• २३ वैशाख २०८१, आइतबार

व्यावसायिक बाख्रा पालनतर्फ किसानकाे आकर्षण

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २७ गते । पछिल्लो सयम बाख्रा पालक किसान व्यावसायिकतातर्फ उन्मुख भएका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका हुन् । 

परम्परागत शैलीमा बाख्रा पाल्दै आउनुभएका चम्पादेवी गाउँपालिका–१ पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको ब्यापक सुधार गर्नुभएको छ । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो बृद्धि भएको श्रेष्ठले बताउनुभयो । उहाँले अहिले ४० वटा बाख्रा पाल्नुभएको छ । 

सोही स्थानका घनबहादुर श्रेष्ठले पनि बाख्राका लागि आधुनिक खोर बनाउनुभएको छ । आधुनिक खोरमा बाख्रालाई घाँस–पानी दिन सहज, घाम पानीबाट ओतको राम्रो व्यवस्था र सरसफाइका लागि सजिलो हुने गरेको उहाँहरुको अनुभव छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ ओखलढुङ्गामार्फत जिल्लाको तीन स्थानीय तहमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरेको छ । 

मानेभञ्ज्याङ, सुनकोशी र चम्पादेवी गाउँपालिकाको केही वडामा यो कार्यक्रम लागु गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा परियोजनामार्फत जिल्लामा २५ वटा बाख्रा पालक किसानले अनुदान लिनुभएको छ । 

हाल जिल्लामा बाख्रा जोन अन्तरर्गत १५० किसानले व्यावसायिक बाख्रापालन गरिरहनुभएको छ । कार्यक्रममार्फत बाख्रा पालक किसानलाई खोर सुधार, नस्ल सुधार, रोग व्यवस्थापन र बजारीकरणका लागि तालिम तथा अनुदान सहयोग गर्ने गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

आधुनिक बाख्रा खोर निर्माण गर्न किसानलाई एक लाख २८ हजारका दरले अनुदान उपलब्ध गराइएको प्रमुख पौडेलको भनाइ छ । ओखलढुङ्गालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । यसका साथै जिल्लाको माथिल्लो भूभागलाई समेटी आलु जोन बनाइएको छ ।