• १५ वैशाख २०८१, शनिबार

लागु पदार्थ नियन्त्रणको बाटो

blog

नेपालमा लागु पदार्थका दुर्व्यसनी बढ्दै बढ्दो क्रममा छन्। लागु पदार्थ कारोबारका लागि नेपाल ट्रान्जिट पोइन्ट नै बनेको छ। लागु पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ। कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। 

लागु पदार्थ नियन्त्रण ऐन, २०३३ अनुसार लागु औषधलाई गाँजा औषधोपयोगी गाँजा, अफिम, तयारीको अफिम, औषधोपयोगी अफिम, कोकाको झार र पात र अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवणसमेत मिलाई तयार गरिने कुनै पदार्थलाई लागु पदार्थ मान्न सकिन्छ। नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु पदार्थ तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवण तथा अन्य पदार्थसमेत सम्झनु पर्छ भनी परिभाषित गरिएको छ। कानुन अनुसार नै मुख्य गरेर लागु पदार्थलाई दुई भागमा विभाजन गरिएको छ। 

प्राकृतिक लागु पदार्थ – प्राकृतिक रूपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थ जस्तै– गाजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागु पदार्थ भनिन्छ। औषधिजन्य लागु पदार्थ – मानव जीवन रक्षाका लागि निर्मित औषधिजन्य पदार्थ, जसलाई चिकित्सकको सल्लाहविपरीत नशा लिनका लागि प्रयोग गर्दछन्, त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ। जस्तै– नाइट्रोजन, नाइट्रोभ्याट, प्रोक्सिभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि। नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार साथीसँगीको दबाब, मनोरञ्जनका लागि उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन, पढाइमा समस्यालगायत कारणले लागु औषध प्रयोग गरेको पाइएको थियो। पछिल्लो समय सामाजिक संस्था नार्कोननले गरेको अध्ययन अनुसार पनि लागु पदार्थ प्रयोगका कारण पनि यिनै देखिएका छन्। 

हाल नेपालमा प्रहरी प्रशासनले यसको प्रयोगमा कडाइ गरे पनि सीमावर्ती क्षेत्रमा यसको प्रयोग बढ्दो छ। खुला सीमानाका कारण भारतीय सीमासँग जोडिएका जिल्लामा यसको दुव्र्यसनी बढ्दो मात्रामा रहेको छ। अध्ययन अनुसार लागु पदार्थ प्रयोगकर्तामा एकान्तमा बस्न रुचाउने, असामान्य व्यवहार देखाउने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराध कर्ममा लाग्ने, धन सम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराध घट्दै जाने, सामाजिक मूल्य र मान्यता भत्किँदै जानेलगायत समस्या भेटिएका छन्। यसको प्रयोगले शरीरमा पार्ने असर पनि भयानक छ। यसको प्रयोगबाट एचआइभी/एड्स, हेपाटाइटिस तथा यौनजन्य रोग सङ्क्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्युसमेत हुने गरेको तथ्याङ्कले देखाएको छ। 

लागु पदार्थको प्रयोग मानसिक असरका रूपमा पनि देखिएको छ। यसको प्रयोग गर्ने मानिस एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने जस्ता लक्षण देखाउने गरेको अध्ययनले देखाएको छ। व्यक्तिले लागु पदार्थ प्रयोग गरेपछि त्यसको असर भने परिवारदेखि समाजसम्म परेको हुन्छ। परिवारमा एक सदस्यले लागु पदार्थ प्रयोग गर्दा पारिवारिक असमझदारी बढ्ने, घरको सामान चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने इत्यादि समस्या देखिएको पाइएको छ। गृह मन्त्रालयका अनुसार नेपाल लागु पदार्थ प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा एक लाख ३० हजारभन्दा धेरै लागु पदार्थ प्रयोगकर्ता रहेको देखिन्छ। यसअघिका अध्ययनमा पनि यसको सङ्ख्या धेरै देखिएको थियो। 

