• १ जेठ २०८२, बिहिबार

पुँजीगत खर्च पचासी प्रतिशत

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, साउन १ गते । आर्थिक वर्ष २०७९/८० मा काभ्रेपलाञ्चोक जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजन भएको विकास (पुँजीगत) बजेट ८५ प्रतिशत बजेट खर्च भएको छ। 

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) काभ्रेपलाञ्चोकका अनुसार आव २०७९/८० मा सङ्घीय सरकारबाट विनियोजन भएको पुँजीगत बजेटमध्ये असार मसान्तसम्म ८८.७५ प्रतिशत रकम र प्रदेश सरकारमार्फत विनियोजन भएको पुँजीगत बजेटमध्ये ८२.४ प्रतिशत रकम खर्च भएको जनाएको छ। 

कोलेनिका काभ्रेपलाञ्चोकका सूचना अधिकारी कोष नियन्त्रक चतुर्भुज तिमल्सिनाले आव २०७९/८० मा सङ्घीय सरकारबाट विनियोजन भएको चार अर्ब १८ करोड ९३ लाख २५ हजार ६४५ रुपियाँमध्ये तीन अर्ब ७१ करोड ८० लाख ३८ हजार ४१७ रुपियाँ खर्च भएको बताउनुभयो। 

यस्तै प्रदेश सरकारमार्फत विनियोजन भएको चार अर्ब ७० करोड ६१ लाख ७६ हजार ४७७ रुपियाँ पुँजीगत बजेटमध्ये तीन अर्ब ८७ करोड ८८ लाख ३३ हजार ६१४ रुपियाँ खर्च भएको तिमल्सिनाले बताउनुभयो। 

आव २०७९/८० का लागि सङ्घीय सरकारमार्फत विनियोजन भएको चाल् बजेटमध्ये असार मसान्तसम्म ९६.३ प्रतिशत रकम खर्च भएको छ। सङ्घीय सरकारमार्फत विनियोजन भएको १० अर्ब ३६ करोड १६ लाख ८० हजार १४४ रुपियाँमध्ये नौ अर्ब ९८ करोड २५ लाख २३ हजार ८१० रुपियाँ खर्च भएको छ। त्यस्तै प्रदेश सरकारबाट विनियोजन भएको चालु बजेटमध्ये ८७.२ प्रतिशत रकम खर्च भएको छ। 

आव २०७९/८० मा प्रदेश सरकारमार्फत जिल्लामा चालुतर्फ एक अर्ब ८४ करोड ८८ लाख २४ हजार ८२५ रुपियाँमध्ये एक अर्ब ६१ करोड २१ लाख ३१ हजार ३१ रुपियाँ खर्च भएको छ। 

कोलेनिकाका अनुसार आव २०७९/८० मा सङ्घीय सरकारमार्फत बजेट विनियोजन भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय धुलिखेलको कुल पुँजीगत बजेटमा २० करोड ८५ लाख ६५ हजार ६९२ रुपियाँ खर्च हुन सकेन। यस्तै सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाको २० करोड १७ लाख १६ हजार ४२३ रुपियाँ खर्च हुन नसकेको कोलेनिकाले जनाएको छ। 

प्रदेश सरकारमार्फत विनियोजन भएको पुँजीगत बजेटमध्ये पूर्वाधार विकास कार्यालयको ४१ करोड ९० लाख ४२ हजार ६७७ रुपियाँ, सार्वजनिक कार्यान्वयन एकाइको १७ करोड पाँच लाख १९ हजार रुपियाँ पुँजीगत बजेट खर्च हुन सकेन। 

प्रदेश अन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सात करोड ३२ लाख ७८ हजार ९३९ रुपियाँ, डिभिजन वन कार्यालयको दुई करोड १८ लाख ६९ हजार ५७ रुपियाँ र बहरी विकास तथा भवन कार्यालयको चार करोड ९२ लाख ६७ हजार ९४८ रुपियाँ खर्च हुन नसकेको कोलेनिका काभ्रेपलाञ्चोकले जनाएको छ।