• ३१ वैशाख २०८२, बुधबार

राजनीतिमा नयाँ प्रवृत्ति धेरै टिक्दैन : अर्थमन्त्री महत

blog

अर्थमन्त्री प्रकाशशरण महत तमू (गुरुङ) संघ नेपालले शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्नुहुँदै । तस्बिर : किरण राज विष्ट/रासस

काठमाडौं, असार ३० गते। अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टी धेरै समय नटिक्ने दाबी गर्नुभयो। 

उहाँले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवास, पुलिसको लाठी, डन्डा सहेर पुराना पार्टी निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गर्नुभएको हो।  उहाँले भन्नुभयो, ‘‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँ नयाँ प्रवृत्ति यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्। तर यिनीहरु टिक्दैनन्। दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठी, डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस। यस्तै समस्या नयाँ प्रवृत्तिले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला।’’

अर्थमन्त्री महतले पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रीय समितिमा गर्न चुनौती दिनुभयो। उहाँले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गर्नुभयो। उहाँले पार्टीप्रतिको आलोचनाका कारण जनता के हो कांग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको बताउनुभयो। उहाँले पार्टीका नेताको आलोचना सामाजिक सञ्जालमा नगर्न आग्रह गर्नुभयो। 

मन्त्री महतले सरकार सुशासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको बताउनुभयो। उहाँले आर्थिक रुपान्तरण, विकासको लागि अफ्ठ्यारो समयमा अफ्ठ्यारो निर्णय पनि लिनसक्ने बताउनुभयो।