• १५ मंसिर २०८१, शनिबार

सञ्चालनमा आउन सकेन गौरीशङ्करको बालउद्यान

blog

दोलखा समाचारदाता

दोलखा, असार २९ गते । दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिका–५, इविथानमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्माण गरेको बालउद्यान अझै सञ्चालनमा आउन सकेको छैन। आवतजावतमा सहज नहुँदा निर्माण भएको दुई वर्ष बित्नै लाग्दा पनि यो बालउद्यान सञ्चालनमा आउन नसकेको वडा नं. ५ का वडाध्यक्ष सुन्दर खड्काले बताउनुभयो। बालउद्यान प्रदेश सरकारको एक करोड ५३ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो।

उहाँका अनुसार अहिले आसपासका केही बालबालिका ताला लगाइएको गेट नाघेर खेल्ने गरेका छन्। चिल्डे«न पार्क चार रोपनी जग्गामा फैलिएको छ। वडा कार्यालय, सुरी प्राथमिक स्वास्थ्य केन्द्र, सहकारीलगायतका कार्यालयसहित झन्डै ७० घरधुरी रहेको इविथानको चिल्ड्रेन पार्क सञ्चालनमा आए बालबालिकाको पर्यटकीय केन्द्र बन्न सक्ने देखिएको छ। 

चिल्डे«न पार्क चाँडै सञ्चालनमा आउन सके स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन सक्ने र निर्माणको उद्देश्य पूरा हुने स्थानीय छिन्डोमा शेर्पाले बताउनुभयो। प्रदेशको लगानीमा उपयुक्त ठाउँमा चिल्डे«न पार्क निर्माण गरेको भए पनि समयमै सञ्चालनमा नआउँदा आलोचना सुरु भएको उहाँले गुनासो गर्नुभयो।

हिमाली गाउँलाई पर्यटकीय केन्द्र बनाउन, स्वास्थ्य केन्द्र तथा वडा कार्यालय आउने सेवाग्राहीका बालबालिकालाई भुलाउन र बजार क्षेत्रका बालबालिका फुर्सदको समयमा रमाउन चिल्डे«न पार्क आवश्यक भए पनि सञ्चालन हुन नसक्दा उपयोगविहीन बनेकोमा स्थानीय व्यवसायी राजन घतानीले दुःखेसो पोख्नुभयो। 

वडाध्यक्ष खड्काले चिल्डे«न पार्कमा केही संरचना निर्माण गर्न बाँकी रहेको र व्यवस्थापनका लागि समिति निर्माण गर्न लागिएकाले सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो। वडाध्यक्ष खड्काले भन्नुभयो, “अब केही महिनाभित्र नै व्यवस्थित ढङ्गले पार्क सञ्चालन गर्ने छौँ। पार्क सञ्चालन भएपछि दैनिक ५० भन्दा बढी बालबालिका, अभिभावकसहित पार्कमा आउने अनुमान गरिएको छ।