लागु पदार्थ नियन्त्रणका लागि सरकारी तवरबाट पर्याप्त ऐन कानुन निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। लागु पदार्थ प्रयोगकर्ताको उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ लागु भइसकेको छ। कानुनी पाटो बलियो देखिएपछि यसको कार्यान्वयन भने फितलो हुँदा यसको प्रयोग बढेको पाइएको छ। त्यस कारण स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्थाले यसको नियन्त्रणमा सहकार्य र समन्वय गर्नुपर्ने देखिन्छ। अर्कोतर्फ लागु पदार्थको दुव्र्यसनी कम गर्न स्कुल तहदेखि नै यसको असरबारे सिकाउन जरुरी छ। यसरी जाँदा दीर्घकालीन रूपमा लागु पदार्थका दुव्र्यसनी पनि कम हुने अनुमान गरिन्छ। सरकारी अध्ययन अनुसार लागु पदार्थको प्रयोगबाट प्रयोगकर्तामा हेपाटाइटिस ए र बि, क्षयरोग, एचआइभी/एड्स, एसटिडी, कुपोषणलगायत विभिन्न स्वास्थ्य समस्या देखा पर्छन्। त्यसै गरी लागु पदार्थको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्छ। यसले निम्त्याएको अर्को असर सामाजिक विचलन पनि हो। 

यसबाहेक लागु पदार्थ नियन्त्रणका लागि वर्तमान समयमा नेपालमा जोखिमपूर्ण उमेरका युवालाई लागु पदार्थको सही तथ्य र जानकारी दिन सक्ने विशेषज्ञ, स्रोत व्यक्ति र निकाय कति छन्, त्यसको यथेष्ट तथ्याङ्क सङ्कलन हुनु पर्छ। हालसम्म सरकारी निकायबाट भएका यससम्बन्धी अध्ययन कम देखिएका छन्। यसबाहेक यसको नियन्त्रणका लागि सरकारका निकायबिच कसरी समन्वय र प्रयोग गर्ने–गराउने भन्ने कुराको नितान्त अभाव छ। आज खाली उपत्यका केन्द्रित नाफामूलक र खाली विदेशीको अनुदानमा चलेका दुई–चार गैरसरकारी संस्थाको लहै–लहैमा लागेर वा प्रहरीले सीमित पक्राउ र गाँजा खेतीको फँडानीको भरमा लागु पदार्थ दुव्र्यसनको त्रासदीलाई सजिलै समाधान गर्न सकिन्न। किनभने देशभर यसले पारेको असर भयावह नै छ। सहरी क्षेत्रमा मात्रै सरकारले चासो दिँदा ग्रामीण तथा सीमा क्षेत्रमा यसले व्याप्त असर पारेको तथ्य बेला बखत हुने आपराधिक घटनाले पनि पुष्टि गर्छ। लागु पदार्थ हरेक अवरोधको जड पनि मानिन्छ। यसको प्रयोगले मानिसलाई सही ठाउँमा राख्दैन। बिस्तारै समाजबाट अलग गर्दै लैजान्छ र त्यसले सामाजिक विचलन र अपराध नै नित्याउने गर्छ। त्यसकारण लागु पदार्थ दुव्र्यसन रोकथामको प्रभावकारी उपाय भनेको कुनै पनि बालक वा वयस्क उमेरका युवा–युवतीलाई पहिले उसलाई लागु पदार्थका दुव्र्यसनीको सम्पर्कमा आउनबाट कसरी बचाउने र रोक्ने भन्नेमा ध्यान जानु जरुरी छ। यसको साथै लागु पदार्थको स्रोत पनि पहिचान गर्नु पर्छ। त्यसपछि ऊ त्यस्ता व्यक्ति वा तत्वको सम्पर्कमा आएमा कसरी त्यसलाई तिरस्कार वा चङ्गुलबाट बच्न सक्ने बनाउने भन्नेमा जोड दिनु जरुरी देखिन्छ। आज विश्वका अन्य देशका अनुपातमा नेपालमा लागु पदार्थले पार्ने असर बढी छ। यसको रोकथामका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय प्रशासन र स्वयं व्यक्ति पनि जिम्मेवार हुन जरुरी छ। सरकारी निकायले पनि आफूले यसको रोकथामका निम्ति गरेका कार्यक्रम कति प्रभावकारी छन् वा छैनन् भन्नेबारे चासो दिनु आवश्यक छ। कानुन वा सीमित बजेट छुट्याएर मात्रै लागु पदार्थ दुव्र्यसनी नियन्त्रण हुन सक्दैन। 

लेखक न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य हुनुहुन्छ।  

Author

रामहरि कार्की