• २ जेठ २०८१, बुधबार

फार्मेसी अधिकृत मृत्यु प्रकरण : छानबिन समिति गठन

blog

काठमाडौँ, असार ३१ गते । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । 

फार्मेसी अधिकृत पोखरेलले शुक्रबार बिहान अस्पतालको फार्मेसीको स्टोरभित्र कपडाको पासो लगाई आत्महत्या गर्नुभएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । 

सेन्टरका कार्यकारी निर्देशक प्राडा. रत्ममणि गजुरेलले मृतक पोखरेलको परिवारको आग्रहमा संस्थानले छानबिन समिति गठन गरेको बताउनुभयो । सेन्टरका पूर्वनिर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । एक जना फार्मेसी सङ्घका प्रतिनिधि र अर्का एक जना मृतक पक्षबाट सदस्य रहनुहुने छ । छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

मृतक पोखरेलकी पत्नी मोनिका कोइरालाको किटानी जाहेरीपछि महाराजगन्ज प्रहरी वृत्त काठमाडौँले शुक्रबार प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरी वृत्त महाराजगन्जका प्रमुख अङ्कुर जिसीले मृतकको साथबाट सुसाइड नोट फेला परेको र आत्महत्या दुरुत्साहनमा अनुसन्धान अघि बढाउनुपर्ने आधार फेला परेको जानकारी दिनुभयो । 

पोखरेलले सुसाइट नोटमा आफूमाथि भएको विभागीय कारबाहीका कारण पक्राउ परेका चार जनामाथि लगाएको प्रहरी स्रोतले बताएको छ । सुसाइट नोटमा भनिएको छ, “विगतमा ममाथि लागेको आरोप मैले स्वीकार गर्नुपर्ने अवस्था आउनुको मुख्य कारण तपाईंहरू हो । तपाईंहरूको आगामी यात्रा सुखद रहोस् ।” 

मृतकका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेका फार्मेसी सेन्टरका प्रशासन प्रमुखसहित चार जनालाई आत्महत्या दुरुत्साहनमा आइतबार अदालतबाट अनुसन्धानका लागि अनुमति लिने तयारी भइरहेको छ  ।