• १५ वैशाख २०८१, शनिबार

मानव सृजित अन्यायका चोट

blog

मानव जातिको प्रगति र समुन्नति कायम राख्न ज्ञान र विज्ञान दुवैको अहम् भूमिका हुन्छ । विज्ञानले पत्ता लगाएका नियमको पालन ज्ञानसम्मत तरिकाले गरिएन भने त्यसले विकास होइन, विनाश निम्त्याउँछ । विज्ञानको देनका रूपमा मानिएका रासायनिक मल र विषादीको प्रयोगले बालीनालीलाई रोग, व्याधि र शत्रु किराबाट बचाएर उब्जनी बढाउन सहयोग त पु-याउँछ तर यसको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा मात्र होइन माटोको स्वास्थ्यमा पनि गम्भीर समस्या निम्त्याएका उदाहरण वर्षैंपिच्छे बढ्दैछन् । साथै, कैयौँ जलचर र थलचरको वंश नै नाश भएका विस्मयकारी नतिजा पनि देखापर्न थालेका छन् । 

विकासका नाममा जथाभावी बाटो खन्दा बाढी पहिरोको प्रकोप बढ्नुका साथै पानीका मूल सुक्न थालेका छन् । सहज, सरल र सुविधाजनक बसाइका लागि भनेर सहर निर्माण गरिन्छ तर यातायात, खानेपानी, ढल र भल, पानी निकास र फोहोरमैलाको व्यवस्थापन गर्न नसक्ता हाम्रा सहर जीवन्त छैनन्, जनजीवन झनै कष्टकर छ । प्राकृतिक पर्यावरणलाई बुझ्न नसक्दा वा बुझेर पनि हेलचेक्¥याइँ गर्दा यी समस्या उब्जिएका हुन् । अर्थात्, चराचर जगत् सबैका लागि पृथ्वी उत्तिकै प्यारी जननी हुने गरी, मानिसको प्रादुर्भाव हुनुअघिदेखि नै प्राकृतिक सन्तुलन स्थापित थियो तर जब मानिसले आफ्नो स्वार्थका लागि अरू धरावासीको अस्तित्वलाई धावा बोल्यौँ तब समस्या एकपछि अर्काे थपिँदै गएका हुन् । यो एउटा यस्तो दुष्कर्म हो, जसले प्राकृतिक रूपमा गाँसिएको धरावासीहरूको सहकार्य र सहअस्तित्वको मालालाई छिनाइदिन्छ र पर्यावरणीय सन्तुलन खस्किन्छ । यो स्वार्थीपन नत्यागेसम्म मानवहित असम्भवप्रायः भइसकेको कुरा विज्ञहरूले मात्र होइन, साहित्यका विविध विधामार्फत कलमजीवीले पनि बताउन थालेका छन् । पर्यावरण साहित्य वा इको–साहित्यका सिद्धान्तहरू प्रतिपादित भएर सिर्जनाहरू मौलाउन थालेका छन् । असम कृषि विश्वविद्यालय, भारतका प्राध्यापक डा. देवेन सापकोटाले लेख्नुभएको ‘पृथ्वीका सुस्केराहरू’ (पर्या कथा सङ्कलन) पुस्तक यस्तै सिर्जना हो । 

यस पुस्तकमा १५ वटा कथा छन् । तीमध्ये पाँच वटा पशुप्रति मानिसले गरेका अत्याचार, दुई वटा पन्छीप्रतिको अत्याचार दुई वटा वनस्पतिप्रतिको अत्याचारमा आधारित छन् । त्यस्तै वातावरणसँग सम्बन्धित पाँच वटा कथा छन् भने बाँकी एउटा वातावरण संरक्षणमा विज्ञानले गरेको प्रगतिका बारेमा छ । 

