भएको छ। 

कोठा सङ्ख्याका आधारमा टहरा सानो ठुलो हुने भए पनि एकै प्रकृतिको टहरा संरचना निर्माण गर्नेगरी डिजाइन तयार गरिएको गाउँपालिकाले जनाएको छ। 

त्यस्तै प्रत्येक टहरामा एकै किसिमको भान्सा कोठा रहने छन् भने दुई-दुईवटा टहरामा बस्ने परिवारले प्रयोग गर्न मिल्नेगरी स्नान कक्षसहित शौचालय र धारा निर्माण गरिने भएको छ। शौचालय अपाङ्गमैत्री बन्ने छन् भने रबरको ड्रम (हिल ट्याङ्की) राखेर निर्माण गरिने पानीको धारा बालमैत्री हुने पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो। 

यता ड्रइङ डिजाइनअनुसार अस्थायी टहरा (संरचना) निर्माण गर्नलाई रङ्गशालाको जग्गामा नाप तथा सिमाङ्कनको कार्य मङ्गलबारदेखि नै सुरु गरिएको गाउँपालिकाले जनाएको छ। टहरा निर्माणको कार्य भने आउँदो आइतबारदेखि सुरु गरिने भएको छ। 

अस्थायी टहरा सर्वपक्षीय बैठकको निर्णयअनुसार स्थानीयस्तरमा रहेका सबै राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधिसहित जनशक्ति जुटेर श्रमदानमार्फत निर्माण गरिने पनि पालिका अध्यक्ष वनेमको भनाइ छ।