• १२ वैशाख २०८२, शुक्रबार

पुल निर्माणको काम जम्मा आठ प्रतिशत

blog

अमरगढी समाचारदाता

डडेलधुरा, साउन २ गते ।  रङ्गुन खोला पक्की मोटरेबल पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने मितिमा जम्मा आठ प्रतिशत मात्रै काम भएको छ । ब्रह्मदेव–चिरकिट्टे–डडेलधुरा सडकको रङ्गुनखोला सडकमा निर्माण हुने उक्त पुल निर्माण कार्यमा निकै ढिलासुस्ती भएको छ । 

भित्री मधेश जोगबुडालाई डडेलधुरा सदरमुकामसँग जोड्ने सडकको पुल निर्माणको कार्य अलपत्र नै परेको छ । २०८० असार ११ गते पुल निर्माणको काम पूरा गर्ने गरी २०७७ साल आसर ११ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो ।

१३ करोड ७० लाख १६ हजार रुपियाँ लागतमा पूर्वाधार विकास कार्यालय डडेलधुराले निर्माण व्यवसायीसँग सम्झौता गरेको कार्यालय प्रमुख नवराज रावलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एक करोड १५ लाख ६८ हजार रुपियाँ खर्च भइसकेको छ ।

यतिको पैसा खर्च हुँदा पनि पुल निर्माणका लागि एक खाडल मात्रै खनिएको छ । उक्त खाडल जम्मा आठ प्रतिशत काम भएको कार्यालय प्रमुख रावलले बताउनुभयो । उहाँले भन्नुभयो, म यस कार्यालयमा आएपछि धेरै पटक निर्माण व्यवसायीसँग काम सञ्चालन गर्नका लागि ताकेता गरे तर पनि सुरुवात गरिएको छैन । 

कञ्चनपुरको दैजीदेखि जोगबुडा हुँदै महाभारत पर्वत चिरकिट्टे–डडेलधुरा सदरमुकाम बागबजार–पोखरा–बैतडीको ढुङ्गाड–बझाङको देउरा बजार जोडेर मानसरोवरसम्म सडक पुगाउने सुदूरपश्चिम प्रदेश सरकारको योजना रहेको छ ।

यो पुल निर्माण भएमा जोगबुडा र जिल्ला सदरमुकामको सडक दुरी घट्ने बताइन्छ । जोगबुडा जान हाल सुदूरपश्चिमको तराई पहाड जोड्ने भीमदत्त राजमार्ग सडकखण्डको बुडर बजार पुग्नुपर्छ । यसको दुरी घटाउन यो सडकको ट्र्याक खोलिएको जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारीले बताउनुभयो ।

यो सडक सञ्चालनमा ल्याउन सके डडेलधुरा सदरमुकामदेखि जोगबुडा लालढुङ्गा बजारको दुरी ४० किलोमिटर मात्रै हुने छ । तीन वर्षसम्म पुल निर्माणको काम नै सुरुवात नहुँदा जनतामा निराशा छाएको परशुराम नगरपालिका नगरप्रमुख भरत बडायर जोशीले बताउनुभयो । पुल निर्माणको जिम्मेवारी पाएको राजेन्द्र निर्माण सेवाका प्रतिनिधि सम्पर्कविहीन छन् ।