कथामा उठाइएका सवाल जायज छन्, विवादरहित छन् । मानिसले पशु, पन्छी र बोटबिरुवालाई आफ्नो स्वार्थका लागि पीडित बनाउनु वा आफूले चाहेको बाली हुर्काउन विषादी प्रयोग गरेर अरू प्राणीलाई त्राहिमाम बनाउनु वा आफ्नो सुख सुविधाका लागि भविष्यको पुस्तालाई सङ्कटमा पार्ने खालका क्रियाकलाप गर्नु अवश्य नै २१ औँ शताब्दीको मानिसलाई शोभा दिने कुरा होइन । यो सन्देश पुस्तकले विज्ञानमा आधारित रहेर सशक्त ढङ्गले प्रस्तुत गरेको छ र पाठकलाई आफ्नो दिनचर्या बदल्न अभिप्रेरित पनि गरेको छ । कथामा प्रयोग भएका उपमा, विम्ब तथा प्रतीकले विषय वस्तुलाई सरल, सहज र बोधगम्य बनाएका छन् । सत्य घटनामा आधारित कथाहरू भएकाले पनि पुस्तकको ओज अझ बढेको छ ।

फोहोरमैला व्यवस्थापनमा बाज चराको प्रयोग धेरै देशमा भएका छन् । बाजले फोहोरमैला थुपारेको ठाउँतिर आउँदै गरेका अरू चरालाई आकाशमा नै लखेट्छ । चराका विरुद्ध चरा नै प्रयोग भएको यो एउटा उदाहरण हो । त्यस्तै अर्को उदाहरण दिन मिल्ने प्रसङ्ग एक जोडी परेवाको कथा (बिचरा निमुखो परेवा) मा छ । मानिसको कुबुद्धिका कारण परेवालाई अर्काे देशले जासुसी गर्न पठाएको ठानेर अनाहकमा परेवाको ज्यान लिइन्छ । शान्तिको प्रतीक परेवाको हत्या देखाएर हाम्रो क्षेत्रको शान्ति अज्ञानतावश वा विज्ञान र प्रविधिको दुरुपयोगका कारण कुनै पनि बेला खल्बलिन सक्ने सन्देश दिन पनि कथा सार्थक देखिन्छ । 

पुस्तकले वायु प्रदूषणलाई पनि समेटेको छ । सहरी प्रदूषणले गर्दा मानिसहरू गाउँ फर्कनुपर्ने सम्भावनालाई नकार्न सकिँदैन । कथामा उल्लेखित भारतको नयाँ दिल्लीवासी मात्र होइन, हाम्रो राजधानी काठमाडौँवासीका बिचमा पनि वायु प्रदूषण गहन छलफलको विषय बनेको छ । यस प्रसङ्गलाई ‘शिवकुमार कस्सो धौला पुगेछन्’ भन्ने कथामा रोचक ढङ्गले सङ्केत गरिएको छ । कथा सकिँदा सहरमा बस्ने पाठकलाई आफ्नो पैतृक थलोतिर फर्कने विचार पक्कै पनि आउँछ । साथै, सहरी योजनाकारको असफलताप्रति पनि यसले तिखो व्यङ्ग्य गर्छ । 

कुनै पनि विषयको गहन अध्ययन अनुसन्धान गर्नलाई त्यो विषयवस्तुमा ध्यान केन्द्रित गर्नु पर्छ तर यस पुस्तकले त्यो तर्कलाई कलात्मक तरिकाले खण्डन गर्दै पहिला पर्यावरणलाई बुझ, यसको संरक्षण गर्न कटिबद्ध होऊ अनि मात्र आफ्नो चासोलाई अघि बढाऊ भन्ने सन्देश स्पष्ट रूपमा दिएको छ । पुस्तक पढ्दा आफैँले घरभित्र हुर्काइ राखिएका बोटबिरुवा वा घरपालुवा जीवजन्तुप्रति अन्याय भएको कुरा छर्लङ्गिन्छ, मन हुँडलिन्छ र विद्रोही भावना प्रबल भएर आउँछ । हात्ती र माउतेको कथा (ब्रह्मादको अन्तिम चीत्कार) पढेपछि चिडियाखानाको आवश्यकतामा प्रश्न उठ्छ भने हात्तीमा चढेर राष्ट्रिय निकुञ्ज घुम्ने पाठकको योजनामा चिसो पानी छ्यापिन्छ । धनेश चराको भालेले आफ्नो परिवारलाई गरेको स्याहारसम्भारबाट हामीले धेरै सिक्नु पर्ने हो (वातावरणमैत्री कफिनभित्र राज चौधरी) । भाले धनेशको सिकार गरेपछि पोथी र बचेरा गुँडमा थुनिएर भोकै मर्छन् भन्ने कुरा बुझेपछि सिकारप्रेमी पाठकको नुर गिर्छ, सिकारप्रति पश्चाताप र अनिच्छा जाग्छ । पाठकको मनमा यस्ता चिन्तन मननले ठाउँ लिनु भनेको पक्कै पनि लेखकको सफलता हो ।

