• १५ मंसिर २०८१, शनिबार

खाँडादेवीमा संरचना निर्माण हुँदै

blog

नवराज श्रेष्ठ

रामेछाप, असार २९ गते । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर परिसरमा विभिन्न संरचना निर्माण भइरहेका छन्। सदरमुकाम मन्थलीबाट २० किलोमिटर दुरीमा रहेको चर्चित शक्तिपीठ खाँडादेवी मन्दिर परिसरमा सहरी विकास मन्त्रालयको बजेटमा पुरातात्त्विक  हिसाबले संरचना निर्माण भइरहेको हो। 

खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले यही असार मसान्तसम्ममा काम सक्ने गरी मन्दिर वरिपरि पर्खाल निर्माण गर्ने र ढुङ्गा बिछ्याउने काम भइरहेको जानकारी दिनुभयो। न्यु खाँडादेवी निर्माण सेवाले ४० लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको हो। 

विसं १५१५ माघ १५ गते खाँडादेवीको शिला उत्पत्ति भएको बताइन्छ। विसं १५७३ मा चढाइएको घन्ट अहिले पनि मन्दिरमा रहेको मन्दिरका पुजारी बुद्ध तामाङले बताउनुभयो।

खाँडादेवी मन्दिरका पुजारी तामाङ जातिको हुनुले पनि खाँडादेवीलाई भिन्न र विशिष्ट पीठका रूपमा लिइन्छ। नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका थिए। अङ्ग्रेजसँगको लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति पाइन्छ। पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बलि दिनू भनी आदेश दिनुभएको थियो भन्ने जनश्रुति छ। 

खाँडादेवी विकास कोषका अनुसार दसैँका बेला ठुलो मात्रामा पञ्च बलि दिइने खाँडादेवीमा वर्षैभरि रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा तथा तराईका विभिन्न जिल्ला र काठमाडौँबाट दर्शनका लागि भक्तजन आउने गरेका छन्। मन्दिर दर्शनका लागि छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेको खाँडादेवी विकास कोषका अध्यक्ष तामाङले बताउनुभयो। 

खाँडादेवीमा चैतेदसैँ र बडादसैँका बेला ठुलो मेला लाग्ने भए पनि पछिल्लो समय दैनिक आउने दर्शनार्थीको सङ्ख्या बढेको उहाँले बताउनुभयो। निकै महत्वपूर्ण खाँडादेवी मन्दिरको अझै प्रचारप्रसार गर्न आवश्यक रहेको काठमाडौँबाट दर्शनका लागि आउनुभएकी इन्दिरा थापाले बताउनुभयो। 

शिवपुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार रोसी खोला र सुनकोशी नदीको सङ्गम स्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई वध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालिञ्चोकमा अन्तरध्यान भएको खाँडादेवी मन्दिरका पुजारी तामाङले बताउनुभयो।