मकवानपुर समाचारदाता
हेटौँडा, असार २८ गते । बागमती प्रदेशमा डेङ्गु रोग सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मे (वैशाख १८–जेठ १७) मा २७ जनामा डेङ्गु सङ्क्रमण भएकामा जुन (जेठ १८–असार १५) महिनामा ११७ जनामा सङ्क्रमण भएको छ।
यी दुई महिनामा डेङ्गु रोग सङ्क्रमण भएकाको सङ्ख्या मात्रै वृद्धि नभई डेङ्गु रोग सङ्क्रमण भएका जिल्लाको सङ्ख्यासमेत वृद्धि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. रविन भुसालका अनुसार मे महिनामा रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर र ललितपुर गरी छ जिल्लामा डेङ्गु रोगी पहिचान भएकामा जुन महिनामा दोलखा र रामेछापबाहेकका ११ जिल्लामा डेङ्गु सङ्क्रमित भेटिएका छन्।
यसै गरी गत अप्रिलमा ५२ जनामा, मार्चमा २९ र फेब्रुअरीमा ३० जनामा डेङ्गु सङ्क्रमण भएको जानकारी उहाँले दिनुभयो। सन् २०२२ को जुलाईदेखि २०२३ को जनवरीसम्म बागमती प्रदेशमा ४२ हजार ४५९ जनामा डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ। सन् २०२२ को जुलाईदेखि २०२३ को जनवरीसम्म प्रदेशमा सबभन्दा बढी काठमाडौँ, ललितपुर, भक्तपुर र मकवानपुरमा डेङ्गु सङ्क्रमित फेला परेका थिए।
गत फेब्रुअरीदेखि जुलाईसम्ममा सबभन्दा बढी धादिङ जिल्लामा ७८ जनामा र त्यसपछि नुवाकोट जिल्लामा १४ जनामा र काठमाडौँ जिल्लामा आठ जनामा डेङ्गु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ।
पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिम देखिएको छ। असार मध्यसम्म आइपुग्दा डेङ्गु रोग सङ्क्रमण भएका बिरामीको सङ्ख्याले पनि डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने देखिएको हो।
गत वर्ष डेङ्गु रोगबाट अति प्रभावित बागमती प्रदेशका पाँच जिल्लाका विभिन्न स्थानमा गरिएको किटजन्य रोग सार्ने परजीवीको निगरानीका लागि गरिएको अध्ययनले डेङ्गु रोगको सङ्क्रमणको जोखिम उच्च देखाएको छ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको प्राविधिक सहयोगमा गरेको अध्ययनले महामारी फैलन नदिन तत्काल डेङ्गु रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भा, प्युपा स्रोतमै नष्ट र नियन्त्रण गर्न जोड दिएको छ।
केन्द्रले गरेको अध्ययनका क्रममा प्रदेशका विभिन्न पाँच स्थानमा ५४७ घरधुरी र पानी जम्मा भएका एक हजार ६२३ भाँडाको पानी जाँच गर्दा डेङ्गु पोजेटिभ न्यूनतम सीमाभन्दा बढी पाइएको थियो।
प्रदेशका विभिन्न जिल्लामा गत वर्ष साउन र भदौमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिएपछि प्रदेशको स्वास्थ्य मन्त्रालयले अध्ययन, अनुसन्धान गर्ने जिम्मा केन्द्रलाई दिएको थियो।
केन्द्रका सहायक इन्टोमोलोजिस्ट (किट वैज्ञानिक) दीपक शाहले वर्षाअगावै सुक्खा समयमा गरेको अध्ययनले यस प्रदेशमा अझै पनि डेङ्गु सङ्क्रमणको जोखिम रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अहिल्यै रोकथाम र नियन्त्रणका प्रयास सुरु नभए यसले गत वर्षभन्दा भयावह अवस्था निम्त्याउन सक्छ।”
केन्द्रले काठमाडौँ महानगरपालिका–१६, ललितपुर महानगरपालिका–५ र १४, मध्यपुर थिमि नगरपालिका–४, रत्ननगर नगरपालिका–१ र मकवानपुरको मनहरी गाउँपालिका–७ मा डेङ्गु रोगको अध्ययन सर्वेक्षण गरेको थियो।
सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ।