काठमाडौं, असार ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ ।
बुढानीलकण्ठ नगरपालिकामा आज (शनिबार) आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् ।”
सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उहाँले जनताको मुद्दामा निःस्वार्थ र निः सर्त रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भन्नुभयो, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।” रासस