सिराज खान
नेपालगन्ज, असार २९ गते। घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौं रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा कडाइ गरिएको छ।
सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेबाट राजस्व असुली गर्न थालिएको छ।मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि साइड नाकाबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन ।
मुख्य नाकामा खटिएको सुरक्षा निकाय र अन्य विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर राजस्व छलेर सामान भित्रिन नदिए पनि साइड बाटो र मिलेमतोमा हुँदै आएको तस्करी भने निरन्तर जारी छ।
केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ।भन्सार कर्मचारी र प्रहरीले आफ्नो काम गरिरहेको छन् भने तस्करहरु पनि आफ्नो काममा निरन्तर लागेको देखिएको छ।
मुख्य नाका लगायत साइड नाकामा समेत प्रहरी सक्रिय रहे पनि त्यहाँबाट भित्रिएको ठुलो परिमाणको अवैध सामान धेरै पटक प्रहरीले नेपालगन्ज, कोहलपुर र खजुरामा समेत नियन्त्रणमा लिंदै आएको छ।
प्रहरीले निगरानी गरे पनि तस्करी जारी रहनुमा तस्कर नसमातिनुनै प्रमुख कारण रहेको नाका वरिपरिका स्थानीयको भनाइ छ।जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैध रुपमा भित्रिएको सामान पटक पटक बरामद गरे पनि अधिकांश ठाउँमा तस्करलाई पक्राउ नगर्दा वा गर्न नसक्दा तस्करी नरोकिएको बताउनुभयो।
बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर तस्करी र अवैध आयात रोक्न प्रहरी सक्रिय भएको जनाउँदै सोही कारणले पटकपटक अवैध सामान बरामद हुने गरेको बताउनुभयो।