• १३ पुस २०८१, शनिबार

कांग्रेसका पदाधिकारी बैठकका मुद्दा तय गर्दै

blog

काठमाडौं, असार २८ गते । नेपाली कांग्रेसको साउन २ गते बस्ने केन्द्रीय कार्य समिति बैठकका विषय पदाधिकारी बैठकले तय गर्ने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले साउन २ गते सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले विषयहरू तय गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विषय यस्तो छ, त्यसका लागि साउन २ गते बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठक डाकेका छौँ । त्यो बैठकले एजेण्डा तय गर्छ ।”

सरकार एवम् मन्त्रिपरिषद् पुनर्गठनको जिज्ञासामा उहाँले यो कुरा सरकारको पक्षबाट अर्कै तहबाट हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “त्यो सरकारको पक्षबाट अर्कै तहबाट कुरा हुन्छ । कसलाई कुनमा ल्याउने, नल्याउने । केन्द्रीय कार्य समितिको बैठकमा हाम्रो नितान्त पार्टीभित्रको कुराहरू छ ।” उहाँले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताउनुभयो । 

गत असार २१ गते कांग्रेस जिल्ला सभापतिको भेला भयो । त्यो भेलामा क्रियाशील सदस्यता वितरण एवम् नवीकरण, जिल्लाको रिपोर्टिङलगायत राजनीतिक विषयमा छलफल भएको थियो ।

पछिल्लो बैठक सम्बन्धमा उहाँले भन्नुभयो, “सदस्यता क्रियाशीलताका कुरा, अनुशासन र कारबाहीका कुराहरू गर्छौँ । तर, त्यसको एजेण्डा यही नै भनेर तय भइसकेको छैन ।”

कांग्रेसको पछिल्लो समय असार २७ गते दिउँसो १ बजे बस्ने भनिएको बैठक साउन २ गते बस्ने गरी स्थगित भएको थियो ।