तथापि, केही प्रसङ्गमा भिन्न तर्क राख्ने ठाउँ पनि लेखकले छाड्नु भएको छ । पुस्तकमा उठाइएका सवाललाई सम्बोधन गर्ने क्रममा प्रयोग भएका कलाशिल्पमा एकमत हुन पर्छ भन्ने छैन । झन् विज्ञानीले लेखेको पुस्तकमा यस्तो विविधता झल्कनु अस्वाभाविक पनि होइन तर पाठक सबै विज्ञानमा रुचि राख्ने हुन्छन् भन्ने पनि हुँदैन । त्यसैले कतिपय कथाले पाठकलाई दुविधा पार्ने पनि देखिन्छ । उदाहरणका लागि, ‘बलि दिन ल्याएको बोकाको कथा’मा देवीले ‘जीवहत्या महापाप हो’ भनेर बोलेको प्रसङ्गलाई विज्ञानले पुष्टि गर्न नसक्ने हुनाले कथा पाठकलाई बोधगम्य नहुन सक्छ । 

त्यस्तै, ‘चोरी सिकारी र कमलजङ्गको सङ्ग्राम’ शीर्षकको कथामा नभुक्ने कुकुर प्रयोग गरेर चोरी सिकार गर्नेलाई समातेको कुरा चाख लाग्दो र विज्ञानसम्मत देखिन्छ । तर यहाँ पनि ककुरको स्वतन्त्रतालाई मानव स्वार्थका लागि सीमित पार्नु ठिक हो भन्न सकिँदैन र पाठक दुविधामा पर्छ । त्यस्तै, केही कथाका मुख्य प्रात्रहरू वातावरणको सवालमा मात्र जोडिएका छैनन्, एक आपसको प्रेम सम्बन्धमा पनि समानान्तर रूपमा बाँधिएका छन् । फलस्वरूप वातावरणको सवाल फितलो भएर पाठकलाई प्रेम प्रसङ्गले बढी समात्छ र पुस्तकको उद्देश्य छेउलाग्ने सम्भावना देखिन्छ । 

पुस्तकमा उल्लेखित सबै कथाको विषयवस्तु वा घटना पृथ्वीको सतहमा भएको छ । पृथ्वीको सतहमा मात्र होइन, पृथ्वीभित्र पनि मानिसले अत्याचार गरेको कुरा खुल्ने केही कथा संलग्न गरेको भए बढी सान्दर्भिक हुने थियो किनभने पृथ्वीलाई आक्रान्त पार्ने कुरा त मानिसले जमिनभित्र पनि उत्तिकै गरिरहेका छन् । उदाहरणका लागि खानी उत्खनन गर्दा, जमिनभित्र आणविक फोहोर थुपार्दा वा आणविक परीक्षण गर्दा, भूमिगत जलभण्डार रित्याउँदा, सुरुङ बनाउँदा पृथ्वीको पीडा सहिनसक्नु भइसकेको छ ।

पुस्तक सङ्ग्रहणीय र ज्ञानवर्धक छ । पर्यावरणीय विषयवस्तुलाई विज्ञानको कसीमा राखेर उजागार गरेको हुनाले कथा लेख्न योग्य विषयवस्तुको उठान पनि राम्रोसँग भएको छ । त्यसैले, यो पुस्तक पर्या साहित्य र विज्ञानका विद्यार्थीले त पढ्नै पर्छ । नीति निर्माता तथा सामाजिक अभियन्ताका लागि पनि यो पुस्तकले वातावरणसँग गाँसिएका सवाललाई सम्बोधन गर्न मार्गदर्शन गर्छन् । त्यस्तै, भारतमा बस्ने नेपाली भाषा बोल्ने महानुभावको दिनचर्या, कला, संस्कृति र मानवीय स्वभाव बुझ्न पनि यो पुस्तक उत्तिकै सहयोगी छ । ए. आर. प्रकाशन गुवाहटी, भारतले प्रकाशन गरेको यो पुस्तक (पृष्ठ १४४) को मूल्य दुई सय रुपियाँ रहेको छ ।